+
+

कांग्रेस र रास्वपाको सत्तामोहले कमजोर बनेको प्रतिपक्षी बेञ्च

विपक्षी दलहरूले राजनीतिक परिवर्तनको लागि उत्प्रेरकको रूपमा काम गर्न सक्छन् । कतिपय समाज र समुदायमा सत्तारुढ दलले गहिरो विभाजन सृजना गर्‍यो भने त्यसलाई कम गर्दै सच्याउन भूमिका खेल्न सक्छन् । भारतीय कंग्रेसले हालसालै गरेको ‘भारत जोडो’ यात्रा यसको एउटा बलियो उदाहरण हो ।

सरोज गौतम/दिव्येश गिरि सरोज गौतम/दिव्येश गिरि
२०७९ फागुन १२ गते २०:५८

सरकारले माघ १६ गते शहीद दिवसमा नदिएको बिदा फागुन १ गते ‘जनयुद्ध’ दिवसको नाममा दियो । उक्त सरकारी निर्णयबारे सामाजिक सञ्जालमा अनेक खालका प्रतिक्रिया देखिए । तर कुनै पनि ठूला राजनीतिक दलले त्यसको संस्थागत विरोध गरेनन् ।

नेकपा एमाले स्वयं सरकारमा भएकोले त्यसको विरोध गर्न सकेन । राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्तामा रहिरहन उक्त निर्णयको विरोध गरेन । स्वयं कांग्रेस र रास्वपा लगायत सबै मुख्य दल चुपचाप रहे । यो त एउटा उदाहरण मात्रै हो, प्रमुख प्रतिपक्षी नहुँदा सरकारले गर्ने कार्यकारी शक्तिको अति प्रयोगलाई रोक्ने शक्ति बाँकी रहँदैन ।

अहिलेको संसद प्रतिपक्षीविहीन बनेको छ । कानुनी हिसाबले नेपाली कांग्रेस प्रतिपक्षी बने पनि उसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपति चुनावमा सरकारमा सम्मिलित दलहरूबीच असमझदारी बढाउन र राष्ट्रपतिको चुनावमा राष्ट्रपतिको च्याँखेदाउ थापेसँगै उसले राजनीतिक हिसाबले प्रतिपक्षीको हैसियत गुमाएको छ ।

उता, रास्वपा आफ्ना सभापति रवि लामिछानेलाई अदालतले नागरिकता मुद्दामा दोषी ठहर गर्‍यो । उनले पुनः नागरिकता प्राप्त गर्नासाथ गृहमन्त्रीमा दाबी गरिहाले । जबकि उनको सांसद पद अदालतको फैसलासँगै खोसिएको थियो ।

दिनकै बालकोट र बालुवाटारको दौडधुप मात्र गरिरहेका लामिछाने र रास्वपाले सरकार छाड्नुपरे पनि गठबन्धन छाडेन । यसको अर्थ उसलाई जसरी पनि सत्तामा रहनुछ । सांसद नरहे पनि पार्टी सभापति सहित नै सत्तामा जानुछ र त्यो पनि गृह मन्त्रालय नै लिएर ।

एमाले त स्वयं सत्ताधारी दल नै भयो । यस हिसाबले हाम्रो संसदमा प्रतिपक्षी पार्टी नै छैनन् । लोकतन्त्रमा रचनात्मक प्रतिपक्षीको भूमिका त्यसै परिकल्पना गरिएको होइन । बलियो र रचनात्मक प्रतिपक्ष विना त लोकतन्त्रले कामै गर्दैन र राजनीतिले गलत बाटो लिन सक्छ ।

यसले सरकारलाई नागरिक समाज र मिडिया जस्ता महत्वपूर्ण पक्षमाथि नियन्त्रण कायम गर्न उक्साउँछ । यसले चिरकालसम्म लोकतन्त्रलाई अस्वस्थ बनाउँदै हानि समेत पुर्‍याउँछ ।

लोकतन्त्रमा प्रतिपक्षको परिकल्पना

लोकतन्त्र आफैंमा विविधतालाई सम्बोधन गर्ने व्यवस्था हो । समाजमा विद्यमान फरक–फरक विचारबीचमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । यही प्रतिस्पर्धाको बीचमा न्यूनतम सहमति कायम गर्न सक्ने शक्तिले सत्ताको अभ्यास गर्दछ भने अल्पमतले प्रमुख प्रतिपक्षीको भूमिका निभाउँछ र लोकतन्त्र गतिशील हुन्छ ।

यस्तो व्यवस्थामा फरक–फरक विचारले उठ्ने मौका पाउँछन् । किनकि तिनीहरू सुनिन्छन् । यही मान्यता सहित लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष दुवै खालका शक्तिको उपस्थिति परिकल्पना गरिएको हो ।

स्वस्थ लोकतन्त्रमा विपक्षी दलले नियन्त्रण र सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । प्रतिपक्षले फरक विचार र दृष्टिकोणको लागि मञ्च प्रदान गर्दछ, सत्तारुढ दललाई जवाफदेही बनाउँछ । सरकारले जनताको हितमा कति काम गरिरहेको छ, सूक्ष्म अवलोकन गर्दछ । यसरी सरकारलाई नियन्त्रणमा राख्ने र शक्तिको अनावश्यक एकीकरणलाई रोक्न प्रतिपक्षले निगरानी गर्ने काम गर्छ ।

प्रतिपक्षी दलले अल्पमतको दृष्टिकोणको प्रतिनिधित्वसहित काम गर्छ । लोकतन्त्रमा बहुमतसँग निर्णय गर्ने अधिकार हुनसक्छ, तर अल्पसंख्यकको दृष्टिकोण पनि सुन्नुपर्छ र विचार गर्नुपर्छ । प्रतिपक्षले अल्पसंख्यक समूहका सरोकारहरूलाई आवाज दिन सक्छ र उनीहरूको अधिकार र हितको वकालत गर्न सक्छ ।

सत्तारुढ दल अति शक्तिशाली वा भ्रष्ट भएमा प्रतिपक्षले परिवर्तनको माग गर्न जनमतलाई परिचालन गर्न सक्छ । यसमा शान्तिपूर्ण विरोध, हड्ताल वा नागरिक अवज्ञाका अन्य रूपहरू समावेश हुन सक्छन् । सरकारलाई जवाफदेही बनाएर प्रतिपक्षले लोकतान्त्रिक संस्थाको पतन रोक्न र जनताको अधिकारको रक्षा गर्न मद्दत गर्न सक्छ ।

विपक्षी दलहरूले स्वस्थ राजनीतिक संस्कृतिको विकास गर्न मद्दत गर्न सक्छन् । लोकतन्त्रमा स्वस्थ विचारको आदानप्रदान र खुला बहस हुनुपर्छ । सत्तारुढ दलको विचार र नीतिलाई चुनौती दिने परिप्रेक्ष्य प्रतिपक्षले दिन सक्छ । यसले अझ बलियो राजनीतिक बहस निम्त्याउन सक्छ र ‘इको चेम्बर’ मानसिकतालाई रोक्दै विविध विचार र दृष्टिकोण आउने वातावरण सुनिश्चित गर्न मद्दत गर्दछ ।

बलियो प्रतिपक्षको अर्थपूर्ण उपस्थितिले राजनीतिक विभाजन न्यूनीकरण गर्दै एकता बढाउन मद्दत गर्न सक्छन् । लोकतन्त्रमा गहिरो राजनीतिक विभाजन र ध्रुवीकरण हुनसक्छ । प्रतिपक्षले साझा आधार खोज्न र विभिन्न समूहबीचको सहयोगलाई प्रवद्र्धन गर्न मद्दत गर्न सक्छ ।

संसारभरिको संसदीय या अन्य लोकतन्त्रको उदाहरण हेर्‍यो भने पनि त्यसले प्रतिपक्षीको महत्व दर्साइरहेको हुन्छ । बेलायतको संसदीय लोकतन्त्रको लामो इतिहास छ । त्यहाँ विपक्षी दलले सरकारका नीतिहरूमाथि प्रश्न उठाउँदै सरकारलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।

पछिल्ला वर्षहरूमा विपक्षी लेबर पार्टीले ब्रेक्जिट, सार्वजनिक खर्च र कल्याणकारी आर्थिक सहायता जस्ता मुद्दाहरूमा कन्जरभेटिभ सरकारका नीतिहरूको विरोध गर्न विशेष भूमिका खेलेको छ ।

कोभिडको विषयमा भएको हेलचेक्र्याईंदेखि अन्य महत्वपूर्ण विषयमा विपक्षीले खेलेको भूमिका र दबावले सत्तापक्ष हुने एकलौटी म्यान्डेट पाएको कन्जरभेटिभ पार्टीले समेत प्रधानमन्त्रीमा नयाँ अनुहार ल्याउन बाध्य भएको थियो । जर्मनीको ग्रीन पार्टीले पर्यावरण नीति र नवीकरणीय ऊर्जाको वकालत गरेर परम्परागत राजनीतिक दलहरूलाई यी मुद्दाहरूलाई अझ गम्भीरतापूर्वक लिन दबाव सृजना गरिरहेको छ ।

विपक्षी दलहरूले राजनीतिक परिवर्तनको लागि उत्प्रेरकको रूपमा काम गर्न सक्छन् । कतिपय समाज र समुदायमा सत्तारुढ दलले गहिरो विभाजन सृजना गर्‍यो भने त्यसलाई कम गर्दै सच्याउन भूमिका खेल्न सक्छन् । भारतीय कंग्रेसले हालसालै गरेको ‘भारत जोडो’ यात्रा यसको एउटा बलियो उदाहरण हो ।

साम्प्रदायिक झगडाले विभिन्न अल्पसंख्यक समूहले आफ्नो राजनीतिक अभिभावक गुमाएको महसुस गरिरहेका बेला भारतीय कंग्रेसले सञ्चालन गरेको उक्त लामो पदयात्राले अल्पसंख्यक समूहलाई पनि आफ्नो आवाज बोल्ने राजनीतिक शक्ति छ भन्ने महसुस गरायो ।

साथै, सत्तारुढ पार्टी स्वयंलाई समेत गहिरो विभाजन सृजना गर्ने, लोकतान्त्रिक अंगमाथि खेलाँची गर्ने र सत्ताको चरम दुरुपयोग गर्ने अभ्यास सच्याउन सचेत गरायो । त्यति मात्र होइन, भारतीय संविधानले सुनिश्चित गरेका धर्मनिरपेक्षता, अभिव्यक्ति स्वतन्त्रता जस्ता मुद्दाहरू विरुद्ध सत्तारुढ भारतीय जनता पार्टीले अगाडि बढाएको नीति र अभ्यासको विरोध समेत यो अभियानको क्रममा मुखरित हुनसक्यो ।

कतिपय अवस्थामा प्रतिपक्षले राजनीतिक सुधार वा क्रान्तिका लागि आन्दोलनको नेतृत्व गर्न सक्छ । उदाहरणका लागि, अफ्रिकी राष्ट्रिय कंग्रेसले दक्षिण अफ्रिकामा रङ्गभेद विरोधी सङ्घर्षमा मुख्य भूमिका खेलेको थियो, जसले अन्ततः रङ्गभेदी शासन पतन भयो । प्रतिपक्षले परिवर्तनको माग गर्न जनतालाई उत्प्रेरित र परिचालन गर्न सक्छ । जनताको आवाज र आकांक्षाको माध्यमको रूपमा काम गर्न सक्छ ।

समग्रमा, लोकतन्त्रमा प्रतिपक्षी दलले लोकतन्त्रको प्रवर्धन, सरकारलाई चुनौती दिन र नागरिकको हक र हितको रक्षा गर्न बहुआयामिक भूमिका खेल्छ । नियन्त्रण र सन्तुलन प्रदान गरेर, नवप्रवर्तन र प्रगतिको प्रवर्धन गरेर, राजनीतिक विभाजनलाई कम गरेर र राजनीतिक परिवर्तनको लागि उत्प्रेरकको रूपमा कार्य गरेर प्रतिपक्षले लोकतन्त्रलाई जीवन्त, उत्तरदायी र जनताप्रति जवाफदेही बनाइराख्न मद्दत गर्छ ।

संभावित जोखिम

लोकतन्त्र र निरंकुशताको निरन्तर लुकामारीले नेपाली लोकतन्त्रको विकास राम्रोसँग हुन पाएको छैन । २००७ सालमै आएको प्रजातन्त्रको विकास अहिलेसम्म राम्रोसँग भएको छैन भन्नुपर्ने दुःखद स्थिति एकातिर छ भने अर्कोतिर नेपालका धेरै लोकतान्त्रिक संस्था राम्ररी विकास हुन नपाउँदै दलीयकरण र भागबन्डाको चपेटामा परेका छन् । फलतः नेपालमा प्रतिपक्ष हुने कुरालाई इतर आवाज उठाउने समूहभन्दा पनि भागबन्डामा च्याँखे थाप्ने दलको रूपमा विकास भएका छन् ।

गणतन्त्रपछिको अवधिमा मात्रै हेर्ने हो भने पनि कुनै पनि राजनीतिक शक्तिले आफूलाई प्रतिपक्षीको रूपमा अब्बल साबित गर्नुभन्दा पनि सके सत्तापक्षबीच अराजनीतिक सङ्कटहरू उत्पन्न गराउँदै आफ्ना निहित लक्ष्य पूरा गर्न केन्द्रित देखिन्छन् ।

प्रमुख प्रतिपक्ष बनेर त्यसको राजनैतिक या नैतिक हिसाबले सत्तापक्षका गलत कामको भण्डाफोर गर्नेभन्दा पनि केही नियुक्तिहरूमा भागबन्डा लिनेमा मात्र सीमित हुनु लोकतन्त्रको लागि दुःखद खबर हो । यस्तो अभ्यासले नेपालमा दीर्घकालसम्म लोकतन्त्रलाई हानि पुर्‍याउने बाहेक अन्य केही काम गर्न सक्दैन ।

नेपालमा केवल मिडियाले मात्र बलियो प्रतिपक्षको धर्म निभाउनुपर्ने अवस्था सिर्जना भएको छ । यदि भारतको जस्तो मिडिया अभ्यास हुन्थ्यो भने नेपालको लोकतन्त्रको मर्म धेरै पहिले नै मरिसकेको हुन्थ्यो । यद्यपि मिडियाका पनि आफ्नै सीमा हुन्छन् र उसले राजनीतिक दलको प्रतिपक्षको जस्तो भूमिका निभाइरहन सक्दैन ।

लोकतन्त्रमा प्रतिपक्षी हुनु निरीह शक्ति हुनु होइन, सत्तापक्ष जत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो । नेपालमा हरेक दलहरूले आफूलाई प्रतिपक्ष प्राप्त गर्दा लोकतन्त्रको पहरेदारीको निम्ति महत्वपूर्ण ठाउँमा छु भन्ने भावना विकास गर्न सक्नुपर्छ । अन्यथा, दलहरूको एकलव्य दृष्टि सत्तामा मात्रै हुने हो भने हाम्रो लोकतन्त्र थप कमजोर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?