+
+

इथियोपियामा प्रशिक्षण अवसर, लक्ष्य एसियाड पदक

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उनले पाएको यो अवसरलाई आसन्न एसियाली खेलकुदमा प्रयोग गर्न सकिने अपेक्षा राखेको छ । सदस्यसचिव टंकलाल घिसिङले भनेका छन्, ‘हामीले अब सन्तोषीबाट योभन्दा राम्रो र सुधारिएको प्रदर्शनको अपेक्षा राख्न सक्छौं ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ फागुन ७ गते २०:१३

७ फागुन, काठमाडौं । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा भारतीय प्रतिस्पर्धीलाई मिलिसेकेण्डले पछि पार्दै नेपाल एथलेटिक्सका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्तोषी श्रेष्ठ त्यसयता ‘गोल्डेन गर्ल’को उपनामबाट चिनिन्छिन् ।

झण्डै दशक लामो खेलाडी जीवनमा दक्षिण एसियाली च्याम्पियन बनिसकेकी सन्तोषीले अब एसियाली खेलकुदमा पदक जित्ने तयारीतर्फ आफूलाई केन्द्रित गर्ने भएकी छन् । कोरोना महामारीका कारण १ वर्ष पछि धकेलिएको एसियाली खेलकुद आगामी सेप्टेम्बर २३–८ अक्टोबरसम्म चीनमा हुँदैछ ।

नेपाली महिला खेलाडीले एसियालीस्तरको सिनियर प्रतिस्पर्धामा अहिलेसम्म पदक जित्नु त परैको कुरा पदकको छेउछाउसम्म पुग्न सकेका छैनन् । दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जितेकी २९ वर्षीया सन्तोषीको टार्गेट अब एसियाली खेलकुदमा सरेको छ ।

ठूलो सपनालाई पछ्याउने आत्मविश्वास सन्तोषीमा त्यसै आएको होइन । विश्व एथलेटिक्समा प्रतिष्ठित एजेन्सी ग्लोबल स्पोर्टस कम्युनिकेसन्सले सन्तोषीको करिअर विकासको जिम्मा लिएको छ । एक वर्षका लागि उनले विश्वका उत्कृष्ट प्रशिक्षकको मातहत एलिट खेलाडीहरुसँग प्रशिक्षणको अवसर पाएकी छन् ।

आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिवलगायतले सन्तोषीलाई बिदाइ गरेका छन् । सन्तोषीले ३५ दिन इथियोपियाको राजधानी शहर अद्दिस अबाबामा रहेको एकेडेमीमा रहेर प्रशिक्षण गर्नेछिन् ।

इथियोपिया विश्वमा लामो दूरीका धावक उत्पादन केन्द्र भन्दा पनि फरक पर्दैन । ओलम्पिक र विश्व च्याम्पियनसिप तथा विश्व कीर्तिमानहरुमा यहीँका खेलाडीहरुको वर्चश्व रहने गर्छ ।

त्यसपछिको करिब डेढ महिना आफ्नो लगातार दोहोरिने चोटलाई निर्मुल पार्न युरोप जानेछिन् । करिब दुई महिना बेल्जियम र नेदरल्याण्ड्समा रहँदा उनले उनले प्रशिक्षणलाई निरन्तरता दिनेछिन् भने आधिकारिक प्रतियोगिताहरुमा पनि सहभागिता जनाउनेछिन् ।

नेदरल्याण्ड्समा केन्द्रीय कार्यालय रहेको ग्लोबल स्पोर्टसले विश्वभरका एलिट एथलेटिक्स खेलाडीलाई उनीहरुको करिअर विकासमा सहयोग गर्दै आएको छ । म्याराथनमा दुईपल्टको ओलम्पिक च्याम्पियन तथा विश्व कीर्तिमानधानी इलिउड किप्चोगेलगायतको व्यवस्थापन हेरिरहेको यस संस्थाबाट छात्रबृत्ति पाउने सन्तोषी दक्षिण एसियाकै पहिलो र एसियाकी दोस्रो खेलाडी हुन् ।

उनको छात्रबृत्ति सन् २०२३ को जनवरीदेखि नै सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर सक्नका लागि उनले दुई महिना ढिला गरी प्रशिक्षणमा जाने निर्णय लिइन् । खेलकुद र शिक्षालाई सन्तुलित रुपमा अगाडि बढाउनका लागि अन्तिममा आएको डिग्री लिने सोच बनाएको सन्तोषी बताउँछिन् ।

इथियोपियामा सन्तोषीले हाफ म्याराथनमा विश्व कीर्तिमान बनाउने खेलाडी उत्पादन गर्ने प्रतिष्ठित प्रशिक्षक तास्सेमा अब्सेरोसँग प्रशिक्षण लिनेछिन् । त्यस्तै ग्लोवल स्पोर्टसकै दुईजना फिजियो थेरापिस्टको प्रमुख निगरानीमा रहनेछिन् ।

ग्लोवलस्पोर्टसले ड्यान भान डेन वर्गलाई उनको व्यक्तिगत म्यानेजर तोकेको छ । विश्वकै शीर्षस्तरका खेलाडी सन्तोषीको मेन्टरको भूमिकामा हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उनले पाएको यो अवसरलाई आसन्न एसियाली खेलकुदमा प्रयोग गर्न सकिने अपेक्षा राखेको छ । सदस्यसचिव टंकलाल घिसिङले भनेका छन्, ‘हामीले अब सन्तोषीबाट योभन्दा राम्रो र सुधारिएको प्रदर्शनको अपेक्षा राख्न सक्छौं । इथियोपिया र युरोपमा पाएको ज्ञानले आसन्न एसियाली खेलकुद र पेरिस ओलम्पिकमा नेपालले गर्व गर्ने नतिजा मिलोस् ।’

सन्तोषीले पनि यो अवसरका लागि आफूलाई भाग्यमानी ठानेकी छन् । उनलाई विश्वास छ, उनको करिअर विकासका लागि यो प्रशिक्षण र छात्रवृत्तिले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसो त ग्लोवल स्पोर्टसले सन्तोषीलाई १ वर्षदेखि नै अनुगमन गरिरहेको छ । अप्रिल २०२२ मा सम्पन्न इस्तानबुल हाफ म्याराथनमा उनको सहभागिता पनि ग्लोबल स्पोर्टसमार्फत नै भएको हो । तर, प्रतियोगिताअघि चोट ब्यहोर्नुपर्दा उनले राम्रो प्रदर्शन गर्न सकिनन् ।

‘आफ्नो क्षमता पहिचान र त्यसलाई आगामी दिनमा प्रयोग गर्नका लागि पनि यस्तो प्रशिक्षण मेरा लागि जरुरी छ । सधैं नतिजा र उपलब्धीमात्र ठूलो हुँदैन । नतिजा र उपलब्धीअगाडि त्यसको प्रक्रियामा ध्यान दिन्छ,’ ५ हजार, १० हजार र हाफ म्याराथनकी राष्ट्रिय कीर्तिमानधानी सन्तोषीले थपिन्, ‘त्यसैले यो मेरा लागि सुवर्ण अवसर हो । जसमा मैले सिक्ने र एक्स्पोजर पाउँछु । एसियालीस्तरमा निश्चित रुपमा योभन्दा माथिल्लोस्तरमा प्रदर्शन गर्नेछु ।’

लामो दूरीमा ठूलो सम्भावना बोकेकी सन्तोषीलाई नेपालका पूर्व स्प्रिन्ट च्याम्पियन, एथलेटिक्स संघका पूर्व अध्यक्ष तथा प्रशिक्षक रघुराज वन्तले २०७१ सालमा पहिचान गरेका हुन् । त्यसवर्ष आयोजित ४०औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा १० हजार मिटरमा कांस्य जितेकी सन्तोषी त्यसयता वन्तसँग प्रशिक्षित छिन् र लगातार उच्चस्तरको प्रदर्शन गर्दै आएकी छन् ।

एसियाली खेलकुदमा सन्तोषीले ५ हजार र १० हजार मिटरमै प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन् । लामो दूरीमा सन्तोषीको सम्भावना राम्रो देखेर नै ग्लोवल स्पोर्टसले विश्वास गरेको प्रशिक्षक वन्त बताउँछन् ।

‘शारीरिक, मानसिक क्षमता तथा शैक्षिक उपलब्ध खेलाडीका लागि सबैभन्दा प्रमुख आवश्यकता हो । सन्तोषीमा त्यही देखेर तेस्रो भएको खेलाडीलाई लगानी गर्न थालेको हो,’ वन्त भन्छन्, ‘सागको समयमा प्रशिक्षणका बेला नै उसको प्रदर्शन देखेपछि मैले यो खेलाडीलाई मानसिक रुपमा अझै बलियो बनाउने हो भने ठूलो उपलब्धी दिलाउन सकिन्छ भनेर सोचेको थिएँ ।’

१० हजार मिटरमा ३५ मिनेट ०७ सेकेण्ड र ५ हजार मिटरमा १६ मिनेट ३८ सेकेण्ड सन्तोषीको करिअरको उत्कृष्ट टाइमिङ हो । सन् २०१८ संस्करणको तुलना गर्ने हो भने एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य साकार पार्न उनले दुवै विधाको टाइमिङमा झण्डै दुई मिनेटले सुधार गर्नुपर्नेछ ।

त्यहाँबाट मैले अनुभव, ज्ञान र सीप सिकेर आउनेछु । योभन्दा राम्रो प्रदर्शन गर्नसक्ने आत्मविश्वास लिएर आउनेछु । मभन्दा पछाडिको पुस्ताका लागि एउटा प्रेरणा बनेर आउनेछु,’ विभागीय बर्चश्व रहेको नेपाली खेलकुदमा विभागबाहिर रहेर पनि लगातार सफलता पाइरहेकी सन्तोषीले भनिन् ।

यसरी मिल्यो छात्रबृत्ति

सन्तोषीलाई प्रतिष्ठित ग्लोवल स्पोर्टससँग सम्बन्ध स्थापित गरिदिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको एनआरएस फाउण्डेसनले हो । निलेन्द्र फाउण्डेसनको समन्वय र सन्तोषीकै व्यक्तिगत पहलमा यो अवसर मिलेको बताउँछन् ।

यसका लागि नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, समानता र स्तरीय जीवनशैलीका लागि लगानी गर्दै आएको जोन इयर्ली ट्रस्ट, नेपाल भलिबलसँग नजिकको सम्बन्ध रहेका विश्व भलिबल महासंघको विकास परिषदका पूर्वसदस्य पिटर भान तरेललगायतले सहयोग गरेका छन् ।

‘सन्तोषीलाई उनको क्षमता र पछिल्लो प्रदर्शनकै आधारमा ग्लोवल स्पोर्टसले विश्वास गरेको हो,’ एनआरएस फाउण्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ भन्छन् ।

पुरानो चोटबाट मुक्ति पाउने आशा

सक्रिय खेलाडी जीवन सुरु गरेयता नै सन्तोषीलाई एउटै चोटले बारम्बार सताइरहेको छ । उनको ‘मेटारासेल टो जोइन’मा समस्या सुरु भएको ५/७ वर्ष नै भइसकेको छ । त्यो भनेको खुट्टाको दुई औंलापछाडिको भाग हो । लामो दूरीका धावकहरुका लागि त्यो सबैभन्दा महत्वपूर्ण अंगसमेत हो ।

‘एउटा चोट सञ्चो भएपछि खेल्न थाल्छु । फेरि त्यहीँनेर अर्को समस्या देखिन्छ,’ सन्तोषी भन्छिन् । गत वर्ष इस्तानबुल हाफ म्याराथनको तयारी गर्न लाग्दा त्यही चोट बल्झियो । उनी दौडिनै नसक्ने अवस्थामा पुगिन् । नेपाली फिजियोथेरापिस्टले पुनः खेल्न नसक्ने ठोकुवा गर्दा करिअरबाट टाढिने सोचिसकेकी थिइन् ।

खेल्न सक्ने अवस्था नहुँदा पनि ग्लोवल स्पोर्टसले उनलाई टर्की बोलायो । त्यहाँ दुई दिन फिजियोथेरापी गरेर हाफ म्याराथनमा सहभागी भएकी थिइन् । नेदरल्याण्ड्समा उनको समस्याको पहिचान र उपचार हुनेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?