+
+

त्रिभुवन विमानस्थलका प्रमुखले ‘घुस मागेको’ भनिएको अडियोमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते २०:०६

२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरवेजका प्रतिनिधिसँग आर्थिक लाभ लिन गरेको संवादको अडियो अनलाइनखबरले प्राप्त गरेको छ । ठाकुरले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि आएका कम्पनीका प्रतिनिधिसँग कुरा गरेका छन् ।

सो संवादमा कम्पनीका प्रतिनिधिसँग अनधिकृत आर्थिक लाभ दिलाउन प्रस्ताव गरेको आरोपमा उनी निलम्बित भइसकेका छन् । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत पनि उनको यो अडियोमाथि छानबिन हुनेछ ।

अनलाइनखबरले प्राप्त गरेको अडियो संवादमा कुन प्रयोजनका लागि रकमको लेनदेनको कुरा भएको हो खुल्दैन । तर, कम्पनीका प्रतिनिधिले रकम खर्चिंदा समस्या रहेको बताएपछि ठाकुरले ‘रवि’को नाम लिंदै उसैसँग कुरा भइसकेको बताउँछन् । कुराकानीमा रवि को हुन् भन्ने स्पष्ट खुल्दैन । तर, थाइ स्माइल एयरवेजका ‘जीएसए’ (जनरल सेल्स एजेन्ट) रवि सिंहको नाम लिएको जस्तो बुझिन्छ ।

ठाकुरले थाइ एयरवेजको सबै काम बैंककबाट हुने कुरा थाहा भएको र ‘रवि’ले सबै कुरा भएर टुंगिसेकको बताएको दोहोर्‍याउँछन् । उनीहरुबीच पैसाको कुरा हुन्छ । ठाकुरले रविले नै सबै बन्दोबस्त गर्न सक्ने बताउँछन् ।

तर, कम्पनीका प्रतिनिधिले पैसा निकाल्न ‘इभोइस’ (बिल) चाहिने बताउँछन् । ठाकुरले रविसँग कुरा भइसकेको र उसैले व्यवस्थापन गर्न सक्ने दोहोर्‍याइरहन्छन् ।

कम्पनीका प्रतिनिधिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पैसा दिन तयार रहेको बताउँछन् । ठाकुरले ‘जीएसए’ (जनरल सेल्स एजेन्ट)ले व्यवस्थापन गर्ने भन्दै फेस्टिभल र कार्यक्रमहरु आयोजना गर्न सकिने पनि बताउँछन् । उनले वेल्फेयर (कल्याणकारी) फन्डबाट पनि व्यवस्थापन हुनसक्ने विकल्प दिन्छन् ।

तर, कम्पनीका प्रतिनिधिले समस्या दर्शाइरन्छन् । तर, ठाकुरले ‘रवि’सँग कुरा भइसकेकाले इन्भोइसको चिन्ता नगर्न र कम्पनीका बोससँग कुरा गर्न पनि भन्छन् । रवि आइतबार मलेसियाबाट फर्किने र त्यसपछि कुरा गर्ने बताउँछन् ।

कम्पनीका प्रतिनिधिले ३ लाख पर्याप्त हुन्छ कि हुँदैन भनेर प्रश्न गर्छन् । ठाकुरले भन्छन्,‘ धेरै दबाब छ, रविसँग कुरा गर्नूस्, अनि फाइनल गरौंला ।’

ठाकुर भन्छन्–बक्यौता तिर्न भनेको हुँ

यही अडियोका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविनका लागि भन्दै ठाकुरलाई निलम्बन गर्न  प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

ठाकुर भन आफूमाथि लगाइएको आरोप झुटो र कपोकल्पित भएको बताउँछन् । ‘थाइ एयरवेजले नेपालकै सेल्फ ग्राउन्ड ह्यान्डिलिङ गर्ने सुविधा पाएको थियो, अहिले स्माइल थाइ एयरवेजले त्यही सुविधाबापत तिर्नुपर्ने बक्यौता शुल्क मागेको हुँ,’ उनले भने, ‘कनै अनधिकृत कुनै पैसा र घुस मागेको छैन ।’

कम्पनीले तिर्नुपर्ने शुल्क उठाउन खोज्दा आफूलाई फसाउने गरी अडियो रेकर्ड गरेर भ्रम सिर्जना हुने गरी सार्वजनिक गरिएको भन्दै उनले न्याय नपाए आफैं अदालत जाने बताए ।

‘मैले कार्यालयमै आएका कम्पनीका इन्जिनियरसँग कुरा गरेको हुँ, ऊसँग मैले बक्यौता शुल्क तिर्न सहजीकरण होस् भनेर जीएसए रहेका रवि सिंहसँग कुरा गरेर आउन भनेको हुँ,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने नियतले घुस मागेको छैन, यो संस्थाको बक्यौता उठाउन भएको कुराकानी मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?