+
+

भरतमोहनकी छोरी बनिन् रास्वपा केन्द्रीय सदस्य, भन्छिन्–बुवाको उद्देश्य यहीँबाट पूरा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते २०:२९

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारी पनि अटाएकी छन् । उनी नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी माइली छोरी हुन् ।

व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय थिइन् । ठूलोबुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् । उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताइन् ।

‘मैले धेरै अध्ययन गरेर, धेरै सोचेर लिएको कदम हो यो,’ अनलाइनखबरसँगको उनले भनिन्, ‘मनमोहन अधिकारी र भरतमोहन अधिकारीले तल्लो तहको जनताको उत्थानको उद्देश्य बोकेर लाग्नुभएको थियो र ठूलो योगदान गर्नु भएको थियो ।’

अधिकारीले अगाडि भनिन्, ‘अबको कम्युनिष्ट पार्टीहरुले त्यो एजेन्डा नबोकेर आफूलाई मात्र बनाउनका लागि हामी जस्तोलाई भ¥याङका रुपमा मात्रै प्रयोग गरेको जस्तो मलाई अनुभूति भएको हुनाले म नयाँ पार्टीमा लागेको हो ।’

एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अधिकारी ४ मंसिरको प्रतिनिधिसभा बैठकमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन् ।

नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहेकी उनी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत छिन् ।

आफूमा देश र जनताको लागि केही गर्छु भन्ने हुटहुटी रहेको र रास्वपाको आर्थिक एजेन्डा समेत आफूलाई मन परेको अधिकारीको भनाइ छ । ‘अरु पार्टीले खाली घोषणापत्रमा मात्रै लेखेको तर सबै आफू बन्नलाई मात्रै तीन/चार दशकदेखि हामी जस्ता मान्छेहरु भर्‍याङको रुपमा प्रयोग गरेको पाएकाले पनि रास्वपा रोजेँ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?