+
+

टर्कीको भूकम्प : नवजात शिशुसँगै पुरिएकी आमाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १५:४६
नेक्लाको परिवार ।

१ फागुन,  काठमाडौं ।  टर्की र सिरिया भूकम्पले ध्वस्त पारेको एक हप्ता पूरा भएको छ ।

दुवै देशमा गरेर भूकम्पमा परी अहिलेसम्म ३४ हजार जनाको मृत्यु भएको छ ।

उद्धारकर्ताहरुले राहत र उद्धारको काम गरिरहेका छन् ।

भूकम्पमा परेको टर्की र सिरियाबाट दुख र पीडाका खबरमात्र होइन, केही चमत्कारका कथाहरु पनि बाहिर आएका छन् । त्यसै मध्येको एउटा हो- १० दिनको शिशुसहित भग्नावशेषमा पुरिएकी एक आमाको कथा ।

नेक्ला कामुजले जनवरी २७ मा आफ्नो दोस्रो छोरालाई जन्म दिएकी थिइन्, उनले छोराको नाम यागिज राखिन्, जसको अर्थ वीर हो ।

उनी सुत्केरी भएको १० औं दिन  टर्कीको समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा नेक्ला दक्षिणी टर्कीको हताय प्रान्तमा रहेको आफ्नो घरमा आफ्नो छोरालाई दूध खुवाउँदै थिइन् ।

उनका पति र ३ वर्षे छोरासँगकै अर्को कोठामा थिए । ४ जनाको परिवारसहित समन्दग शहरमा रहेको ५ तले आधुनिक भवनको दोस्रो तलामा बस्दै आएकी उनी यो भवनलाई राम्रो भन्थिइन् र त्यहाँ सुरक्षित महसुस गर्थिन् ।

उनी जतिबेला छोरालाई दूध खुवाउँदै थिइन् त्यसअघिसम्म उनले कहिल्यै पनि आफू बसेको शहर भूकम्पले ध्वस्त हुने छ र भवन गर्ल्याम गुर्लुम ढल्ने छ भन्ने कल्पना पनि गरेकी थिइनन् ।

‘जतिबेला भूकम्प सुरु भयो, मैले श्रीमान रहेको अर्को कोठामा जान खोजेँ, उनले पनि मैले चाहेजस्तो गर्न खोजे,’ नेक्लाले ६ फेब्रुअरीको बिहान स्मरण गरिन्, ‘उनी छोरासहित मेरो कोठामा आउने प्रयासमा थिए, तर उनीहरुमाथि दराज खस्यो, दराजमुनि थिचिएका उनीहरुले हलचल नै गर्न सकेनन् ।’

‘भूकम्प ठुलो हुँदै जाँदा पर्खाल खस्यो, कोठा हल्लिरहेको थियो, भवनको स्थिति परिवर्तन हुँदै थियो, जब रोकियो, एक तला तल खसेको मैले पत्तै पाइनँ । मैले उनीहरूको नाम लिँदै चिच्याएँ, तर कुनै जवाफ आएन ।’

३३ वर्षकी नेक्लाले भूकम्पले घर हल्लिन थालेपछि १० दिने छोरालाई छातीमा च्यापेकी थिइन् । भूकम्पले घर भत्किँदा र थिचिँदा पनि उनले छोरालाई छाडिनन् । घर भत्केपछि खसेको कंक्रिटको ठूलो स्ल्याबमा किचिनबाट उनीहरुलाई पहिल्यै लडेको दराजले रोकेको थियो ।

१० दिने सुत्केरी उनी आफ्नो नवजात शिशुसँगै झण्डै ४ दिनसम्म उनी भत्किएको घरको भग्नावशेषमुनि टाँड परेको ठाउँमा थुनिइन् ।

पहिलो दिन

पाइजामामा रहेकी उनले भग्नावशेषमुनि परेपछि कालोबाहेक केही देखिनन् । आफू वरपर के भइरहेको छ भनेर थाहापाउन उनले आफ्ना अरु इन्द्रियहरूमा भर पर्नुपर्थ्यो ।

नेक्लाका लागि खुसीको कुरा, छातीमा टाँसिएका यागिजको जिउ तातै थियो र उनले सास फेरिरहेका थिए । धुलोका कारण नेक्लालाई सुरुमा सास फेर्न नै निक्कै कठिन भएको थियो । तर पछि बिस्तारै बिस्तारै सास फेर्न सजिलो भयो । भग्नावशेषमुनि यी आमा छोरालाई न्यानो अनुभव भयो ।

उनले आफूमुनि छोराको खेलौना छ कि जस्तो ठानिन् र तर आफूलाई ठाउँ सहज बनाउन उनले त्यो खेलौना निकाल्न सकिनन् ।

दराज, नवजात छोराको नरम छाला र शरीरमा रहेको एकसरो लुगाका साथमा उनले कंक्रिटको भग्नावशेषबाहेक अरु केही महसुस गर्न सकिनन् ।

धेरै टाढा मान्छेहरूहो हल्लखल्ला उनले सुनिन् । अनि दराज ठटाइन् र चिच्याइन्, ‘यहाँ कोही हुनुहुन्छ ? कसैले मलाई सुन्नुभयो ?’

उनको यो प्रयास कुनै काम लागेन । छेउमा रहेका साना साना कंक्रिटका टुक्रा उनले दराजमा हानिन्, बाहिर कसैले सुनुन् भन्ने आशामा ।

बेस्सरी ठोक्दा दराज फुट्ने र उसले अड्याएको ठूलो कंक्रिट पर्खाल आफूमाथि पर्ने डरले उनले धेरै बेस्सरी दराजमा हान्न पनि सकिनन् ।

तर पनि बाहिरबाट केही उत्तर आएन ।

आफूले कराएको कसैले नसुनेको र मद्दका लागि कोही आउने संभावना नरहेको नेक्लाले बुझिन् ।

‘म डराएको थिएँ,’ उनी भन्छिन् ।

भग्नावशेष मुनिको जीवन

भग्नावशेषमुनिको अन्धकारमा उनी अचेत भइन् । जिन्दगी यस्तै होला भन्ने कल्पना नै भएन ।

तपाईंले नयाँ बच्चा जन्माउँदा धेरै कुराहरू योजना बनाउनुहुन्छ, र त्यसपछि… अचानक तपाईं भग्नावशेषमुनि हुनुहुन्छ,’ उनी भन्छिन् ।

तर पनि उनलाई यति थाहा थियो कि यागिजको हेरचाह गर्नुपर्छ । उनले साँघुरो ठाउँमा यागिजलाई स्तनपान गराउन सकेकी थिइन् ।

त्यहाँ पानी थिएन, खाना उनको पहुँचमा भएन । प्यास मेटाउन उनले आफ्नै दूध खाने असफल प्रयास गरिन् ।

नेक्लाले ड्रिलगरेको गडगडाहट आवाज सुनिन् । मान्छे बोलेको हिँडेको महसुस गरिन् । तर त्यो उनी भन्दा धेरै टाढा थियो ।

उनले यस्तो आवाज नजिकै पनि आइपुग्ला भन्ने आशामा आफ्नो शक्ति बचाउने निर्णय गरिन् ।

नेक्ला र उनका १० दिनका छोरा पुरिएको भग्नावशेष ।

उनले आफ्नो परिवारको बारेमा निरन्तर सोचिरहिन्,  सानो छोरा छातीमा टाँसिएको थियो तर ठूलो छोरा र पति भग्नावशेषमा कतै हराएका थिए ।

भूकम्पमा अरु प्रियजनको अवस्था कस्तो भयो भन्ने चिन्ता पनि उनलाई छ ।

नेक्लाले भग्नावशेषबाट बाहिर निस्किन सकिएला भन्ने सोच्न पनि सकिनन्,  तर यागिजको उपस्थितिले उनीमा झिनो आशा कायम थियो ।

यागिज अधिकांश समय निदाउँथे । जतिखेर ब्युझन्थे, रुन थाल्थे । उनी चुप नलागुञ्जेल नेक्लाले स्तनपान गराउँथिन् ।

उद्धार

भग्नावशेषमुनि अनकन्टारमा झण्डै ९० घन्टा बिताएपछि उनले आफ्नो नजिकै कुकुर भुकेको आवाज सुनिन् । यो सपना पो हो कि भन्ने पनि भयो उनलाई ।

उनी नजिकै कुकुर भुकिरहेका थिए ।

‘तपाईँ ठिक हुनुहुन्छ ? एक पटक ठक ठक गर्नुस्’, बाहिरबाट कसैले आवाज दियो, ‘तपाईँ कुन तलामा हुनुहुन्छ ?’

उद्धारकर्ताले उनी जीवित रहेको थाहा पाए र बिस्तारै खोस्रन थाले, जसरी उनले यागिजलाई सम्हालेकी थिइन् ।

अन्धकारलाई तोड्नै उनको आँखामा टर्चको उज्यालो पर्‍यो ।

इस्तानबुल नगरपालिका फायर डिपार्टमेन्टको उद्धार टोलीले उनलाई सोधे, ‘यागिज कति वर्षका हुन्?’

नेक्लाले एकीनका साथ भन्न सकिनन् । भुकम्प आउँदा १० दिनका थिए भन्ने मात्रै उनले थाहा पाएकी थिइन् ।

उनले यागिज उद्धारकर्ताहरुलाई समाउन दिइन् । नेक्लालाई बाहिर निकालेपछि स्ट्रेचरमा भीड छिचोल्दै एम्बुलेन्समा लगियो । वरपर मान्छे धेरै थिए । तर उनले चिनेका अनुहार थिएनन् ।

एम्बुलेन्समा बसेपछि उनले आफ्नो अर्को छोराको बारेमा बुझ्न खोजिन् ।

भग्नावशेषबाट निस्केपछि

जब उनलाई अस्पतालमा पुर्‍याइयो । उनलाई परिवारका सदस्यले स्वागत गरे । स्वागत गर्नेहरुले उनलाई पति इरफान र ३ वर्षका छोरा यिजितलाई पनि सकुशल उद्धार गरिएको खुसीको खबर सुनाए ।

इरफान र यिजितको खुट्टामा चोट लागेको थियो । उनीहरु टाढा अडाना प्रान्तको एउटा अस्पतालमा उपचार गराइरहेका थिए ।

तर भाग्यवश नेक्ला र यागिजलाई कुनै चोट पटक लागेको थिएन । २४ घन्टा अस्पतालको निगरानीमा बसेपछि उनीहरु डिस्चार्ज भए ।

नेक्लासँग फर्कने कुनै घर थिएन, तर परिवारका एक सदस्यले उनलाई काठ र त्रिपालबाट बनाइएको अस्थायी बासस्थानमा ल्याए । त्यहाँ जम्मा १३ जना छन्, ती सबैले आफ्नो घर गुमाएका छन् ।

पालमा, परिवारले एकअर्कालाई सहयोग गर्छन्, एउटा सानो चुलोमा कफीको भाँडा बसाउँछन्, चेस खेल्छन् र दुखसुखका कथाहरू सुनाएर बस्छन् ।

नेक्ला आफूलाई के भएको थियो भन्ने कुरा सम्झन्छिन् र  आफ्नो ज्यान जोगाएकोमा यागिजको ऋणी रहेको उनी बताउँछिन् ।

‘यागिज मेरो साथमा थिएन भने म बाँच्न सक्दैन थिएँ ।’

छोराको लागि उनको एउटै सपना छ कि उसले फेरि कहिल्यै यस्तो अनुभव गर्न नपरोस् ।

‘म धेरै खुसी छु, ऊ नवजात शिशु हो र उसले केही पनि सम्झन सक्ने छैन’, उनी भन्छिन् ।

भिडियो कल आएपछि नेक्ला हाँस्छिन् । अस्पतालको ओछ्यानबाट इरफान र यिगित केरिम मुस्कान लहराउँछन्।

‘नमस्ते योद्धा, कस्तो छ मेरो छोरा ?’ इरफानले आफ्नो बच्चालाई स्क्रिनमा सोध्छन् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?