+
+

प्रहरी चौकी सामुन्नेकै मोबाइल पसलमा चोरको चार घण्टा (भिडियो)

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन १४ गते १८:२५

१४ फागुन, काठमाडौं । प्रहरी चौकीको अगाडि कसैले चोर्ने आँट गर्न सक्छ ? सायद यो प्रश्न नै गलत हुनसक्छ । किनभने चोर्न त परको कुरा चोरी गर्ने कुरा पनि सोच्न सक्दैन भन्ने सामान्य मान्यता हो । तर, काठमाडौंमा एउटा यस्तो चोरीको घटना सार्वजनिक भएको छ, जहाँ प्रहरीको चौकी सामुन्नेको मोबाइल पसल चोरले चार घण्टा लगाएर आरामले लुटपाट गरेको छ ।

घटना बुढानीलकण्ठ नगरपालिकाको हो, चितवनका कुमार दंगाल तीन वर्षदेखि बुढानीलकण्ठ प्रहरी वृत्तको सामुन्नेमा मोबाइल पसल सञ्चालन गर्दै आइरहेका छन् । ४ फागुनको राति ८ बजेतिर उनी पसल बन्द गरेर घर हिंडे । बिहान ६ बजे उनी मोबाइल पसल नजिकैको जिम हलमा आउँथे । ५ फागुन शुक्रबारको बिहान उनी सधैं झैं जिम हलमा आए । मोटसाइकल रोकेर माथि उक्लनै लाग्दा पसलको सटर अलिकति खुलेको देखेपछि झस्किए । ‘ला सबै लग्यो भनेर सटर तानें,’ दंगालले भने, ‘सटरको ताल्चा काटेको रहेछ र भित्र छिरेको रहेछ ।’

उनले पसलभित्र आफ्नो सबै सामान चेक गरे । चोरले १३ वटा घडी, ५ वटा मोबाइल र १० हजार रुपैयाँ नगद पसलबाट लगेको दंगालको दाबी छ । ‘१३ वटा घडी, पाँच वटा मोबाइल र काउण्टरमा रहेको १० हजार चोरी भएछ’, दंगालले भने, ‘एउटा सामसुङ ए २३, दुई वटा ए जिरो फोएस, १२ प्ले इफिनिक्सको फोन र रियलमी सी ब्राण्डका ३० भन्ने फोन लगेछ । ’

दंगालकाअनुसार चोरले पसलमा रहेका अन्य मोबाइल र घडीका पार्टस्हरु केही पनि लगेको छैन । ‘चार्जर, एयरफोन, एयर बड जस्ता एसेसरिज चाहिं केही पनि लगेको छैन’ दंगालले भने ।

पसलमा चोरी भएपछि दंगालले आफ्नो पसल र नजिकका सबै क्षेत्रको सीसीटीभी फुटेज संकलन गरे । जसमा चोरले आरामसँग चोरेको देखिन्छ ।

मोबाइल पसलको सटर काट्न चोर १२ बजेर १५ मिनेटमा आइपुगेको दंगाल बताउँछन् । ताला फोड्दा वरपर थाहा पाउलान भन्ने डरले चोरले एउटा ताला फोड्न डेढ घण्टा लगाएको देखिएको छ । ताला काट्न सुरु गरेको व्यक्तिले दुई वटा ताला काट्न करिब साढे तीन घण्टा लगाएको फुटेजमा देखिएको दंगालको भनाइ छ । त्यसपछि पसल छिरेको उसले पसलभित्र ३० मिनेट बिताएको छ । ‘मध्यरात १२ः १५ बाट चोरले झण्डै चार घण्टा पसल चोर्न बिताएको रहेछ’ दंगालले भने ।

दंगालले अनलाइनखबरलाई उपलब्ध गराएको फुटेजअनुसार पसलमा छिरेपछि चोरले पसलको बत्ती बालेको छ र एक एक गरेर सामानहरु हेरेको छ । सबै सामान संकलन गरिसकेपछि ऊ सामान सटरको नजिकै राखेर सटर बाहर निस्कन्छ । त्यसपछि हात घुसाएर सबै सामान बाहिर निकाल्छ । चोरी गर्दै गर्दाको फुटेजमा ऊ आत्तिएको देखिंदैन ।

सीसीटीभी फुटेज उधृत गर्दै पसल सञ्चालक दंगाल भन्छन्, ‘चोरले जाने बेलामा सटर लगाइदिन पनि खोज्छ । तर, सटर लाग्दैन त्यसपछि बाटो लागेको देखिन्छ ।’

प्रहरी चौकीको सामुन्ने भएको चोरीको घटनापछि प्रहरीमा उजुरी दिएको दंगालले बताए । प्रहरीले सीसीटीभी फुटेजसहित हुलियाअनुसार चोरको खोजी जारी रहेको बताएको उनको भनाइ छ ।

प्रहरी वृत्त बूढानीलकण्ठले सीसीटीभी फुटेज हेरेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘हामी अनुसन्धान गरिरहेका छौं, छिट्टै पक्राउ पर्छ’ एक अधिकृतले भने ।

हेर्नुहोस् भिडियोः

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?