
काठमाडौं । लण्डनमा आयोजित नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितका एक दर्जन फिल्मकर्मी बेलायततर्फ प्रस्थान गरेका छन् ।
गत शनिबारदेखि सुरु भएको फेस्टिभलको समापनमा भाग लिन केसीसहित नीर शाह, करिश्मा मानन्धर, आँचल शर्मा, रीमा विश्वकर्मा, अनु शाह, क्रिस्टिना गुरुङ, सन्तोष सेन, कविता मानन्धर, साहिमा श्रेष्ठ, अनुपविक्रम शाही, पुष्प खड्काको जम्बो टोली त्यसतर्फ लागेको हो ।
टोलीमा विल्सनविक्रम राई, यश कुमार, विक्रम डी जोशी, नीर शाह, दिनेश डीसी, मिलन चाम्स, राज कटुवाल पनि सहभागी छन् । यसबाहेक केही प्राविधिक पनि त्यसतर्फ लागेका छन् । नेपाली फिल्मको बजार प्रवर्द्धन गर्ने उद्देश्यले थर्ड आइ टिमले बेलायतको राजधानीमा फेस्टिभल आयोजना गरेको हो ।
लेस्टर स्क्वायरको प्रतिष्ठित प्रिन्स चार्ल्स हलमा आयोजित फेस्टिभल अहिले पनि जारी छ । कार्यक्रमको शुभारम्भमा ओजेश सिंहले नेपाली फिल्मको विकास र थालनीबारे प्रकाश पारेका थिए । समारोहमा नेपाली मौलिक लाखे नाच पनि प्रस्तुत गरिएको थियो । दिनेश राउत निर्देशित सोसल ड्रामा ‘प्रकाश’ स्क्रिनिङसँगै फेस्टिभलको आरम्भ भएको थियो । त्यस अवसरमा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले फेस्टिभल सफलताको कामना गरे ।
फिल्म प्रकाश हेरेपछि नेपाली र बेलायती दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
आयोजक संस्थाका विकास देवकोटाका अनुसार फेस्टिभलमा युट्युबमा रिलिज भइनसकेका फिल्मलाई प्रदर्शन गरिनेछ । आगामी आइतबारसम्म हुने फेस्टिभलमा जीवन काँडा कि फूल, झिंगेदाउ, प्रेमगीत ३ लगायत फिल्म प्रदर्शन गर्ने तयारी छ । समापन समारोहमा नेपालबाट पुगेका सेलिब्रिटीले सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ ।
यूएईको दुबईमा नेपाल सिनेमा फेस्ट समापन भएको केही दिनमै नेपाली फिल्मको अर्को ठूलो बजार बेलायतमा फेस्टिभल सुरु भएको हो । उक्त बजारमा केही वर्षयता नेपाली फिल्मले प्रदर्शनमा व्यापकता पाइरहेका छन् । सन् २०२३ मा विश्वका विभिन्न मुलुकमा नेपाली फिल्म फेस्टिभल र अवार्ड कार्यक्रम आयोजना हुँदैछन् ।
प्रतिक्रिया 4