+
+

भारतले बालुवा उत्खनन गरेको ओरिया खोलामा भेटियो सीमा स्तम्भ

सुरेश बिडारी सुरेश बिडारी
२०७९ माघ २५ गते २०:४२

२५ माघ, वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह गरेको छ ।

भारतीय पक्षले ओरिया खोला ठेक्का लगाएर दैनिक सयौं टेलर बालुवा उत्खनन गर्दै आएको छ । बालुवा उत्खननकै क्रममा बाढीले बगाएको तथा पुरिएको सीमा स्तम्भ भेटिएपछि नेपाली पक्षले उक्त भूमि भारतकै हो भन्ने यकीन नभएकाले नदीजन्य पदार्थ नझिक्न आग्रह गरेको हो ।

तीन दिनअघि ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमा स्तम्भ भेटिएको थियो भने बुधबार ४२२/१ नम्बरको सहायक सीमा स्तम्भ बालुवाले पुरिएको अवस्थामा भेटिएको छ । स्रोतका अनुसार ओरिया खोला र आसपासको क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमा स्तम्भ हराएका थिए ।

जगरनाथपुर गाउँपालिका– १ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमा स्तम्भ भेटिन थालेपछि जिल्ला सुरक्षा समितिले चासो दिएको थियो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए ।

सीमा स्तम्भ भेटिएको क्षेत्र नेपाली भू-भाग हो कि भारतीय भू-भाग अथवा दशगजा क्षेत्र भन्ने टुंगो नलाग्दासम्म नदीजन्य पदार्थ उत्खनन नगर्न आग्रह गरिएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए ।

‘ओरिया खोला किनारमा दुई वटा सीमा स्तम्भ भेटिएको छ । त्यस क्षेत्रमा भारतीय पक्षले टेन्डर गरेर बालुवा पनि निकालिरहेको रहेछ’ उनले भने ‘पिलर भेटिएको तथा आसपासको क्षेत्रमा बालुवा निकाल्ने कार्य रोकिदिन भारतीय समकक्षीसँग आग्रह गरेका छौं ।’

सीमाको बारेमा टुंगो नलाग्दासम्म नदीजन्य पदार्थ उत्खनन कार्य स्थगित गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।‘दशगजा क्षेत्रमा कुनै पनि देशले नदीजन्य पदार्थ उत्खनन गर्न मात्रै होइन, कुनै पनि कार्य गर्न पाउँदैन । तर सीमा स्तम्भ भेटिएको क्षेत्रमा व्यापक उत्खनन भएको देखिएको छ’, उनले भने ‘ कुन देशको सीमा कहाँसम्म हो ? त्यतिकै भन्न सक्ने अवस्था त छैन । तसर्थ तत्कालका लागि बालुवा उत्खनन कार्य स्थगित गर्न आग्रह गरेका हौं ।’

नेपाल तर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली र भारतीय ठेकेदार पनि आइपुगेका थिए । उनीहरुले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएका छन् ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले भने भूमिको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । ‘ओरिया खोलामा भारततर्फ १ सय टेलर पनि बालुवा पुग्दैन, भारतीय पक्षले करोडौंको ठेक्का लगाउँछ । नेपाल तर्फ टेन्डर गर्न खोज्दा वातावरण नै बन्दैन’ उनले भने ‘पिलरको जगबाट नै बालुवा उठाएर लगेपछि वर्षायाममा आउने बाढीले बगाएर कता पुर्‍याईदिन्छ कता ? नेपाली भूमिको रक्षासँगै संघ सरकारले भारतीय पक्षसँग यो समस्याको दिगो समाधान खोज्नुपर्छ ।’

दशगजा पहिचान गरेर आसपासको क्षेत्रमा उत्खननमा रोक लगाउने हो भने मात्रै सीमा स्तम्भ र नेपाली भूमि जोगाउन सकिने तर्क उनको छ । ‘ पानी दक्षिणतिरै बग्ने हो, पानीसँगै बालुवापनि बगेर जान्छ ।’ उनले भने ‘ त्यसलाई रोक्न नसकिएला तर सीमा स्तम्भ र भूमिको रक्षा गर्न त सकिन्छ नि?’

त्यस क्षेत्रमा १६ वटा पिलर हराएको जानकारी आफूले पनि पाएको बताउँदै उनले भने ‘ २ वटा सीमा स्तम्भ भेटियो, बाँकी १४ वटा कता पुरिएको छ ? कसैलाई थाहा छैन ।’

ओरिया खोलाबाट वर्षेनी भारतीय पक्षले मनोमानी ढंगले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । २०७७ साल माघ ३० गते भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरी बीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते समेत भएका थिए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?