+
+

‘टाइटानिक’को २५ वर्ष पूरा, विश्वका ठूला बजारमा पुनः प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते ११:४१

काठमाडौं । रिलिजको २५ वर्ष पुगेको अवसरमा जेम्स क्यामरुन निर्देशित चर्चित रोमान्टिक फिल्म ‘टाइटानिक’ आज (शुक्रबार)देखि विश्वका ठूला फिल्म बजारमा पुनः प्रदर्शनमा आएको छ । फोरके, एचडीआर र थ्रीडी प्रविधिमा उच्च भिजुअल गुणस्तरसहित फिल्मलाई पुनः प्रदर्शन गरिएको हो ।

फिल्मले पहिलो सप्ताहन्त उत्तर अमेरिकामा मात्र १५ मिलियन डलर कमाउने प्रक्षेपण फोब्र्स म्यागजिनले गरेको छ ।

निर्देशक क्यामरुनको हालै रिलिज भएको फिल्म ‘अवतार : द वे अफ वाटर’ले ‘टाइटानिक’को कुल कमाइ २.१९४ बिलियन डलरलाई पनि उछिनेको छ । रोचक कुरा के छ भने विश्व फिल्म इतिहासमा धेरै कमाउने शीर्ष तीन फिल्ममा क्यामरुनकै तीन फिल्म छन् ।

पुनः रिलिजमा पनि टाइटानिकले राम्रै कमाइ गर्न सक्ने अपेक्षा गरिएको छ । फिल्मलाई नेपालमा समेत पुनः रिलिज गर्न वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले गरेको आग्रहलाई हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले अस्वीकार गरेको थियो ।

सीमित ठूला अन्तर्राष्ट्रिय बजारमा सीमित समयका लागि फिल्मलाई रि–रिलिज गरिएको हो । फिल्मले पुनः प्रदर्शनमा पनि ६० मिलियन डलर कमाउन सक्ने प्रक्षेपण गरिएको छ । सन् २०१२ मा पनि थ्रीडी संस्करणमा टाइटानिकलाई पुनः प्रदर्शन गरियो र यसले ३५० मिलियन डलर कमाउन सक्यो ।

भ्यालेन्टाइन डेको छेकोमा पुनः रिलिज गरेकाले युवा र महिला दर्शकले फिल्मलाई रुचाउन सक्ने बताइएको छ । अर्कोतर्फ, टाइटानिकले अवतार २ को कमाइलाई पुनः उछिन्ने अनुमान पनि फोब्र्स म्यागजिनले गरेको छ ।

फेब्रुअरी १७ मा हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘एन्टम्यान एण्ड द वास्प क्वान्टुमेनिया’ रिलिज हुँदैछ । यो साता टाइटानिकले पुनः विश्व बक्स अफिसमा राम्रै कमाउन सक्ने आशा गरिएको छ किनभने यतिबेला भ्यालेन्टाइन डे सप्ताह चलिरहेको छ ।

यसैबीच, बलिउडको यशराज फिल्म्सले भारतका अग्रणी मल्टिप्लेक्सहरु पीभीआर, आईनक्स, सिनेपोलिसका चेनमा शाहरुख खान र काजल स्टारर चर्चित रोमान्टिक फिल्म ‘दिलवाले दुल्हानियाले जाएँगे (डीडीएलजे) पुनः रिलिज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?