+
+
Shares

त्रिभुवन विमानस्थलका ४ हजार बढी ‘निषेधित क्षेत्र प्रवेश पास’ किन रद्द गरियो ?

प्रधानमन्त्री कार्यालयबाटै निर्देशन भएपछि सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको थियो । केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरे । केहीसँग फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको हो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ असार १८ गते २१:५३

१८ असार, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रका चार हजार बढी ‘निषेधित क्षेत्र प्रवेश पास’ रद्द भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको हो ।

‘४ हजार ७२ वटा निशेधित क्षेत्र प्रवेश पास डिएक्टिभ गर्न पीएओबाट निर्देशन आयो । लगत्तै हामीले सिस्टमबाटै त्यसलाई डिएक्टिभ गर्यौं,’ सिटौलाले अनलाइनखबरसँग भने ।

विमानस्थल सुरक्षा मापदण्ड, नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यविधि तथा विमानस्थल सुरक्षा व्यवस्था अन्तर्गत ‘निषेधित क्षेत्र प्रवेश पास जारी हुने गर्दछ । यसको उद्देश्य विमानस्थलको सुरक्षा सुनिश्चित गर्नु र अनधिकृत व्यक्तिको प्रवेश रोक्नु हो ।

यसको सही सदुपयोग भएको छ वा छैन भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको छ ।

यस सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री कार्यालयबाट समिति गठन भएको थियो । समिति सदस्यहरूले विमानस्थलमै गएर यो विषयमा अध्ययन गरेका थिए ।

१३ हजार २३ वटा फोटोसहितको निषेधित क्षेत्र प्रवेश पासको विषयमा अध्ययन गरेर समितिले त्यसमध्ये चार हजार ७२ वटा एक्टिभ हुन नसक्ने निष्कर्ष निकालेको हो ।

सोही निष्कर्षअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल नागरिक उड्ययन प्राधिकरणसहित सम्बद्ध अधिकारीहरू समक्ष ब्रिफिङ गरेको थियो ।

अध्ययनका क्रममा एक्टिभ हुन नसक्ने निष्कर्ष निकालिएका चार हजार ७२ वटा निषेधित क्षेत्र प्रवेश पास लिनेको नामसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणमा पठाएको थियो । लगत्तै निषेधित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजार बढी सक्रिय प्रवेश पास रद्द भएका हुन् ।

आधाले घट्दै प्रवेश पास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्ति महाप्रबन्धक सिटौलाका अनुसार निषेधित क्षेत्र १२ प्रकृतिका रहेका छन् ।

‘निषेधित क्षेत्रका १२ एरिया छन् । आवश्यकता अनुसार कसैलाई एउटा मात्रै, कसैलाई दुई अथवा तीन वटासम्म प्रवेश पास दिइन्छ’ उनी भन्छन्, ‘जुन क्षेत्रसँग सम्बन्धित काम गर्ने हो त्यही क्षेत्रसम्म जान सक्ने गरी पास जारी हुने गर्दछ ।’

यस्तो १२ क्षेत्रका लागि विविध कारणले यसअघि १३ हजार १३ वटासम्म निषेधित क्षेत्र प्रवेश पास जारी भएको सिटौलाले जानकारी दिए ।

‘सरुवा भएपछि पास फिर्ता गनुपर्ने व्यवस्था छ । तर फिर्ता नहुँदा फलोअप गर्छौं । अवकाश भएर गएकाले पनि फिर्ता गर्दैनन् । रमानाको हकमा पनि यस्तो समस्या हुन्छ’ उनी थप्छन्, ‘विविध कारणले सिस्टममा अपडेड नहुँदा वा नगरेको कारणले पनि समस्या हुने गरेको छ । सिस्टममा हेर्दा अलिकति फरक पनि देखिन्छ ।’

सिटौलाका अनुसार सामान्यतया दुई वर्षको अवधि भएको प्रवेश पास जारी हुन्छ । तर, पास लिएकाहरू सरुवा हुन्छन् र अर्को आउँछन् । पुलिसको हकमा पनि यस्तै हुन्छ । यसकारण अर्को आएपछि पास दिँदा एउटै पोजिसनिका लागि एक भन्दा धेरै पास जारी भइरहने भयो ।

पीएमओबाट निर्देशन नै भएपछि सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको थियो । केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरे । केहीसँग फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको हो ।

निषेधित क्षेत्र प्रवेश पासको अवधि दुई वर्षसम्म रहन्छ।

‘पासको भ्यालिडिटी डिसेम्बर अन्तिमसम्मको हुन्छ । यो पटक पुरानै पासलाई म्याद बढाएर लगेका छौं । अहिले एक्टिभ रहेका पास जुलाईसम्म चल्छन् । अगस्टदेखि नयाँ आउँछ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक सिटौलाले जानकारी दिए ।

नयाँ पास जारी हुन थालेसँगै अहिले देखिएको समस्या समाधान हुने पनि उनले विश्वास व्यक्त गरे । उनी भन्छन्, नयाँ पास जारी हुँदा अब ७ हजार वरिपरि मात्रै जारी हुने अवस्था छ । विविध कारणले धेरै पास जारी भएकोमा अब यो घटेर ७ हजार वरिपरि मात्रै जारी हुनेछ ।’

सिटौलाका अनुसार निषेधित क्षेत्र प्रवेश पास विदेशबाट प्रिन्ट भएर आउँछ । ‘यसको सेक्युरिटी हाइ भएकाले बाहिरबाट प्रिन्ट गरेर कार्ड ल्याइन्छ’ सिटौलाले भने ।

गलत कार्य नियाल्दा पासमा पुग्यो प्रधानमन्त्री कार्यालय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेका र हुनसक्ने सम्भावित गलत कार्यको निगरानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक जना सचिवलाई ‘डेडिकेटेड सचिव’कै रुपमा जिम्मेवारी दिएको छ ।

अवैध सामान ओसारप्रसार सहितका विषयमा बेला–बेला प्रश्न उठिरहेको सन्दर्भमा समस्या पहिचान गर्न भनेर प्रधानमन्त्री कार्यालयले नियाल्ने निधो ग¥यो । यसअनुसार क्षेत्रगत रुपमा हेर्ने तयारी सरकारको छ ।

पास लिएकै व्यक्तिहरूबाट समेत गल्ती भएको छ कि भनेर हेर्ने क्रममा ठूलो संख्यामा वितरीत पास नै एक्टिभ हुन नसक्ने निष्कर्षमा अध्ययन समिति पुगेको हो । यसआधारमा चार हजार ७२ पास तत्काल निष्क्रिय गर्न निर्देशन भएको हो ।

यसबारे अध्ययन प्रतिवपेदनमा भनिएको छ, ‘कतिपय सरकारी निकायका कर्मचारीहरुले फोटोपास फारम भर्दा आवश्यक कागजातहरु पेश नगरेको, सरुवा, बढुवा वा अवकास भई गएका कतिपय कर्मचारीहरुले पास नबुझाई साथैमा लाने गरेको पाइएको र सो सम्बन्धमा हवाई सुरक्षा महाशाखामा हाल उक्त विवरण अद्यावधिक नगरिएको पाइएकाले उक्त पासको विमानस्थल परिसर तथा अन्यन्त्र समेत दुरुपयोग हुनसक्ने जोखिम रहेको’ छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार ‘हवाई सुरक्षा महाशाखाबाट वितरण गरेको पासहरू मध्ये विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहि पास लिएका तर सरुवा, बढुवा, अवकाश वा अन्य कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल कार्यरत नरहेका कर्मचारीको पासमध्ये १३२३ जनाको हालसम्म एक्टिभ देखिएकाले उल्लेखित कर्मचारीहरू (४०७२) को पास अबिलम्ब निष्क्रिय गर्नुपर्ने देखिन्छ ।’

प्रधानमन्त्री कार्यालयले निष्क्रिय गर्नुपर्ने पासको विवरण नै पठाएपछि चार हजार बढी सक्रिय प्रवेश पास रद्द भएका हुन् ।

यसबाहेक पनि केही क्षेत्रमा अध्ययन गर्न बाँकी रहेको प्रतिवेदनमा औंल्याइएको छ । जहाँ भनिएको छ, ‘यसमा उल्लेख भएका बाहेक अन्य कार्यालय/एजेन्सी/कम्पनीहरूको अध्यावधिक विवरण उपलब्ध नगराईएकाले समावेश गर्न नसकिएको ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालय हवाई सुरक्षा महाशाखाले विभिन्न सरकारी निकायहरूमा कार्यरत कर्मचारीहरुको पास विवरण सम्बन्धी तथ्यांकको अभिलेख राख्दछ । जसमा नाम, दर्जा, सम्पर्क नम्बर, परिचयपत्र नम्बर, ठेगाना लगायतका विवरण हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २०१ संस्था आबद्ध छन् । प्रत्येक संस्थाले आफ्नै नियमअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा ‘आउटसोर्सिङ’ कर्मचारीको वर्गीकृत विवरण राख्ने गरिन्छ ।

प्रधानमन्त्री कार्यालयबाट भएको अध्ययनमा समेत त्रुटि रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्बद्ध अधिकारीहरू बताउँछन् ।

‘पीएमओबाट कतिपय सल्लाह नगरी आएर खिच्नुभयो । उहाँहरूले आफ्नो ढंगले काम गर्नुभयो । सोधेर गरेको भए कतिपय नमिलेको कुरा यहीँ मिलाउँथ्यौं’ एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘पिएओबाट निर्देशन भएर पास रद्ध भएकामध्ये केही अहिले पनि कार्यरत हुनुहुन्छ । तर यो मानवीय त्रुटि हो, हामी मिलाउँछौं ।’

आफूहरूबाट पास वितरणका सन्दर्भमा ठूलो कमजोरी केही नभएको पनि ती कर्मचारीको दाबी छ । ‘जहाँबाट पनि छानबिन गरे हुन्छ । छानबिनका लागि हामी तयार छौं’ उनले भनेका छन्, ‘नचाहिनेहरूलाई पनि पास दिए विवादित हुने हो । यो काम हामीबाट भएको छैन ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?