+
+

राष्ट्रपतिको सवारीलाई लिएर संसदमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १७:४६

२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले शून्य समयमा राष्ट्रपतिको सवारीलाई लिएर नीतिगत, कार्यविधिगत र व्यवहारिक प्रश्न उठाएका हुन् ।

राष्ट्रपति भण्डारीको सवारीमा जनताले दुःख पाएको भन्दै कतिपय सांसदले सरकारको आलोचना गरे । उच्च सुरक्षाका नाममा जनतालाई दुःख दिएर राष्ट्रपतिको सवारी चलाउँदा विद्यमान व्यवस्थाप्रति नै नकारात्मक असर पर्न सक्नेतर्फ सांसदहरुको चिन्ता छ ।

गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सरकारी निवास सितल निवासबाट नयाँबानेश्वरस्थित संसद भवन पुगेकी थिइन् । त्यसक्रममा सडक खाली गराइएको थियो । सडक खाली गराएका बेला हिँडेको भन्दै सुरक्षाकर्मीबाट चिकित्सक कुटिएका थिए, एम्बुलेन्ससमेत रोकिएको थियो । यस विषयलाई लिएर सार्वजनिक रुपमै प्रश्न उठिरहेको छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीको समयमा आफू एक घण्टा जाममा परेको सुनाए । जनताको गाली सुन्नुपर्छ भनेर मास्क लगाएर, लोगो छोपेर हिड्नुपरेको अनुभव संसदमा व्यक्त गरे ।

नेकपा एमालेका सांसद रघुजी पन्त

‘म आफैं पनि एक घण्टा जाममा परेँ । एम्बुलेन्स पनि जाममा परे’ सांसद पन्तको प्रश्न छ, ‘थुप्रै मान्छेले गाली गरिरहेका छन् । मैले लोगो छोप्नुपर्यो । म चढेको बाइकलाई अगाडि बढाउ भनेर मुखमा माक्स लगाउनुपर्यो । किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले ।’ यस्तो ह्याभक उत्पन्न हुने प्रणालीको समयाअनुकुल परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपतिको सवारीका क्रममा भएको सडक जामको विषय सरकारको जिम्मेवारी भएको उनलाई लाग्छ । ‘यस (राष्ट्रपतिको सवारीका क्रममा भएको सडक जाम)मा दोष राष्ट्रपतिको होइन, सरकार र सुरक्षा संयन्त्रको हो ।

यसको सम्पूर्ण जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले लिनुपर्छ’ नेता पन्तले भने । सरकारको कमजोरीको कारण राष्ट्रपति संस्थाप्रति आक्रोस व्यक्त भइरहेको उल्लेख गर्दै उनले यस्तो कमजोरीले विद्यमान व्यवस्थामाथि नै प्रश्न उठाइरहेको बताए ।

पन्त आफैँ प्रधानमन्त्रीको सल्लाहाकार भएर काम गरेका नेता हुन् । यसको समाधान राजनीतिक नेताहरुले दिनुपर्ने उनको सुझाव छ ।

नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति भण्डारीको सवारीमा राजारानीको जस्तै तामझाम र तडकभडक देखिएको उल्लेख गर्दै आलोचना गरिन् ।

‘आफ्नो भक्तिका लागि शक्तिको चरम दुरुपयोग गरेर, डाक्टर पिटेर सर्वसाधारणलाई दुख दिएर राजा रानी जस्तो हिजोकै तामझाम, तडक भडक शैली र प्रबृतिका कारण जनताले लोकतन्त्रको अनुमभूति गर्न सकेका छैनन् । यही हो हामीले दुख गरेर ल्याएको लोकतन्त्र ?’ यादवको प्रश्न छ ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले राष्ट्रपतिको सवारीमा हुने अस्तव्यवस्तता अन्त्य गर्न सरोकारवाला निकायहको ध्यानाकर्षण गरे ।

‘राष्ट्रपतिको अस्तव्यस्त सवारी कहिले अन्त्य हुने ? डाक्टरले उपचार गर्न जान नपाउने ? बिरामी उपचार गर्न जान नपाउने, विद्यार्थीले पिसाब गर्न जान नपाउने अवस्थाको अन्त्य गर्न सरकारले गरोस्’ सांसद खतिवडाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?