+
+
Shares

संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि खनिए ट्रम्प

इरानले व्यावसायिक पानीजहाजमाथि आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने र आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म उसलाई आर्थिक रूपमा अलग राख्नुपर्ने उनले सर्त राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २०:५२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । मंगलबारको सम्बोधनमा उनी इरानमाथि निकै बर्बर खनिए ।

ट्रम्पले इरानलाई लामो समयसम्म शक्ति सञ्चय गर्न दिइएको भन्दै अमेरिकाले तेहरानलाई आतंक फैलाउनबाट रोक्न हमला गर्ने कदम चालेको बताए ।

उनले अमेरिकाले इरानको ‘ब्यालिस्टिक मिसाइलको ढालको आडमा आणविक बम बनाउने दौड’ रोकेको दाबी गरे ।

‘यदि उनीहरू सफल भएका भए, त्यो दुष्ट शासनले सधैं आतंक र मृत्यु फैलाउन स्वतन्त्र हुने थियो,’ ट्रम्पले भने ।

ट्रम्पले पछिल्लो ५१ वर्षदेखि इरानी शासनले ‘रक्तपात र सामूहिक हत्याको माध्यमबाट शासन गर्दै आएको’ तथा मध्यपूर्व र त्यसभन्दा बाहिर मृत्यु, हिंसा र अराजकता फैलाएको आरोप लगाए ।

उनले इरानलाई आणविक हतियार राख्न नदिने बताए ।

गत वर्ष आफूले अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि उनले इरानसँग तत्काल वार्ता सुरु गरेको बताए । आणविक कार्यक्रम अन्त्य गर्ने र आतंकवादलाई समर्थन नगर्ने सर्तमा इरानलाई पूर्ण आर्थिक सहकार्यको प्रस्ताव गरिएको पनि उनले दाबी गरे । तर इरानले उक्त प्रस्ताव अस्वीकार गरेको ट्रम्पको आरोप छ ।

इरानलाई आर्थिक रूपमा एक्ल्याउन विश्वसँग आग्रह

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देश मिलेर इरानलाई आर्थिक रूपमा पूर्णत: अलग्याउने प्रस्ताव राखे ।

इरानले व्यावसायिक पानीजहाजमाथि आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने र आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म उसलाई आर्थिक रूपमा अलग राख्नुपर्ने उनले सर्त राखे ।

ट्रम्पले इरानी शासन बलियो र आत्मविश्वासी भएर नभई ‘कमजोर र निराश’ भएर आक्रामक व्यवहार गरिरहेको दाबी गरे ।

‘ध्वस्त पार्ने कि सम्झौता गर्ने ?’

ट्रम्पले इरानसँग सम्झौता गरेर उसलाई पुनर्निर्माण र पहिलेभन्दा राम्रो देश बनाउने अवसर दिने कि ‘इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने’ भन्ने प्रश्न उठाए ।

उनले भने, ‘के म उनीहरूलाई बाँच्ने कुनै सम्भावना नरहनेगरी नर्कमा धकेलिदिऊँ ?’

तर ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुने विश्वास व्यक्त गरे । उनका अनुसार नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको परिणाम कुरेर इरान बसेको छ ।

‘उनीहरूले एउटा कुरा बुझेका छैनन्– म चुनाव लडिरहेको छैन,’ ट्रम्पले भने । उनले आफूले राष्ट्रपतिको निर्वाचन ‘ठूलो अन्तरले’ जितिसकेको दाबी गर्दै नोभेम्बरको निर्वाचनको परिणामले इरानसम्बन्धी आफ्नो नीतिमा परिवर्तन नल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?