+
+

मिस नेपाल प्रियंकाको पहलमा चितवनको दुर्गम अपरदाङ गढीमा बल्यो बिजुली

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १५:०३

काठमाडौं । मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ । मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् ।

नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुर्‍याएकी हुन् । यसै साता विद्युत परीक्षण प्रसारण सफल भएको र आगामी साता उद्घाटन कार्यक्रम राखिएको छ, जहाँ सहभागी हुन प्रियंका जाँदैछिन् । विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुनेछन् ।

महिला र बालबालिकाको जीवनस्तर सुधार्ने परियोजना सम्पन्न गर्नुपर्ने भएपछि प्रियंकाले बिजुली नपुगेको उक्त गाउँलाई रोजेकी थिइन् । ‘अन्ततः चार महिनापछि बत्ती बलेको छ । हामी औधी खुसी छौं,’ प्रियंकाले अनलाइनखबरसँग हर्ष बाँडिन्, ‘अब हामी आय आर्जनको कामतर्फ केन्द्रित हुनेछौं ।’

स्थानीय महिलालाई मौरी पालन र आतिथ्यतासम्बन्धी सीपमूलक तालिम दिइने तयारी छ । यो सीप सिकेपछि गाउँलेले मनग्य आम्दानी गर्न सक्ने र बिजुलीको बिल तिर्न सक्ने आशा लिइएको छ ।

मिस वर्ल्डले ब्युटी विथ पर्पस परियोजना महिला र बालबालिकालाई लक्षित गर्दै आयोजना गरिरहेको छ । नेपाल यसअघि दुईपटक यो विधामा विजेता भइसकेकाले स्वभाविक रुपमा यसपटक पनि दाबेदार हुनेछ । अघिल्ला मिस नेपालहरुले पनि यो प्रोजेक्टअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, बालबालिका र झोलुंगे पुलको क्षेत्रमा काम गरिसकेका छन् । ब्युटी विथ पर्पस विधा जित्न सके मिस वर्ल्डको सेमिफाइनलमा प्रवेश गर्न पाइने अवसरसमेत छ ।

यस वर्षको मिस वर्ल्ड आगामी मे महिनाको अन्त्यमा हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?