+
+
ब्लग :

दैलो चहार्ने प्रचण्डको अस्थिर प्रवृत्तिको अन्त्य कहिले ?

बाध्यताको भारी बोकेर फेरि पनि प्रचण्ड अस्थिरताको यात्रामा दौडिरहेका छन् । ‘बरु सत्ता बाहिर बस्छु तर नीति, विधि र राजनीतिक मूल्य–मान्यता एवं संस्कारमा सम्झौता गर्दिनँ’ भन्न प्रचण्डले किन सक्दैनन् ?

सुशील विके सुशील विके
२०७९ फागुन ११ गते १६:२९

विषय दुई जना दाहालबाट सुरु गरौं । एक जना ‘जदौ’ भन्दै रेडियोमा मिठो स्वर पस्कने दाहाल यज्ञनिधि र अर्का क्रान्तिकारी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ । एउटा दाहालको घर घट्टेकुलो भन्ने ठाउँमा छ, अर्काको खुमलटारमा ।

दाहाल यज्ञनिधिको निवास रहेको यो स्थानलाई मानिसहरूले ‘दाहालको दैलो’ भनेर चिन्छन् । यज्ञनिधिले आफ्नो ‘दैलो’लाई एक स्थायी पहिचान दिलाएर स्थापित गराए । तर, अर्का दाहालले आफ्नो ‘दैलो’ कहिल्यै स्थायी र स्थापित गराएनन् । बरु आफ्नो स्वार्थको रोटी सेक्नका लागि अरू–अरूको ‘दैलो’ चहार्ने काम गरे ।

शान्तिपूर्ण राजनीतिमा आएपछि उनले जे–जति ‘दैलो’ चहारे यसले उनको पहिचान नै अस्थिर नेताको बनायो । यसपटक प्रधानमन्त्री बन्न उनले चहारेका बूढानीलकण्ठ, कोटेश्वर, बालुवाटार र बालकोटका दैलाका तथ्यले यही भन्छ । यद्यपि उनले आफूलाई अस्थिर हैन गतिशील भन्न रुचाउँछन् ।

शान्ति प्रक्रियाको आसपास प्रचण्ड र बाबुराम भट्टराईले भनेका थिए, ‘हामी सत्तामा जाँदैनौं । अभिभावकको भूमिकामा रहन्छौं । महात्मा गान्धी जस्तै ।’ तर, कालान्तरमा यी दुवै नेता सत्ताका लागि जे पनि गर्न सक्ने तहमा पुगे । सत्ताका लागि यिनीहरूले हिजो आफूले अवलम्बन र विकास गरेको पार्टीको विचार, सिद्धान्त, संरचना, नैतिकता, त्याग, बलिदान र जनतामा फैलाएको आशा र विश्वास सबै गुमाउन तयार भए, गुमाउन बाँकी केही पनि नहुने गरी ।

सुशील विके

मानिसहरूले प्रचण्डलाई विभिन्न रूपले चिन्लान् । शान्तिपूर्ण राजनीतिमा आउनुपूर्व मैले उनलाई एक क्रान्तिकारी, सीमान्तकृत जनताका आवाज उठाउने नेताका रूपमा चिन्थें । शान्तिपूर्ण राजनीतिमा आएपछि नेपाललाई धर्मनिरपेक्ष, समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन महत्वपूर्ण भूमिका खेल्ने नेताका रूपमा पाएँ ।

त्यसपछिका दिनमा उनको बदलिएको भूमिका र कार्यशैलीका कारण आम मानिसले जस्तै मैले पनि उनलाई सीमान्तकृत समुदायका मुद्दा अलपत्र पारेका, जनजीविकाका सवाल छोडेर सत्ताका लागि अन्य पार्टी र नेताको दैलोमा दौडने अस्थिर नेताका रूपमा पाएको छु ।

वर्तमान सत्ता गठबन्धन निर्माण र छिटै हुने राष्ट्रपति चुनावका सन्दर्भमा उनका अभिव्यक्ति र भूमिकाले यही संकेत गर्छ । म चाहन्छु कि प्रचण्डले व्यवहारबाट म लगायत नेपालीको धारणामा परिवर्तन गरून् ।

सत्ता राजनीतिमा अपरिपक्व

हजारौं नेपालीले बलिदान गरेको सशस्त्र युद्धको राप, ताप र प्रगतिशील मुद्दासहित सबैभन्दा ठूलो पार्टीको नेताका रूपमा प्रचण्डले पहिलो पटक देशको कार्यकारी जिम्मेवारी सम्हाल्दा देश र जनताले जति ठूलो अपेक्षा गरेका थिए, त्योभन्दा ठूलो अवसर र चुनौती उनका सामु थिए । तर, अवसरलाई नै उपयोग गर्न नसकेका प्रचण्डले चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने त कुरै भएन ।

उनको ध्यान जनहित र जनजीविकाका सवालमा गएन । बरु तत्काल आवश्यक नै नभएको पशुपतिमा पुजारी तथा सेनापति परिवर्तन जस्तो विषयमा गयो । यी दुवै यति प्रत्युत्पादक बने कि सेनापति काण्डपछि त प्रचण्डले सत्ता नै गुमाउनुपर्‍यो ।

साथै अधिकतम प्रगतिशील संविधान निर्माण गरी देश र सीमान्तकृत जनताको जीवनमा परिवर्तन ल्याउने अवसर पनि गुम्यो । शासकीय कमजोरी र अपरिपक्व काम भएको प्रचण्ड स्वयंले स्वीकार गरेको तथ्य हो यो ।

सानो कमजोरी र असावधानीले कति ठूलो नोक्सानी हुँदोरहेछ भन्ने कुरा त्यसपछि भोगेका हरेक घटनाले माओवादी पार्टी, त्यसका नेता र खासगरी प्रचण्डलाई जति बढी जानकारी अरू कसलाई होला र ? तत्कालीन अवस्थामा प्रचण्डले त्यस्तो गल्ती नगरेको भए आज माओवादीको स्थान नै अर्कै हुनेथियो ।

अहिले तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेलाई उछिन्दै देशको प्रधानमन्त्री छन् । जीवनको उत्तराद्र्धतिर भएर पनि होला, जसरी पनि प्रधानमन्त्री बन्ने लक्ष्य लिएका प्रचण्डले चुनाव अगाडि आफैंले बनाएको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएर पनि प्रधानमन्त्री भइछाडे । ठूला दललाई पछि पारेर तेस्रो दलको नेता प्रधानमन्त्री बन्ने कदमप्रति विश्लेषकहरू भन्छन्, ‘यो नसुहाउने र जनादेश विपरित छ ।’

संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने अवस्था आएको भए स्वाभाविक रूपमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित थियो । पाँच पटक प्रधानमन्त्री बन्दा पनि सम्झनलायक एउटै काम नगरेका असफल प्रधानमन्त्रीका रूपमा रहेका देउवा छैटौं पटक प्रधानमन्त्री बनेको हेर्न नेपाली तयार थिएनन् । यसैले जनादेश विपरित नै भए पनि प्रचण्ड प्रधानमन्त्री बन्दा उनको आलोचना भएन ।

उत्साहजनक जनमत पाएर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको संलग्नतामा बनेको वामपन्थी पार्टी नेतृत्वको गठबन्धनलाई जनताले आशाको नजरले हेरेका थिए । तर, सरकार गठन भएको छोटो अवधिमा नेपालको राजनीति र गठबन्धनभित्र भएका खटपट र अन्य गतिविधिले सकारात्मक संकेत दिएका छैनन् ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिंदै अहिलेको गठबन्धन भत्काउने र राष्ट्रपति हात पार्ने भनेकोे छ । सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । गठबन्धनका अन्य दलहरूसँग पनि प्रधानमन्त्रीको हार्दिकतापूर्ण सम्बन्ध नभएको संकेत मिलेका छन् । यस्तो परिवेशमा प्रधानमन्त्री प्रचण्ड आफैंले सत्ता गठबन्धन बनाई गरेको सहमति विपरित राष्ट्रिय सहमतिको बेमौसमी राग अलाप्दै हिंडेका छन्, जसले देशलाई अस्थिरतातर्फ धकेल्ने देखिन्छ ।

राष्ट्रिय सहमति भन्ने तर गठबन्धनमा समस्या आउँदा त्यसलाई समाधान गरी बलियो बनाउन नलाग्ने समस्या प्रचण्डमा देखिएको छ । प्रचण्डले दुइटा डुंगामा खुट्टा राखेर सत्ता यात्रा गर्दैछन् । यो भूमिकाले उनको अस्थिर नेताको पहिचान पुनः एकपटक उजागर भएको छ । यही अवस्था कायम रहँदा अहिलेको सरकार ढिलो–चाँडो ढल्ने र नयाँ राजनीतिक कोर्षमा मुलुक प्रवेश गर्ने देखिन्छ ।

आफ्नो पार्टीको संख्या सानो भएकोले मन्त्रिपरिषदमा पनि उनी एक हिसाबले कमजोर अवस्थामा छन् । सत्ताको ठूलो दललाई रिझाएर सरकार चलाउनुपर्ने बाध्यता छ । यदि यो गठबन्धन टिकेन भने के गर्ने भन्ने पिरलो पनि दाहाललाई छँदैछ । यसैले समानान्तर रूपमा प्रतिपक्षी दललाई रिझाएर ब्याकफोर्समा राखेका छन् । यस बाहेक पनि अन्य देशी–विदेशी शक्ति केन्द्रहरूलाई पनि रिझाएर सत्ता टिकाउनु परेको छ । चाहेको बोल्न र गर्न सक्ने अवस्था फेरि पनि छैन ।

यस्तो बाध्यताको भारी बोकेर फेरि पनि प्रचण्ड अस्थिरताको यात्रामा दौडिरहेका छन् । ‘बरु सत्ता बाहिर बस्छु तर नीति, विधि र राजनीतिक मूल्यमान्यता र संस्कारमा सम्झौता गर्दिनँ’ भन्न प्रचण्डले किन सक्दैनन् ? सायद उनले भने जस्तै अन्तिम पटक प्रधानमन्त्री बन्नै पर्ने बाध्यताले उनलाई यो यात्रामा धकेलेको हुनसक्छ ।

मधेश, कर्णाली, जनजाति, दलित समुदाय जता पुग्यो त्यहीं ‘लव’ पार्न सिपालु प्रचण्ड ‘लव’ पार्नकै लागि दैलो चहार्न छोड्दैनन् । जुन वर्ग, जाति वा समुदायसँग भेट भयो त्यहाँ उनीहरूलाई नै खुसी पार्ने गरी बोल्ने तर, त्यो पूरा हुन सम्भव छ कि छैन र त्यसले समग्रतामा के असर पार्छ, त्यसमा विचार नगर्ने बानीले प्रचण्डलाई मुद्दा छोडेको आरोप पनि लाग्दै आएको छ । सत्ताका लागि एक हिसाबले जे पनि गर्न सक्ने नेताको विम्ब बनेको छ ।

सत्ताका लागि जुनसुकै दलसँग सहकार्य पनि गर्न सक्ने, टुटाउन सक्ने, आज एउटा कुरा, भोलि अर्को कुरा गर्ने अभ्यासले केही समय सत्ताको स्वाद त दिलाउँछ कालान्तरमा व्यक्ति र संस्थालाई नै नोक्सानी पुर्‍याउँछ ।

अहिले देशको राजनीति राष्ट्रपतिको कुर्सी वरिपरि घुमेको छ । यसैलाई माध्यम बनाएर दाहालले आफ्नो रोटी सेक्न खोजेका छन् । तर, यसले देश र जनताका पक्षमा योगदान गर्ने देखिंदैन । कहिले बालकोटको त कहिले बूढानीलकण्ठको दैलो चहार्दा दाहालले प्रधानमन्त्री पद पाँच वर्ष नै चलाउन पाउलान् । तर, दैलो चहार्ने अर्थात् अस्थिर राजनीतिज्ञको पहिचान भने मेटिने छैन, बरु थप कसिलो बन्दै जानेछ ।

सायद दाहाल जीवनको अन्तिम पटक प्रधानमन्त्री भएको बेलामा समेत यो गलत पहिचान मेटाउन सकेनन् भने उनी र उनको पार्टीका लागि दुर्भाग्य हुनेछ । यसैले दाहालले नयाँ गठबन्धन बनाउँदाको सहमति पालना गर्ने र यो गठबन्धनलाई पाँच वर्ष टिकाउने दिशामा जाँदा राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण कदम हुनसक्छ ।

साथै ‘जनयुद्ध’का बेला उठाएका मुद्दा छोड्दै गएको आरोप लागेको बेला दाहालले सरकार प्रमुखका रूपमा जनजीविकाका सवाल तथा श्रमजीवी सर्वहारा, मजदुर, किसान, दलितका मागमा काम गरी जनतामा आशा जगाउन सक्छन् । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको सान्दर्भिकता पुष्टि गर्न सक्छन् ।

पार्टी राजनीतिमा टुटफुटका कारक र साक्षी

तीन दशकभन्दा बढी पार्टी सत्तामा रहेका दाहालको पार्टी राजनीति पनि सन्तोषजनक देखिंदैन । उनले कहिले कुन नेता त कहिले कुन नेताका पक्षमा लाग्ने र उनीहरूबीच खेल्ने अस्थिर चरित्र देखाए । पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको योजना ल्याएनन् । जसका कारण माओवादी टुक्रा–टुक्रामा विभाजित भयो । जनताले त माओवादीलाई मौका दिएकै हुन् नि ! तर त्यसलाई जोगाउन दाहाल र माओवादी नेताहरू सक्षम भएनन् ।

त्यसो त माओवादीका अन्य नेताहरूमा पनि दाहालको जस्तै दैलो चहार्ने प्रवृत्ति नै देखिएको छ । बाबुराम हुन् या वैद्य या बादल वा विप्लव, उनीहरूले क्षणभरमा पार्टी विभाजन गर्ने, नयाँ पार्टी बनाउने, एकीकरण गर्ने वा अरू पार्टीमा मिसिने काम गर्दै आएका छन् ।

उनीहरूमा राजनैतिक, वैचारिक अडान, निष्ठा देखिंदैन । विभिन्न तर्क दिएर उनीहरूले पार्टी टुटफुट पार्ने र एकता गर्ने काम गर्दै आएका छन् । तर, सारमा यो अस्थिर चरित्र र सत्ताको महत्वाकांक्षा सिवाय अरू केही हैन ।

नीति, सिद्धान्त र विचारमा पनि माओवादीले निकै उतारचढाव भोग्यो । सत्ता नै सर्वेसर्वा हो र बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ भन्दै दीर्घकालीन ‘जनयुद्ध’को नीति तय गरेको माओवादीले त्यो त्यागेर बहुदलीय संसदीय व्यवस्थामा आयो । प्रचण्डपथ पनि त्याग्यो । हुँदाहुँदा अहिले माओवाद त्याग्ने, पार्टीको नाम र चुनाव चिह्न पनि परिवर्तन गर्ने तयारी गरेको छ ।

नीति र विचारमा समयानुकूल परिमार्जन अपेक्षित भए पनि आम जनमानसमा नकारात्मक असर पर्ने गरी गर्दा अस्थिरताको आरोप लाग्ने देखिन्छ ।माओवादीले भन्दै आएको ‘जनयुद्ध’देखि शान्ति प्रक्रिया र संविधानसभाको चुनावदेखि नागरिक सर्वोच्चता र प्रतिगमन विरोधी आन्दोलनसम्म आउँदा माओवादीमा अनेकौं विचलन आएको प्रष्टै देखिन्छ ।

नीतिगत, सांगठनिक र कार्यशैलीगत समस्याका कारण दिन प्रतिदिन खिइँदै गएर माओवादी अहिले अस्तित्व रक्षाको चरणमा प्रवेश गरेको छ । यहाँबाट कसरी बाहिर निस्कने, माओवादीको अस्तित्व समाप्त पार्ने कि फेरि हराभरा बनाएर गतिशील र प्रभावकारी पार्टीका रूपमा स्थापित गर्ने प्रचण्ड र त्यस पार्टीका नेताहरूले सोच्नुपर्छ ।

करिब तीन दशकदेखि माओवादी पार्टीको नेतृत्व गरेका कारणले यो अवधिमा माओवादीले गरेको राम्रो कामको जस पनि प्रचण्डलाई जान्छ भने कमजोरी र गल्तीको दोष पनि उनैलाई जान्छ ।

यसरी हेर्दा माओवादीमा भएको टुट, फुट, एकीकरण, विग्रह, विचलनको कतिपय सन्दर्भमा प्रचण्ड कारक बनेका छन् भने कतिपय अवस्थामा केही गर्न नसक्ने निरीह र एक हिसाबले साक्षीका रूपमा बसेका छन् । यो तथ्यलाई एकपटक गम्भीर रूपमा सिंहावलोकन गरेर मात्र पार्टीसत्ता र राज्यसत्ता हाँक्नु प्रचण्डका लागि फलदायी हुन्छ ।

निष्कर्ष :

नेपालको सात दशकको राजनीतिक यात्रा सधैं अस्थिर बनेको छ । दलहरूमा रहेको सत्ता लिप्सा, अलोकतान्त्रिक चरित्र र वैदेशिक चलखेलले अस्थिरता बढाएको छ । पछिल्ला दशकको राजनीतिमा प्रचण्डको अस्थिर भूमिका पनि कारक बनेको छ । व्यवस्था परिवर्तन भइसक्दा पनि देशको राजनीति सधैं अस्थिर बन्दा न लोकतन्त्र र विधिको शासन स्थापित हुनसकेको छ न जनताको मुहारमा खुसी ल्याउन सकिएको छ ।

यसैले नेपालको अबको राजनीति भनेको राजनीतिक स्थिरताका लागि हुनुपर्दछ । यो तथ्यलाई प्रचण्डले आत्मसात् गर्न जरूरी छ र अरू पार्टीको दैलो चहार्ने अस्थिर नेताका रूपमा होइन, स्पष्ट अडान र लक्ष्यमा अडिएको नेताका रूपमा स्थापित हुँदै अरू पार्टी र नेताहरू उनको दैलोमा आउने वातावरण बनाउनुपर्छ । यसको सुरुवात वर्तमान सरकार गठन हुँदा सात दलहरूका बीचमा भएको सहमतिको अक्षरशः पालना गर्ने र गठबन्धनलाई पाँच वर्ष निरन्तरता दिने कामबाट दाहालले गर्न सक्छन् ।

दाहालले हेक्का राख्नुपर्ने विषय यो छ कि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने नाममा यो गठबन्धन टुट्यो भने यसले राजनीतिक र संवैधानिक जटिलता ल्याउन सक्छ । राजनीतिक अस्थिरताको भुमरीमा देश फस्न सक्छ र आम जनतामा निराशा र आक्रोश चुलिन सक्छ । यस्तो अपजसको भारी बोक्नबाट जोगिन दाहालले संयमतापूर्वक जिम्मेवार र विवेकपूर्ण निर्णय गर्न सक्नुपर्छ ।

जीवनको उत्तराद्र्धमा निभाएको प्रभावकारी राजनीतिक भूमिकाले गिरिजाप्रसाद कोइरालाका राजनीतिक जीवनका तमाम गल्ती–कमजोरी छायाँमा परे । उनी आम नेपालीका मनमा असल नेताका रूपमा रहन सफल भए । राजनीतिक जीवनको उत्तराद्र्धमा रहेका दाहालले पनि यो तथ्यबाट शिक्षा लिन आवश्यक छ ।

अहिले पनि प्रचण्डसँग देशले परिपक्व राजनेताको भूमिकाको अपेक्षा गरेको छ । देशको व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको एक क्रान्तिकारी नेताका रूपमा मात्र होइन, त्यो व्यवस्थालाई संस्थागत र दिगो बनाउन अनि जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याउन सफल नेताका रूपमा इतिहासमा उनको स्थान सुरक्षित होस् भन्ने आम नेपालीको अपेक्षा छ ।

के दाहालले जहाँ गयो त्यहीं ‘लव’ पार्ने र ‘दैलो’ चहार्ने अस्थिर प्रवृत्तिलाई त्यागेर व्यक्ति र पार्टी भन्दा माथि उठेर समग्रतामा देश, जनता, विधि, पद्धति, नैतिकता, जवाफदेही र राजनीतिक स्थिरताका लागि योगदान गर्दै समग्रतामा राजनेता हुने यात्रा तय गर्लान् ? दाहाल यज्ञनिधिले जस्तै आफ्नो दैलोलाई स्थायी पहिचान दिन सक्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?