+
+
गफ स्टेसनमा अभिनेत्री रुविना थापा र सर्ट फिल्म निर्देशक अनुप थापा :

‘दुई घण्टामा भन्ने कुरालाई केही मिनेटमा प्रस्तुत गर्नु नै सर्ट फिल्मको विशेषता’

खेम रिसाल खेम रिसाल
२०७९ फागुन ११ गते १७:२४

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व) गैंडाकोटमा जन्मे-हुर्केका अनुप थापालाई सानैदेखि फिल्ममा रुचि जाग्यो । गैंडाकोटमा फिल्म सुटिङका लागि फिल्मकर्मीहरु पुगिरहन्थे । कलाकारहरुलाई अनुपले नजिकबाट हेर्ने अवसर पाए । निर्देशक र फिल्म टिमको काम नियाल्न पाए ।

पछि उनलाई यसकै रस बस्यो । अध्ययनका लागि अष्ट्रेलिया हान्निए, जहाँ उनले फिल्म मेकिङमै स्नातक तहको अध्ययन पूरा गरे । फिल्म निर्माण तथा निर्देशनसम्बन्धी थोरबहुत ज्ञान त हासिल गरे तर यसको सदुपयोग कसरी गर्ने भन्ने खास मेसो मिलिरहेको थिएन । त्यसका लागि उनले रोजे छोटो फिल्म अर्थात् सर्ट मुभीको विकल्प । जसबाट आफूले भन्न चाहेको कुरा कम बजेट र थोरै समयभित्र भन्न सकिन्थ्यो ।

‘पाँच वर्षअघि सर्ट मुभी कस्तुरी बनाएँ, नेपाली र केही अष्ट्रेलियाकै कलाकारलाई लिएर । मेरो कामलाई सबैले एप्रिसिएट गरिदिनुभयो,’ अनलाइनखबरको गफ स्टेसनमा अभिनेत्री रुविना थापासँगै उपस्थित अनुपले सुनाए ।

अनुपले निर्देशन गरेको दोस्रो सर्ट फिल्म ‘थ्यांक यु फर बिइङ अ फ्रेन्ड’ले त निकै प्रशंसा पायो । यो फिल्म विभिन्न देशका प्रतिष्ठित सर्ट फिल्म फेस्टिभलमा समेत सहभागी हुन पायो र केही पुरस्कार पनि हात पार्न सफल भयो । ‘कोभिड महामारीको समयमा भएकाले भर्चुअल रुपमा मात्र सहभागी हुन पाइयो । भौतिक रुपमा सहभागी हुन पाएको भए अझ राम्रो हुन सक्थ्यो होला,’ उनी भन्छन् ।

अनुप थापा

हालै अर्को सर्ट फिल्म ‘आई एम प्योर’ लिएर आउने तयारीमा छन् अनुप । जसमा अभिनेत्री रुविना थापाले पनि अभिनय गरेकी छन् । साथै मेनका प्रधान र सलोन बस्नेत पनि यो सर्ट मुभीमा मुख्य भूमिकामा छन् ।

‘लभ डायरिज’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी रुविनालाई चाहिं सर्ट मुभीतर्फ झुकाव कसरी बढ्यो त ?

गफ स्टेसनमा उनी गफिइन्, ‘कलाकार भएपछि नयाँ नयाँ अनुभव लिनैपर्छ । कलाकारले विभिन्न जीवन जिउने अवसर प्राप्त गर्छ । फिचर फिल्ममा गर्न नपाएका कति कुरा सर्ट फिल्ममा गर्न पाइन्छ ।’

मिथोलोजिकल थ्रिलर जनराको ‘आई एम प्योर’मा वनझाँक्रीको कथा रहेछ । ‘अनुपजीलाई हरर फिल्ममा धेरै रुचि, मलाई फेरि मन नपर्ने । म त निकै डराउँछु यस्तो कुरामा । तर अनुपजीको अघिल्ला काम हेरेर यसमा जोडिन मन लाग्यो ।’

उनी यसमा जोडिन पनि रमाइलै घटना रहेछ । अनुपले अष्ट्रेलियाको ब्रिसबेनबाटै इन्स्टाग्राममा रुविनालाई आफ्नो फिल्मको लागि प्रस्ताव गरे । तर रुविनाले मेसेज नै हेरिनन् । ‘साथीले भनेपछि पो हेरें । तर पनि हतार गरिनँ,’ उनी सुनाउँछिन्, ‘परीक्षा थियो सकाएर पछि डाइरेक्ट कल नै गरें ।’

यसमा अनुप थप्छन्, ‘मैले कल गरें । सब्जेक्ट हेर्छु भन्नुभयो, त्यसको १० मिनेटमा काम गर्ने भनेर ओके भन्नुभयो ।’

अष्ट्रेलियामा बसेर फिल्म बनाउनु चाहिं कति सकसपूर्ण रहेछ त ? अनुप भन्छन्, ‘गाह्रो छ सबैकुरा मिलाउन । एक समय नै मिलाउन गाह्रो हुने, अर्को भनेजस्तो सामग्री पनि पाउन निकै सकस झेल्नुपर्ने हुन्छ ।’

यद्यपि नेपालमा आएर सर्ट फिल्म बनाउँदा पनि उनलाई समय व्यवस्थापन चाहिं चुनौतीपूर्ण लाग्यो । ‘उहाँ टाइमटेबलमा काम हुन्छ, यहाँ त्यति ख्याल राखिंदैन,’ अनुप सुनाउँछन् ।

अनुप विश्वको विकसित देशमध्येमा पर्ने अष्ट्रेलियामा बसोबास गर्छन् । तर पनि उनलाई भूतप्रेत, आत्मा र वनझाँक्रीप्रति विश्वास लाग्छ । ‘अरुभन्दा पनि नेपालमा वनझाँक्री र आत्माको कुरा धेरै गरिन्छ । यसैलाई अन्तर्राष्ट्रिय रुपमा प्रस्तुत गरौं भन्ने मनसाय हो,’ आफ्नो योजनाबारे उनी भन्छन् ।

‘आई एम प्योर’ गरिसकेपछि रविनाको दैनिक जीवनमा समेत त्यसको प्रभाव पर्न थालेको छ । उनले केही रमाइला घटना समेत सुनाइन्, ‘अहिले त मलाई राति वासरुम (शौचालय) जान पनि डर लाग्छ, झसंग हुन्छु ।’ सुनसरीको चतरामा छायांकन गरिएको फिल्मबारे उनले त्यहाँ दर्शकबाट पाएको माया र अन्य रमाइला कुरा पनि बाँडिन् । ‘उहाँले कंकालको सामान ल्याएर मेरै घरमा राख्नुभएको रहेछ । म त डरले झसंगै भएको थिएँ,’ उनी सुनाउँछिन् ।

रुविनाले हालसम्म तीन नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । लभ डायरिजपछि उनले ‘डाँडाको वरपीपल’ र ‘म’मा काम गरिन् । तर दुर्भाग्य उनका तीनै फिल्म बक्स अफिसमा असफल सावित भए । जसकारण उनलाई ‘अनलक्की हिरोइन’ भनेर समेत फिल्म क्षेत्रमा टिप्पणी गरिन्छ । यस विषयमा उनी केही आक्रोशित सुनिइन्, ‘के आधारमा मलाई अनलक्की भन्ने ? मेरो अनुहार हेर्दा नै अनलक्की छ कि ? म काममै छु । हिजोसम्म पनि सेटमै थिएँ, केही दिनमा फेरि काममै हुनेछु ।’

रुविना थापा

यद्यपि आफ्ना फिल्महरु नचलेका कारण यसो भनिएको हुनसक्ने उनले बताइन् । यसमा आफ्नो मात्रै नभई टिम, समय, सन्दर्भ र बजार अवस्थाले पनि भूमिका खेल्ने उनी बताउँछिन् । फिल्मबाट करिअर सुरु गरेकी रुविना अहिले म्युजिक भिडियोमा पनि छाइरहेकी छन् । भन्छिन्, ‘फिल्मको अफर नआएको होइन, स्क्रिप्ट पनि पढिरहेको छु तर कहिले टिम नमिल्ने कहिले के हुने हुन्छ । मेरा फिल्महरु चलेनन् होला । तर मलाई लाग्छ एकैचोटि भन्दा एक-एक खुड्किलो गरेर भर्‍याङ चढ्दा पक्कै राम्रो होला । राम्रो विषयवस्तुमा राम्रो टिमसँग काम गर्ने पर्खाइमा छु ।’

अनुपको लक्ष्य फिचर फिल्म हो । सर्ट फिल्मले फिचर फिल्मका लागि अनुभव दिने उनी बताउँछन् । ‘लक्ष्य त फिचर फिल्म नै हो, तर सर्ट फिल्मले अनुभव दिन्छ । धेरै कुरा सिकाउँछ । कसैले दुई घण्टामा भन्न नसक्ने कुरालाई पाँच मिनेटमा भन्न सक्नु नै सफलता नै होला नि,’ उनी भन्छन् ।

फिल्ममा काम गरिसकेको कलाकारले सर्ट फिल्म गर्दा चाहिं कस्तो लाग्ने रहेछ ?

रुविना प्रष्ट्याउँछिन्, ‘सबै प्रोजेक्टले नै हाम्रो जीवनमा भूमिका खेल्छ । अरुको जीवन जिउन, केही न केही सिक्न पाउँछौं । हरेक प्रोजेक्टमा नयाँ टिमसँग काम गर्न पाइन्छ । अझ यो सर्ट फिल्ममा पढेर आएको नयाँ पिंढीसँग काम गर्न पाएँ । धेरै कुरा सिक्न पनि पाएँ । कलाकारले गर्ने हरेक कामले आफ्नो पनि वृत्तिविकास भइरहेकै हुन्छ ।’

पूर्वाञ्चल एकेडेमीको सहयोग निर्माण भएको ‘आई एम प्योर’ यही मार्च महिनामा रिलिज गर्ने अनुपको तयारी छ । अघिल्ला प्रोजेक्टजस्तै यसबाट पनि सकारात्मक प्रतिक्रिया पाउनेमा उनी आशावादी देखिन्छन् । कार्यक्रमको बिट मार्नेबेला अनुपले भने, ‘तराईको क्यारेक्टरलाई पूर्णरुपमा देखाउन मन छ । नेपालीपनको फिल्म दुनियाँलाई देखाउने इच्छा छ ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

अभिनेत्री रुविना थापा र सर्ट फिल्म निर्देशक अनुप थापासँग गरिएको विस्तृत कुराकानी भिडियोमा :

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?