+
+

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेर होली खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते ७:२४

१५  फागुन, जनकपुरधाम । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा आज महाेत्तरीकाे भंगहा नगरपालिका-९ स्थित कञ्चनवन आइपुग्दै छ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन ८ गते सुरु भएको परिक्रमा आठौं दिन  कञ्चनवन आइपुग्ने भएको हो ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ  ।

तीर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख सञ्जीव साहलले जानकारी दिए।

कञ्चनवनमा त्रेतायुगमा सीता र भगवान् रामले एकआपसमा रंग अविर लगाइ होली मनाएको धार्मिक विश्वास छ।

यहाँ आउने श्रद्धालुले एकअर्कालाई रङ, अबिर दलेर होली शुभारम्भ गर्ने धार्मिक एवं पौराणिक परम्परा रहेको छ ।

तीर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित बिहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचा सरसफाइ गरी चिटिक्क पारिएको छ । परिक्रमा यात्रीले कञ्चनवमा होली खेलेपछि मिथिलामा यो पर्व विधिवत सुरु भएको मानिन्छ ।

आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री मंगलबार क्रमशः धनुषाको  पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।

जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् ।

जम्मा १३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमावासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।

परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?