+
+

यस वर्षको मिस वर्ल्ड दुबईमा आयोजना हुने, मिस नेपालको पोखरा अडिसन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १४:११

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो ।

मिस वर्ल्ड लिमिटेडकी अध्यक्ष जुलिया मोर्लीले इन्स्टाग्रामबाट यस्तो घोषणा गर्दै प्रतियोगिताको ७१ औं संस्करण यूएईमा गर्ने निश्चित भएको जानकारी दिन पाउँदा खुसी लागेको बताएकी छन् । सहमालिक गुरुङले पनि यसअघि यस वर्षको मिस वर्ल्ड एसियामा हुने संकेत गरेका थिए । उनले कम्तीमा १० वर्षमा मिस वर्ल्ड नेपालमा समेत गर्न सकिने योजनाबारे छलफल भइरहेको जनाएका थिए ।

आगामी मे महिनामा दुबईमा फिनाले हुने भनिएपनि निश्चित मिति भने सार्वजनिक भइसकेको छैन । प्रतियोगिताको पछिल्लो संस्करण गत मार्चमा अमेरिकाको पुएर्तो रिकोमा सम्पन्न भएको थियो, जहाँ पोल्याण्डकी सुन्दरी कारोलिना बिलावस्काले ताज जितेकी थिइन् ।

त्यतिबेला मिस नेपाल नम्रता श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन् । यस वर्षको दुबई संस्करणमा चाहिं प्रियंकारानी जोशीले प्रतिस्पर्धा गर्नेछिन् ।

मिस नेपालको पोखरा अडिसन सकियो

बुधबार आगामी मिस नेपाल २०२३ को लागि पर्यटकीय नगरी पोखरामा अडिसन सम्पन्न भएको छ । हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कालगायत अडिसनमा सहभागी रहे । पोखरामा यस वर्ष मिस नेपालका दुईवटा महत्वपूर्ण सबटाइटल प्रतिस्पर्धा समेत आयोजना हुँदैछ ।

यतिबेला मिस नेपालको अडिसन भइरहेको छ र यो चैत २ गतेसम्म निरन्तर हुनेछ । इटहरी र वीरगञ्जमा पनि अडिसन भएका छन् । अब धनगढी, नेपालगञ्ज र सुर्खेतमा पनि अडिसनको तालिका तय गरिएको छ । जेठ १३ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?