+
+

सत्यवतीलाई पराजित गरी लोटस आई एलपीएल च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते २०:१३

६ फागुन, धनगढी । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ ।

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११.३ ओभरमै भेटायो ।

लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए जुन क्रममा अविजित रहँदै ३२ बलमा ७ चौका प्रहार गरे । आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए । सत्यवतीका बलर गौतम केसी र प्रतीक श्रेष्ठले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो ।

सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इमरान र सोनुले ३५ रनको ओपनिङ साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेनन् ।

लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले ४/४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए । हिक्मत महरा र सुवास रावलले १/१ विकेट लिए।

उपाधि सहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त गर्‍यो । उपविजेताले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्‍यो ।

उपाधि जितेपछि प्रतिक्रिया दिने क्रममा लोटस आईका कप्तान वीरेन्द्र नाथले टिमको सकारात्मकता र तालमेल प्रमुख कारण रहेको बताए । ‘हाम्रो टिम सधैं सकारात्मक भएर खेल्यौं र टिमको तालमेल निकै राम्रो थियो । फाइनलमा हामीले बिपक्षीलाई एक सय भन्दा कममा समेट्ने लक्ष्य लिएका थियौं जुन बलरहरु पुरा गरेर देखाए । त्यसले दोस्रो इनिंग्समा लक्ष्य पछ्याउन सहज भयो’ उनले भने ।

उपविजेता बनेपछि सत्यवती एकेडेमीका कप्तान सुजन गौतमले फैनलमा ब्याटिङ धरासायी हुनुलाई दोष दिए ‘दुर्भाग्यवश ब्याटिङ धरासायी बन्यो र ब्याटरहरुले जिम्मेवारी देखाउन सकेनन् । आक्रामक सट खेल्न खोज्दा लगातार विकेट गुम्न पुग्यो। कम योगफललाई रक्षा गर्न बलरहरुलाई सहज थिएन’ उनले भने ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए । उनले ५ खेलमा २ प्लेयर अफ द म्याच सहित १७९ रन र ५ विकेट लिएका थिए । आयुबले २० हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे ।

वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विजले चुनिए । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे । उदीयमान खेलाडी लिटल फ्लावरका सुवोध तिवारी चुनिदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरूलाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?