+
+

न्यायाधीश भन्छन् : सन्दीपको करियर उचाइमा पुगोस्, तर प्रक्रियालाई छाड्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:०९

१२ फागुन, काठमाडौं । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । केहीबेरमा आदेश आउने बताइएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको सुनुवाइमा नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै उनले यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।

न्यायाधीश खतिवडाले क्रिकेट म्यानेजर दासलाई आफूले विश्वास गर्ने बताए । कानुन उल्लंघनको विषयलाई सर्वोच्च अदालतले गम्भीर रुपमा लिनुपर्ने बताएका उनले कानुनको प्रक्रियालाई किन फरक गर्नुपर्ने भनेर प्रश्न गरे ।

‘कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु हुन्न । बरु राज्यले २÷४ करोड व्यहोर्नुपर्छ’, उनले अघि भने, ‘सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना छ, यति हुँदाहुँदै पनि प्रक्रियालाई हामीले छाड्न मिल्दैन,’
त्यसपछि उनले कानुन व्यवसायीहरुलाई खेल कहिले हुन्छ भनेर प्रश्न सोधे । कानुन व्यवसायीले मिति बताएपछि न्यायाधीश खतिवडाले छोटो बहस सुने र आदेशका लागि पर्खिन आग्रह गरे ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।

धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्यो । अर्को शृंखला खेल्न नेपाली टोली भोलि यूएई जाँदैछ ।

क्रिकेट संघले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको शर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि पुनरावेदनको निवेदन दिएको छ । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?