+
+

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते २१:१०

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व गर्ने अर्को मौका प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए । उनका अनुसार ‘के घर के डेरा’ फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

अन्य पदका लागि निर्वाचन भैरहेको छ । अध्यक्षको रुपमा ह्याट्रिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्यबारेका एजेण्डा पनि उनका छन् । उपचारमा छूटको व्यवस्था गर्नेदेखि उपचारमा आर्थिक सहयोग प्रदान गर्ने योजना उनका छन् । साथै, फिल्म अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई कलेज तथा विश्वविद्यालयमा विशेष छूटका लागि पहल गर्ने योजना समेत छ ।

आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत उनको छ । लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदैछ । यसमार्फत फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उनको योजना छ ।

साधारण सभाको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आफूले पहल गर्ने वचन दिएका थिए । निजामती अस्पतालमा प्राविधिक र कलाकारलाई उपचारमा ५० प्रतिशत छूट दिन पहल गर्ने आश्वासन पनि उनले दिए ।

नेफ्टाको साधारण सभाका लागि विहिबार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु राजधानी आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?