+
+

स्कटिस खेलाडीले सन्दीप लामिछानेसँग मिलाएनन् हात

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १६:५६

५ फागुन, काठमाडौं । स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

नेपाल र स्कटल्याण्डबीच शुक्रबार त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो, जुन खेल घरेलु टोलीले ३ विकेटले जित्यो ।

खेलपछि दुवै टिमका खेलाडीहरूले हात मिलाएर मैत्री खेलभावना आदानप्रदान गर्ने प्रचलन छ । त्यसअनुसार नेपाल र स्कटल्याण्डका खेलाडीहरूले हात मिलाए । नेपालका सन्दीप लामिछाने पुछारमा बसे ।

नेपालका अरू खेलाडीहरूसँग हात मिलाएका स्कटल्याण्डका खेलाडीले सन्दीप लामिछानेतर्फ हेर्दै हेरेनन् । सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए । पूर्व सूचना भएका कारण सन्दीपले पनि हात अघि बढाएनन् ।

सन्दीपमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिबारे जानकार रहेको भन्दै  आफू सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध  रहेको बताएको थियो ।

‘आधुनिक समाजमा सबै खाले दुर्व्यवहारको कुनै स्थान छैन, सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ,’ क्रिकेट स्कटल्याण्डले भनेको थियो, ‘यी खेलहरूमा खेलाडी समावेश गर्ने बारेमा नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो ।’

क्यानका अधिकारीहरूका अनुसार क्रिकेट स्कटल्याण्डले आफ्ना खेलाडीहरुले सन्दीपसँग हात नमिलाउने प्रष्ट सन्देश दिएका थिए ।

सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए ।

नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?