+
+

यू-१९ क्रिकेट विश्वकपमा नेपालको ८ वर्षको प्रतीक्षा

नमिता दाहाल नमिता दाहाल
२०७९ फागुन १० गते १९:५९

१० फागुन, काठमाडौं । यू-१९ क्रिकेट विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली युवा टिम बुधबार युएई प्रस्थान गरेको छ । सिनियर टिमले घरेलु मैदानमा हालै पाएको सफलताबाट प्रेरित यू–१९ टिमले युवा विश्वकपमा ८ वर्षको प्रतीक्षा तोड्ने संकल्प गरेको छ ।

सन् २००० मा पहिलोपल्ट नेपालको पुरुष टिमले उमेर समूहको विश्वकप खेलेको थियो । त्यसयता १६ वर्षको बीचमा सातपल्ट विश्वकप खेलेको नेपाल पछिल्लो ८ वर्षदेखि छनोट हुन संघर्षरत छ । सन् २०१८, २०२० र २०२२ मा आयोजित तीन संस्करणमा नेपाल छनोट हुनै सकेन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियन क्रिकेट काउन्सिल (एसीसी)का ठूला प्रतिस्पर्धाको बाटोमा नेपाल टिमका लागि सदैव हर्डल्स रहने टिम अफगानिस्तानबाट अहिले यूएईमा सरेको छ । पछिल्ला दुई संस्करणमा यूएईसँग पछि परेको नेपाललाई भाग्यले पनि साथ दिएन । सन् २०२० को संस्करणका लागि निर्णायक छनोट खेलमा यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनको हार र पछिल्लो संस्करणमा कोरोना महामारीले नेपालको यात्रा रोकिदियो ।

१२–१८ फागुन हुने यू–१९ विश्वकप एसिया छनोटमा युएई र नेपालसँगै कुवेत, हङकङ, मलेसिया र सिंगापुर छन् । नेपालले १२ फागुनमा सिंगापुरविरुद्धको खेलसँगै प्रतियोगिता सुरुवात गर्नेछ । अन्तिम खेल यूएईसँग १८ फागुनमा खेल्नेछ । सिंगल राउण्ड रोविन प्रणालीमा शीर्ष एक टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्नेछ ।

दुई महिनादेखि घरेलु भूमिमा प्रशिक्षणरत नेपाली टिम आत्मविश्वासी छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको पछिल्लो शृंखलामा सिनियर टिमले गरेको बहादुरीपूर्ण प्रदर्शनले युवा खेलाडीमा जोस बढेको छ । ‘हामी लामो समयदेखि विश्वकपमा पुग्न रोकिएका छौं । यसपल्ट टिमले राम्रो खेल्नेमा विश्वस्त छु,’ प्रमुख प्रशिक्षक जगत टमाटाले भनेका छन्, ‘विपक्षी सबै टिमलाई बराबरी रुपमा हेर्नेछौं । पाँचै खेल जित्नुपर्नेछ किनभने हाम्रा लागि सबै खेल फाइनलसरह हो ।’

उमेर समूहको विश्वकपमा नेपालको गौरवपूर्ण इतिहास छ । नेपालले आफ्नो पहिलो सहभागितामै सन् २००० मा समूह चरण पार गरेको थियो । सन् २०१६ मा पनि नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । यू–१९ विश्वकपको समूह चरण पार गर्ने एशोसिएट टोली नेपाल (सन् २००० र २०१६), अफगानिस्तान (सन् २०१४ र २०१८) र नामिविया (सन् २०१६) मात्र हो । सन् २०१६ देखि छनोट हुनका लागि नै गर्नुपरेको संघर्षले नेपाली क्रिकेटको ग्रासरुट र खेलाडी उत्पादनको न्यूनतालाई गिज्याइरहेको छ ।

गुल्सन झालाई सिनियर टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले रिलिज गर्न अस्वीकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार साँझमात्र देव खनाललाई टिमको कप्तानमा नियुक्त गरेको थियो । देव पनि नेपालको सिनियर टिमबाट खेलिसकेका खेलाडी हुन् ।

‘झण्डै दुई महिनाको प्रशिक्षण अवधिमा हामीले सबै तयारी राम्ररी गरेका छौं । देशलाई जिताएर विश्वकप खेलाउने एउटै लक्ष्य लिएर गइरहेका छौ,’ ब्याटरको भूमिकामा प्रमुख आशाका रुपमा हेरिएका देवले थपे, ‘हाम्रो फाष्ट बलिङ राम्रो भएको छ । अरु सबै पक्षमा योजनासहित काम गरिरहेका छौं । हामीलाई विश्वास छ ।’

परम्परागत समस्याका रुपमा रहेको ब्याटिङ पंक्तिको नेतृत्व गर्नु देवका लागि अहिलेको चुनौति हो । नेपालले मूलतः घरेलु टोली यूएईविरुद्ध नै विशेष रणनीति बनाउनुपर्ने छ । अनुभवका आधारमा त्यस्तो खेलमा देवको भूमिका रहनेछ । यो प्रतियोगिता सिनियर टिममा फर्कनका लागि देवलाई पनि एउटा अवसर हुनसक्छ । उनले आफ्नो जिम्मेवारी बढी रहेको बताइसकेका छन् ।

गत वर्ष यू–१९ एसिया कप खेलेको नेपाली टिमका कप्तान देवसहित दीपेश कँडेल, दुर्गेश गुप्ता र अजुृन साउदमात्र यो टिममा छन् । सन् २०१६ को संस्करणमा पनि टिमको प्रशिक्षण सम्हालेका टमाटा सन्तुलित टिम रहेकाले यसपल्ट धेरै आशा गर्नसक्ने बताउँछन् । उनले भने, ‘हामी एकदमै राम्रो छौं भन्दिन । तर, हामीसँग सिनियर टिममा खेलिसकेका खेलाडी छन् । उमेर समूहमा नेपालमा उपलब्ध उत्कृष्ट प्रतिभा छानेर ल्याएका छौं ।’

नेपाली टिम 

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, देव खनाल, सुवास भण्डारी, दीपक बोहरा, विशाल विक्रम केसी, आकाश चन्द र मिलन बोहरा ।

नेपालले कप्तान ब्याटर देव, अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, अलराउण्डर विशाल विक्रम केसी तथा तीव्र बलरहरु हेमन्त धामी र दुर्गेश गुप्तामाथि धेरै आशा राखेको छ ।

नेपालले विदेशी परिस्थितिमा प्रशिक्षण पाएको छैन । यद्यपी नेपालले सिनियर टिमसँग सातवटा अभ्यास खेल खेलेर आफ्नो तयारीलाई टुंग्याएकाले खेलाडीलाई एक्स्पोजरको कमी हुन नदिइएको प्रशिक्षक टमाटाले बताए ।

टिमका प्रमुख खेलाडी गुल्सन झा उपलब्ध नहुनुको घाटालाई कम गर्न नेपालले नयाँ योजना बनाउनेछ । आईसीसी विश्वकप लिग टू पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण भएकाले प्रशिक्षक टमाटाले गुल्सनको अनुपस्थितिमा त्यति गुनासो गरेका छैनन् ।

यू-१९ विश्वकपमा यस्तो छ नेपालको इतिहास

गत वर्ष वेष्ट इण्डिजले आयोजना गरेको यू–१९ विश्वकपको छनोट कोरोना महामारीले प्रभावित रह्यो । सेप्टेम्बर २०२१ मा यूएईमा हुने तय गरिएको प्रतियोगितामा नेपाल यूएई, मलेसिया, ओमान र सिंगापुर थिए । तर, कोरोनाका कारण प्रतियोगिता आयोजना असम्भव भएपछि आईसीसीले पछिल्लो पाँच छनोट प्रतियोगिताको नतिजाका आधारमा यूएईलाई छनोट गर्ने निर्णय गरेपछि नेपाल खेल्नै नपाई ठगियो ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएकोे विश्वकपका लागि नेपाल छनोट प्रतियोगितामा हदैसम्म अगाभी बन्यो । यू–१९ विश्वकप एसिया छनोट डिभिजन वानमा ६ टिमको सहभागिता थियो । नेपालले यूएईसँगको खेल डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुनु ले नै विश्वकपको ढोका बन्द गरिदियो । नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रद्ध गरियो । डकवर्थ लेविस नियमले यूएईलाई १ रनले विजयी घोषणा गरियो ।

सन् २०१८ मा न्युजिल्याण्डमा सम्पन्न विश्वकपका लागि नेपालले एशिया क्षेत्रीय छनोटमा अफगानिस्तानसँग पछि परेको थियो । सिंगापुर र मलेसियासमेत सहभागी प्रतियोगिता डवल राउण्ड रोविनमा खेलाइँदा नेपालले अफगानिस्तानसँगै २ खेल हारेपछि विश्वकप खेल्न पाएन ।

तर त्यसअघि सन् २०१६ मा इतिहास दोहोर्‍याउँदै नेपालले उमेरसमूहको विश्वकपमा समूह चरण पार गरेको थियो । समूह डीमा न्युजिल्याण्ड र आयरल्याण्डलाई हराएर समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित भयो ।

त्यसअघि सन् २०१४ को विश्वकपमा पनि नेपाल छनोट नजिक पुगेर फर्किनुपरेको थियो । सन् २०१३ मा एसीसी इलाइट कपको फाइनलमा अफगानिस्तानसँग हारेपछि नेपालले विश्वकप खेल्न पाएन । सन् २०१२ को विश्वकपमा छनोट हुन नेपालले शानदार प्रदर्शन गरेको थियो । १० टिम समावेश ग्लोवल क्वालिफायरमा दोस्रो हुँदै नेपालले विश्वकप खेलेको थियो ।

यू–१९ एसीसी इलाइट कपको फाइनलमा पुग्न असमर्थ भएपछि नेपालले सन् २०१० को विश्वकप खेल्न पाएन । दुई वर्षअघि विश्वकप प्लेट च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालका लागि यो नतिजा अप्रत्यासितजस्तै थियो ।

सन् २००८ को विश्वकपमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहबाट शीर्ष दुई टिम सुपर क्वाटरफाइनलमा पुगेका थिए भने अन्तिम दुई टिम प्लेट क्वाटरफाइनलमा पुगेका थिए । नेपालले प्लेट क्वाटरफाइनलमा जिम्बावे र सेमिफाइनलमा नामिवियालाई हराएर वेष्ट इण्डिजसँग प्लेट च्याम्पियनसिपको फाइनल खेलेको थियो । फाइनलमा नेपाल ७ विकेटले पराजित रह्यो ।

एसीसी यू–१९ कप जितेको आधारमा नेपाल सन् २००६ को यू–१९ विश्वकपका लागि छानिएको थियो । यो विश्वकपमा नेपालको अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन थियो । कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपाल टिममा पारस खड्का, ज्ञानेन्द्र मल्लजस्ता अहिलेका भेट्रान खेलाडी करिअरको सुरुवाती समयमा थिए । समूह डीमा रहेको नेपालले जिम्बावे र इंग्ल्याण्डसँग हार ब्यहोरे पनि आयरल्याण्डलाई पराजित गरेको थियो ।

समूहमा अन्तिम दुईमा परेसँगै नेपाल प्लेट च्याम्पियनसिपमा पुगेको थियो । प्लेट च्याम्पियनसिपको क्वाटरफाइनलमा युगान्डा, सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई हराउँदै नेपालले ऐतिहासिक प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो ।

सन् २००३ को युथ एसिया कप जितेपछि नेपाल अर्को वर्ष यू–१९ विश्वकपका लागि छानिएको थियो । समूह डी मा दक्षिण अफ्रिकालाई हराए पनि शीर्ष दुईमा पर्न असफल नेपाली टिम प्लेट च्याम्पियनसिपतर्फ समूह बीको शीर्ष दुईभित्र पर्न सकेन ।

नेपालले सन् २००२ को यू-१९ विश्वकप पनि युथ एसिया कप विजेताकै हैसियदमा छनोट पाएको हो । प्रतियोगिताको समूह सी मा अन्तिम दुईमा परेपछि प्लेट च्याम्पियनसिपमा प्रवेश पाएको थियो । प्लेट च्याम्पियनसिपको समूह २ मा विजेता बनेको नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो भने फाइनलमा जिम्वावेसँग हारेको थियो ।

सन् २००० मा नेपालले युथ एसिया कपको शीर्ष दुईभित्र रहेर पहिलोपल्ट यू–१९ विश्वकप खेल्न पाएको थियो । समूह सीको शीर्ष दुईभित्र रहेर अर्को चरणमा पुगे पनि सुपर लिगको समूह २ बाट माथि जान सकेन ।

नेपालको खेल

१२ फागुन (२४ फेब्रुअरी) : सिंगापुरविरुद्ध
१३ फागुन (२५ फेब्रुअरी) : कुवेतविरुद्ध
१५ फागुन (२७ फेब्रुअरी) : हङकङविरुद्ध
१६ फागुन (२८ फेब्रुअरी) : मलेसियाविरुद्ध
१८ फागुन (२ मार्च) : यूएईविरुद्ध

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?