+
+

लोटस आइ र सत्यवती एकेडेमी एलपीएलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १८:१३

४ फागुन, धनगढी । कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएलको फाइनलमा प्रवेश गरेका छन् ।

लोटस आइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् । उपाधिको लागि दुई टिमबीच शनिवार प्रतिस्पर्धा हुनेछ ।

बिहीबार पहिलो सेमिफाइनल खेलमा लिटल फ्लावरलाई ७२ रनले पराजित गरी लोटस आइ उपाधि नजिक पुगेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।

लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए । बलिङ तर्फ लिटलका आशिष् साहुले ३ विकेट लिए ।

१६० रनको चुनौतीपूर्ण लक्ष पछ्याएको लिटल फेलावरले १९.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका सुवास ऐरले २६ र वसन्त कार्कीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ लोटसका आयुब चन्द, सुशील रावल र नरेन साउदले समान ३÷३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका आयुब चन्द चुनिए ।

दोस्रो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई ५ विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ थालेको बालबाटिका १८.४ ओभरमा अलआट हुँदै १११ रन मात्रै बनाउन सफल भयो ।

बालबाटिकाका लागि विराट भण्डारीले ३३ र नर बहादुर सार्कीले ३२ रन बनाए । बलिङतर्फ सत्यवतीका नीरज भट्ट र जीत साउदले समान २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रतीक श्रेष्ठ चुनिए ।

१ सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ रन बनाएर आउट हुँदा खगेन्द्र जोशीले १७ रन बनाए ।

बलिङ तर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले २/२ विकेट लिए ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?