+
+

सांसद चौधरीको माफी मिनाहाका लागि महान्यायाधिवक्तासँग राय मागियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १९:३०

४ फागुन, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ ।

कैद मिनाहाका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमा रायका लागि पत्राचार गरेको हो । गृहले उनीविरुद्धको फैसला अन्तिम भएनभएको जानकारी माग गर्दैै उनीबाट असुलउपर हुनुपर्ने जरिवाना रकम समेत मिनाहा गर्न सकिने वा नसकिनेवारे राय मागेको हो ।

गृहमन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले रायका लागि फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको बताए । उनले भने, ‘त्यहाँबाट रायसहितको प्रतिवेदन आउन बाँकी छ ।’

सरकारले उनको बाँकी सजाय मिनाहा गर्ने तयारीको सिलसिलामा महान्यायाधिवक्ताको राय मागेको हो । उनी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउँछन् ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो ।

ऐनको दफा, १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार पेश भएको निवेदनमाथि गृह मन्त्रालयले राय मागेको हो । सजाय माफीको राय आएमा गृह मन्त्रालयले मन्त्रिपरिषदमार्फत राष्ट्रपति कार्यालय समक्ष पेश हुनेछ ।

कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । उनीबाट ८ लाख १९ हजार रुपैयाँ भराउने फैसलाबारे पनि गृहले माफीमिनाहा गर्न सकिने/नसकिनेबारे राय मागेको छ ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जादै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

उनी सहित ३ जनालाई जिल्ला अदालतले ‘कसुर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गरी ६/६ महिनाको दरले कैद सजाय तोकेको थियो । चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ को सांसद बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?