+
+

सुवास रेग्मीविरुद्ध उजुरी दिने आचार्य भन्छन्- स्रष्टा, कलाकारको न्यायका लागि मेरो लडाइँ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १३:५९

काठमाडौं । गत सोमबार (फागुन ८ गते) थाइल्याण्डबाट नेपाल फर्किंदै गरेका विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । साइबर अपराधको अपराधमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

रेग्मीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या हुनेगरी घृणित पोस्ट गरेको भन्दै गीतकार तथा स्रष्टा अधिकारकर्मी महेश आचार्यले उजुरी दिएका हुन् । रेग्मीले यसअघि पनि विभिन्न स्रष्टा तथा कलाकारमाथि सामाजिक सञ्जालमार्फत अपमानजनक टिप्पणी गर्दै आएको देखिन्छ ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक-गायिकासँग उनको विवाद देखिएको छ ।

असभ्य र अपमानजनक टिप्पणी गरेको भन्दै यसअघि पनि ५७ जना स्रष्टा तथा कलाकारले रेग्मीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा ध्यानाकर्षण समेत गराएका थिए ।

सुवास रेग्मी मात्र होइन, यो प्रवृत्तिविरुद्ध मेरो लडाइँ : महेश आचार्य

गीतकार तथा स्रष्टा अधिकारकर्मी महेश आचार्यले अपमानजनक टिप्पणी नरोकिएपछि बाध्य भएर सुवास रेग्मीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको बताए ।

‘फेसबुकलगायत सामाजिक सञ्जालमा घृणित ढंगले अपमान कार्य निरन्तर भएपछि बाध्य भएर मैले सुवास रेग्मीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएँ,’ अनलाइनखबरसँग गीतकार रेग्मीले भने, ‘उनीविरुद्ध पहिले पनि नेपालका ५७ जना स्रष्टा तथा कलाकारले ध्यानाकर्षण गराउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए । तर उनको प्रवृत्ति फेरिएन ।’

रेग्मीले नारायणगोपाल र भक्तराज आचार्यजस्ता सम्मानित गायकलाई समेत अपमान गर्न नछाडेको आचार्य बताउँछन् । ‘उनले दिवंगत स्वरसम्राट नारायणगोपाल, भक्तराज आचार्यलाई समेत अपमान गर्नै छाडेनन् । उहाँहरुलाई अपमान गर्नुपर्ने कारण के ?’ उनी प्रश्न गर्छन् ।

रेग्मीले गायकहरुलाई अपमानजनक शब्द राखेर पोस्ट गर्ने, वाद्यवादकलाई पनि त्यस्तै टिप्पणी गर्ने गरेको उनको आरोप छ । ‘मलाई त अझ महेश आचार्य भनेको भुस्याहा कुकुर हो भनेर लेखेका छन् । स्रष्टा अधिकारको विषयलाई जोडतोडले उठाएकै कारण ममाथि यस्तो अपमानजनक टिप्पणी भएजस्तो लाग्छ । यी सबैको प्रमाण मसँग छ ।’

आचार्यले आफू अहिले न्यायको लडाइँमा रहेको रहेको बताए । ‘प्रहरी प्रशासनले मेरो कुरा सुन्यो, साइबर ब्युरोले निकै सहयोग गर्‍यो । म अहिले न्यायको लडाइँमा छु । सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने विरुद्ध बोल्नुपर्छ भन्ने आग्रह पनि हो,’ उनी भन्छन्, ‘सम्पूर्ण स्रष्टा, कलाकारको प्रतिनिधि पात्रको रुपमा न्यायको लडाइँ लडिरहेको छु ।’

सुवास रेग्मी रोयल्टी संकलन समाजको उपाध्यक्ष समेत हुन् । त्यसैकारण पनि प्रतिििलपि अधिकार, स्रष्टा अधिकार र रोयल्टीको आवाज उठाउनेहरुविरुद्ध उनी नियोजित ढंगले लागेको आचार्यको दाबी छ ।

रेग्मीको यस्तो हर्कतले हरेक कलाकारलाई अप्ठ्यारो परिरहेको उनी बताउँछन् । यो नेपाली स्रष्टा, कलाकारमाथिको ठूलो आक्रमण भएको उनी बताउँछन् ।

‘बिहान उठेर साधना गर्ने गायकलाई बिहानै यस्तो लेखिदिएछ भनेर साथीले फोन गर्छ । अनि उसलाई रियाज गर्न कसरी जाँगर चल्छ होला ? यो व्यक्तिभन्दा पनि प्रवृत्ति हो, उनलाई कानुनी कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रतिलिपि अधिकारकै विषयलाई लिएर बारम्बार उठ्ने विवादको निरुपण गर्न पनि आचार्यले केही सुझाव दिएका छन् । यसका लागि राज्यले संगीत बोर्ड गठन गर्नुपर्ने, केन्द्रीय सर्भर बनाएर त्यसैमार्फत रोयल्टी संकलन गरेर वितरण गर्नुपर्ने उनको सुझाव छ । ‘धेरै जना अग्रज कलाकारलाई यस विषयमा जानकारी पनि छैन । उहाँहरुलाई सचेत गराउनुपर्छ,’ आचार्य भन्छन् ।

पुराना गीतहरु डिजिटल प्लेटफर्ममा पुगेपछि यसको सर्वाधिकारको विषयलाई लिएर पनि विवाद सिर्जना हुने गरेको उनी बताउँछन् । ‘म्युजिक कम्पनीलाई त वितरण गर्न मात्रै दिइएको हुन्छ, तर लगेपछि ५०० भन्दा बढी प्लेटफर्ममा वितरण हुन्छ । आम्दानी चाहिं युट्युबको मात्रै देखाउँछन् । अन्य डिजिटल माध्यमबाट आएको आम्दानी बुझ्ने कमै होलान्,’ उनी भन्छन्, ‘डिजिटल प्लेटफर्ममा बिक्री वितरण गरेको मेरो भाग देऊ भनेका हुन् स्रष्टा, कलाकारले । आम्दानी पारदर्शी गर । यही विषय उठाउँदा अपमानजनक टिप्पणी गर्ने प्रवृत्ति देखियो ।’

उनी थप्छन्, ‘कालजयी सिर्जना सरकारसँग हुनुपर्ने हो, म्युजिक कम्पनीमा यसको सर्वाधिकार हुनु विडम्बनापूर्ण छ ।’

साइबर अपराधको आरोपमा पक्राउ परेका रेग्मीमाथि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?