+
+

दुनियाँका खरबपतिले कति कार्बन उत्सर्जन गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १०:२३

विश्व उष्णीकरण तथा अर्थात् विश्वको तापक्रम बढ्ने क्रम लगातार चलिरहेको छ । उष्णीकरण तथा जलवायु परिवर्तनको मुख्य कारक तत्वको रुपमा हरितगृह ग्याँसहरू रहेका छन् । हरितगृह ग्याँसहरूमध्ये पनि कार्बन डाइअक्साइड जलवायु परिवर्तनमा सबैभन्दा धेरै भूमिका खेलिरहेको ग्याँस हो । त्यसैले हरितगृह ग्याँस उत्सर्जनलाई सरल भाषामा कार्बन उत्सर्जन पनि भनिन्छ ।

विश्वमा चीन, अमेरिका, भारत, युरोपेली युनियन, रुस जस्ता देशहरू सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देशका रुपमा रहेका छन् । अर्थात् धनी देशहरु नै कार्बन उत्सर्जनका मुख्य कर्ता हुन् । एक अध्ययनले चाहिँ विश्वमा देशगत रुपमा भन्दा मानिसहरुको आर्थिक क्षमताका आधारमा कति कार्बन उत्सर्जन गर्दछन् भन्ने रोचक डाटा निकालेको छ । जस अनुसार विश्वमा धनी मानिसहरुको कार्बन फुटप्रिन्ट आमसर्बसाधारण मानिसहरुको भन्दा सयौं-हजारौं गुणा धेरै रहेको छ ।

आखिर कार्बन फूटप्रिन्ट भनेको के हो त ? वास्तवमा कुनै व्यक्ति, संस्था वा मुलुकले नियमित रुपमा जति कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ त्यसैलाई नै कार्बन फूटप्रिन्ट भनिन्छ । केवल कार्बन मात्र हेाइन मिथेन, नाइट्रस अक्साइड जस्ता अन्य विभिन्न विषाक्त ग्याँसहरू पनि मानिस विभिन्न गतिविधिहरुका क्रममा उत्सर्जन हुने गर्दछन् । ती सबैलाई संयुक्त रुपमा हरितगृह ग्याँस भनिन्छ, जो विश्वको तापक्रम बढाउनका लागि जिम्मेवार छन् ।

यी ग्याँसहरू हाम्रो जीवनशैलीबाट पनि निस्किने गर्दछन् । जस्तै हामीले के खान्छौं, के लगाउँछौं, हामीले कस्तो घुमफिर गर्छौं र कसरी छुट्टी मनाउँछौं, घुमफिरमा सार्वज्निक यातायात प्रयोग गर्छौं कि निजी भन्ने जस्ता कुराबाट पनि हामीले कति धेरै प्रदूषण गरिरहेका छौं भन्ने अनुमान गर्न सकिन्छ ।

शोधकर्ताहरुका अनुसार देश तथा केवल केही धनाढ्यहरुले मात्रै पनि यदि आफ्नो कार्बन फूटप्रिन्ट अलिकतिमात्रै कम गर्न सक्नेहो भने विश्व उष्णीकरणको गतिमा ठूलो ब्रेक लगाउन सकिन्छ । फ्रान्सको पेरिसस्थित वर्ल्ड इनइक्वालिटी ल्याबले यो विषयमा अध्ययन गरेको छ । उक्त अध्ययन अनुसार विश्वका केवल १० प्रतिशत मानिसहरु मात्रै कुल कार्बन उत्सर्जनको ५० प्रतिशत भन्दा धेरै हिस्साका लागि जिम्मेवार छन् । त्यस्तै सबैभन्दा धेरै धनी मानिसहरुको कार्बन फूटप्रिन्ट सर्वाधिक छ ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयस्थित मानवशास्त्र विभागका शोधकर्ताहरुले विश्वका कुन कुन खर्बपतिहरुको फूटप्रिन्ट सबैभन्दा धेरै छ भनेर अध्ययन गरे । त्यसका लागि उनीहरुले सन् २०२० को फोब्र्सको सूचिमा रहेका २०९५ जना खर्बपतिहरुमाथि सर्भे गरे । यद्यपि धेरै धनाढ्य व्यापारी हरुकेा निजी जिवन तथा सुख सुविधाका बारेमा पर्याप्त जानकारीहरु सार्वजनिक वृत्तमा जानकारी नभएका कारण उक्त अध्ययनको निष्कर्ष पूर्ण छैन । तथापि सो अध्ययनले केही महत्वपूर्ण खुलासा भने गरेको छ ।

रुसी नेता तथा व्यापारी रोमन अब्रामोविचको नाम विश्वमा सबैभन्दा धेरै प्रदूषण फैलाउन व्यक्तिकेा रुपमा रहेको छ । करिब २० खर्ब डलरका मालिक रोमनको व्यापार केवल रुसमा मात्र होइन विश्वका धेरै देशमा फैलिएको छ ।

लण्डनको चेल्सी फुटबल क्लबका मालिक रहेका रोमनको मूख्य व्यवसाय तेल तथा ग्याँस हो । उनले आफ्नो व्यवसायमा धेरै वातावरणीय मापदण्डलाई नजरअन्दाज गर्ने गरेका धेरै प्रदूषण फैलाउने गरेको आरोप लाग्ने गरेको छ ।

ती रुसी खर्बपतिको कार्बन फूटपि्रन्ट निजी जीवनमा पनि अत्यधिक छ । उनीसँग कैयन् निजी जेट विमान तथा सामुद्रिक याच छन् । उनीसँग एउटा कस्टमाइज्ड बोइङ ७६७ छ जसमा ३० सिटर डाइनिङ रुम पनि छ । त्यसैले ती रुसी खर्बपतिले हावा र पानी दुवैमा प्रदूषण फैलाइरहेका छन् निजी स्तरमा पनि । सन् २०१८ मा मात्रै रोमनले आफ्ना निजी जिवनको ऐशआरामका लागि करिब ३४ हजार मेट्रिक टन कार्बन उत्सर्जन गरेका थिए ।

उनीपछि अरु धेरै व्यापारीहरुकेा नाम आउँछ जसले आफ्नो जीवनशैलका कारण अधि कार्बन उत्सर्जन गर्दछन् र बढ्दो विश्व उष्णीकरणका लागि जिम्मेवार छन् । यद्यपि धेरै खर्बपतिहरुले सुरक्षा चुनौतीका कारण आफ्नो जीवनशैलीका कुरा लुकाएर राख्दछन् । त्यसैले कुन खर्बपतिको कार्बन फूटप्रिन्ट ठ्याक्कै कति छ भनेर मापन गर्न कठिन हुन्छ ।

अक्सफामले गत नोभेम्बरमा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार विश्वका १२५ जना डलर अर्बपतिहरुले नै वार्षिक करिब ४० करोड मेट्रिक टन कार्बन उत्सर्जन गरिरहेका छन् । सन् २०२१ मा विश्वको वार्षिक कार्बन उत्सर्जन करिब ३७ अर्ब डलर थियो । अर्थात् संसारका सवा सय खर्बपति एकातिर र बाँकी जनसंख्या एकातिर । यति हुँदा पनि उनीहरुले अझै चेतिरहेका छैनन् ।

विश्व उष्णीकरणका लागि जिम्मेवार ती धनाढ्यहरुलाई उनीहरुको जिम्मेवारी स्मरण गराउनका लागि पश्चिमा विश्वमा बेलाबेलामा विभिन्न खालका अभियान चलाइरहन्छन् । जस्तै सन् २०१४-१५ मा क्यालिफोर्नियामा ठूलो खडेरी पर्‍यो ।

मानिसहरु पानी तथा खाद्यान्नको कमीसँग जुधिरहेका थिए । तर त्यहीँबेला धनाढ्यहरुले चाहीँ यस्ता गतिविधिहरु गरिरहेका थिए जसले पानीको अत्यधिक खर्च भैरहेको थियो । त्यस परिस्थितिमा त्यहाँका मिडिया तथा आम मानिसहरुले Drought Shaming नाम अभियान चलाए । उनीहरुले गाडी धुने, घर बाहिरकेा दूँबो हरियो बनाउने तथा पौडी खेल्ने जस्ता धनीहरुका क्रियाकलापलाई गिज्याउन थाले ।

त्यस्तै स्विडेनमा ३ वर्षअघि एउटा नयाँ शव्द प्रचलनमा आयो -Flygskam अर्थात् फ्लाइंग शेम । कम दूरीमा पनि हवाई यात्रा गर्ने मानिसहरुको विरुद्धमा उक्त अभियान लक्षित थियो । त्यसको निकै राम्रो प्रभाव पर्यो र मानिसहरुले छोटो दूरीका लागि बस वा रेलबाट यात्रा गर्न लागे ।

यात्राका क्रममा निस्कने कार्बनका विषयमा पनि विभिन्न अध्ययन भएका छन् । यस्तै एक अध्ययन अनुसार विश्वमा वर्षैनी उत्सर्जन हुने कूल कार्बनको झण्डै १० प्रतिशतमा यात्राहरुको हात रहेको छ ।

सजिलो भाषामा भन्नुपर्दा तपाइँ लण्डन देखि न्युयोर्कसम्मको हवाई यात्रामा जति कार्बन उत्सर्जन हुन्छ त्यो कार्बन शोषण गर्नका लागि एक एक्कड जमिनमा फैलिएको घना जंगललाई पूरै एक वर्ष लाग्दछ । त्यसैले हवाई यात्रा पर्यावरणका लागि निकै खतरनाक छ । अनि धनाढ्यहरु निजी जहाज राखेर प्रदुषणलाई चरम विन्दुमा पूराइरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?