+
+

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट, रक्सौल-काठमाडौं रेलवे निर्माणबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १३:२२

२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा रक्सौल-काठमाडौं रेलवे निर्माण सम्बन्धमा प्रारम्भिक छलफल भएको छ ।

भेटमा भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयबारे पनि चासो राखेका थिए । जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी “केआरसीएल” ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन् । क्वात्राले रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने सुझाव दिएका थिए । त्यसो गर्न सके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने उनको भनाइ थियो ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे सञ्चालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वेसहित आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा पनि कुरा राखेका थिए ।

भारतीय विदेश सचिव क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका थिए । जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताए ।

श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे खुलेर छलफल भएको थियो ।

त्यस्तै नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धी सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?