+
+
Shares

आर्थिक क्षेत्रमा वृहत्तर सुधार अपरिहार्य

सार्वजनिक संस्थान सुधारको आवश्यकता अपरिहार्य छ । वित्तीय क्षेत्रमा रकम थुप्रिरहेको छ, तर उद्यमी र व्यवसायहरू कर्जा माग्न गएका छैनन् । बैंकमा ७ खर्बभन्दा धेरै पैसा छ । तर ऋण लिन, लगानी गर्न उद्यमीहरूमा जागर छैन ।

महेश आचार्य महेश आचार्य
२०८२ वैशाख २५ गते ११:१०

२०४८ सालमा मैले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा नेपाल पञ्चायतकालीन व्यवस्थाबाट मुक्त भई लोकतन्त्रको फराकिलो आँगनमा प्रवेश गरेको समय थियो । गिरिजा बाबु (गिरिजाप्रसाद कोइराला) नेतृत्वको सरकार थियो । हालका पार्टी सभापति शेरबहादुर देउवा गृहमन्त्री र डा. रामशरण महत योजना आयोगमा हुनुहुन्थ्यो ।

बहुदलीय व्यवस्थापछि गठन भएको त्यसबेलाको सरकारले आर्थिक सुधारका प्रक्रिया प्रारम्भ गर्‍यो । उद्योग–वाणिज्य र व्यावसायिक क्षेत्रले आर्थिक सुधारका लागि स्वतन्त्रताको अपेक्षा राखेको थियो । राज्यको अत्यधिक नियन्त्रण र हस्तक्षेपबाट मुक्त लगानीका निम्ति उत्प्रेरणा दिने यथेष्ट आधारहरू खोजी भएका थिए ।

सरकारको नीति कानुनी संरचना र संवैधानिक प्रबन्ध मात्रै होइन, प्रशासनिक क्षेत्रमा एउटा व्यापक सुधारको दृष्टिकोणले हामीले कामको सुरुवात गर्‍यौं । पञ्चायतका अन्तिम वर्षहरूमा ‘म्याक्रो इकोनोमिक स्टाबिलिटी’ का गम्भीर चुनौतीहरू थिए । अहिलेकै जस्तो सरकारी खर्चको वृद्धिदर तीव्र थियो । राजस्व परिचालनको दर सन्तोषजनक थिएन । वित्तीय घाटा जीडीपीको अनुपातमा लगातार बढिरहेको थियो । झन्डै १५–१६ वर्षको तथ्यांक केलाएर हेर्दा देशको आर्थिक वृद्धिदर ३ प्रतिशत हाराहारी थियो । जनसंख्या वृद्धिदर झन्डै २.६ प्रतिशत हाराहारीमा थियो ।

आम मानिसमा देखिने गरी परिवर्तन हुन सकेको थिएन । म्याक्रो इकोनोमिकमा गम्भीर संकेतहरू देखिएका थिए । वित्तीय घाटा बढिराखेको र ब्यालेन्स अफ पेमेन्टमा पनि तलमाथि भइरहेको अवस्था थियो ।

२०३९ देखि २०४२ सालसम्मका आर्थिक वर्षको आर्थिक अवस्था लगातार नकारात्मक दिशामा थियो । २०४५ सालमा गएको भूकम्प र भारतसँगको व्यापारमा आएको अवरोधले अर्थतन्त्र जोखिम अवस्थामा थियो । २०४२ सालमा पञ्चायतले केही सुधार गर्न खोजे पनि त्यो लाक्षणिक थियो । जनसंख्याको ठूलो हिस्सा (४२.५ प्रतिशत) गरिबीको रेखामुनि थियो ।

चुनौतीकै बीचमा बनेको गिरिजा बाबु नेतृत्वको सरकारले ‘म्याक्रो इकोनोमिक सेक्टर’मा आमूल सुधार गर्नुपर्ने आवश्यकता थियो । त्यसबाहेक केही क्षेत्रमा समस्याहरू संस्थागत थिए । विदेशी मुद्रा साटफेरमा अत्यधिक रूपमा राज्यको नियन्त्रण थियो । सरकारलाई रिझाएर विदेशी मुद्रा प्राप्त गर्नुपर्ने अवस्था थियो । उद्योग–धन्दा, कल–कारखाना, व्यवसाय फस्टाउन सक्ने अवस्था थिएन ।

गिरिजा बाबुको बलियो नेतृत्वमा हामीले आर्थिक सुधारको प्रक्रिया प्रारम्भ गर्‍यौं । एउटा मन्त्रालयको अग्रसरताले मात्रै सुधारका कार्य भएको थिएन । आंशिक रूपमा यदाकता ‘म्याक्रो इकोनोमिक रिफर्म’को अजेन्डा मात्र होइन, थुप्रै स्ट्रक्चरल सुधारका लागि काम गर्‍यौं । लगानीको वातावरण बनाउन, व्यापारको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न, निर्यात व्यापारमा गुणात्मक परिवर्तन गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न अग्रसरता लियौं ।

आर्थिक सुधारका लागि नीतिहरू सुधारिनु पर्छ । राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सकेको छैन । मोनेटरी पोलिसीले लगातार बल प्रदान गर्नुपर्ने बेलामा गभर्नर नियुक्त हुन सकेको छैन । यो दुरावस्था सुधारका ‘पिलर स्ट्रङ पोलिटिकल कमिटमेन्ट र लिडरसिप स्ट्रङ पोलिटिकल कमिटमेन्ट’ भएन आर्थिक सुधारको प्रक्रिया अगाडि बढाउन कठिन हुन्छ

कागज बोकेर आफूलाई भेट्न आउनेहरू देखेपछि गिरिजा बाबुलाई त्यस्तो उपाय होला, जसले नेपाललाई छोटो अवधिमा रुपान्तरण गर्नसक्छ भन्ने लाग्यो । प्रशासन संयन्त्रमा बसेका मान्छेहरूलाई जनताका अप्ठ्यारा समाधान गर्न भन्नुहुन्थ्यो । सरकारी निकायबाट गर्नुपर्ने काममा जनता, उद्यमी, व्यवसायीलाई कानुनी समस्या भए तत्काल परिवर्तन गराउन गिरिजाबाबु भन्नुहुन्थ्यो । एउटा युगान्तकारी परिवर्तनको आधारभूमि तयार गर्न उहाँको योगदान रह्यो ।

कांग्रेस नेतृत्वमा आर्थिक सुधारको बहस आवश्यक

आर्थिक क्षेत्रमा वृहत्तर सुधार आवश्यक छ । कांग्रेसका सभापति देउवाले एमाले, माओवादीका नेतालाई सँगै राखेर नेपाल हिँड्ने अबको आर्थिक बाटोमा छलफल गर्नुपर्छ । राज्य नियन्त्रित अर्थ व्यवस्थाको कल्पना गर्न सकिँदैन । अर्थतन्त्र सुधारका लागि दर्बिलो अडानका साथ सभापतिले अरु दलका नेताहरूसँग कुरा गर्नुपर्छ । आर्थिक दुरावस्थाको दलदलबाट देशलाई निकाल्न बहस हुनुपर्छ ।

अर्थतन्त्रप्रतिको बुझाइमा एमाले २०४८ सालको जस्तो छैन । माओवादी शान्ति प्रक्रियाको बेलाको जस्तो छैन । ३६० डिग्रीमा रुपान्तरण भइसकेको देख्छु । पार्टीका नेताहरू एक ठाउँमा उभिएर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा समेत यो सिग्नल जाने गरी नेपालले लिने पोलिटिकल फोर्स के हुने भनेर बहस गर्न सक्नुहुन्छ । निजी क्षेत्रले आफ्ना समस्याबारे पार्टीका नेताहरूसँग निरन्तर बहस गर्नुपर्छ । आर्थिक सुधारको बाटो यसको समग्र ‘डाइमेन्सन’लाई समाएर अगाडि बढ्नुपर्छ ।

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेललाई दिनुपर्ने सुझावहरू मसँग अहिले छैन । मेरो सुझाव कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूलाई छ । एउटा यस्तो बलियो नेता, आर्थिक अजेन्डामा गम्भीर ढंगले प्रतिबद्ध भएर देशलाई नेतृत्व गर्नुहोस् भन्ने मेरो प्रस्ताव सभापतिसँग छ ।

कांग्रेसको सभापति पार्टीको अंकगणित मिलाएर बनेको सभापति मात्र होइन । कांग्रेसको सभापति भनेको अत्यन्त कठिन अवस्थाबाट देश र जनताको भावनालाई प्रतिनिधित्व गर्दै देशलाई अप्ठ्यारोबाट निकाल्ने नेता पनि हो ।

आज आर्थिक सुधारको प्रक्रियामा अवरोध आएजस्तो देखिन्छ । जुन खुलापनको बाटोमा हाम्रा आर्थिक नीति र कार्यक्रमहरू अगाडि बढिराखेका छन्, त्यसमा समस्या रहेको निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने साथीहरूले भनिरहनुभएको छ । उद्योग वा व्यवसायमा ‘इन्ट्री र एक्जिट’ गर्नका निम्ति अवरोधहरू विद्यमान छन् । त्यसलाई समाधान गर्‍यौं भने थुप्रै समस्याको निराकरण हुन्छ ।

सार्वजनिक संस्थानहरूको सुधार गर्नका लागि निम्ति निजीकरणको प्रक्रियालाई अगाडि बढायौं । त्यसका बारेमा आज पनि सैद्धान्तिक बहस हुँदै आएको छ । आज ३२ वर्ष पछाडि म यही बहस देख्छु ।

सार्वजनिक संस्थान सुधारको आवश्यकता अपरिहार्य छ । वित्तीय क्षेत्रमा रकम थुप्रिरहेको छ, तर उद्यमी र व्यवसायहरू कर्जा माग्न गएका छैनन् । बैंकमा ७ खर्बभन्दा धेरै पैसा छ । तर ऋण लिन, लगानी गर्न उद्यमीहरूमा जागर छैन ।

सरकारसँग पनि पैसा छ । तर विकासको रकम खर्च गर्ने क्षमता छैन । कृषिमा ठूलो जनसंख्या आश्रित छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा गुणात्मक परिवर्तन नगरी रोजगारी प्रवद्र्धन हुन सक्दैन । देश बाहिर काम गरिराखेकाले आर्जन गरेको रकम लगानी गर्ने हैसियत नेपालीहरूको छैन । उनीहरूले नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने नीतिगत प्रबन्ध हुन सकिराखेका छैनन् ।

ऋणको सावाँ–ब्याज भुक्तानी गर्नुपर्ने दायित्व बढ्दै गएको छ । यो कुरालाई समाधान नगर्ने हो भने दिगो विकास लक्ष्य पूरा हुन सक्दैन । दिगो विकास लक्ष्य प्राप्त गर्ने आर्थिक स्रोत कहाँबाट हुने ?

आर्थिक पुर्नसंरचनाको बहस कांग्रेसमा पनि आवश्यक छ । बीपीले राज्य नियन्त्रित अर्थ व्यवस्थाको पक्षपोषण गर्नुभएन । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धपछिका विकास बहसको उहाँ साक्षी हुनुहुन्छ । हिन्दुस्तानमा भइराखेको समाजवादी विकास बहसमा उहाँ अभ्यस्त हुँदै जानुभयो । गान्धीका विचारहरूले बिपीको विचारमा ठूलो परिवर्तन आएको थियो । उहाँले जंगलको राष्ट्रियकरण, जमिन्दारी प्रथा उन्मुलनसहित बलियो राज्यको परिकल्पना गर्नुभएको थियो ।

राजनीतिक परिवर्तन र आर्थिक सुधारको अगुवाइ गर्ने दल कांग्रेसले आर्थिक पुनर्संरचनामा पनि अग्रसरता लिनुपर्छ । आर्थिक पुनर्संरचनाको प्रक्रिया ३२ वर्षअघि कांग्रेसले अगाडि सारेको हुनाले अहिले पनि अगुवाइ गर्नुपर्छ ।

रेमिट्यान्स आउने देशमा समस्या आयो भने ?

हामी अहिले ‘ब्यालेन्स अफ पेमेन्ट’मा केही समस्या छैन भनिरहेका छौं । तर यो सुविधाको अवस्था रेमिट्यान्सका कारणले भएको हो । रेमिट्यान्स जुन–जुन मुलुकहरूबाट आइरहेको छ, ती मुलुकमा समस्या सिर्जना हुँदा हाम्रो अर्थतन्त्र थर्मधराउन सक्छ । यो परिस्थितिसँग जुध्न आन्तरिक सुधार वा प्रक्रिया गर्न सकेका छैनौं ।

‘नेपाल राम्रो छ, हिमाल छ, सगरमाथाको देश’ भनेर मात्रै समस्याको समाधान हुँदैन ।  राज्य नियन्त्रित अर्थ व्यवस्थाबाट अघि नबढ्ने हो भने सरकारलाई सुधार गर्नुपर्‍यो । सरकारको अनुत्पादक खर्च कटौती गरेर एक÷एक पैसा जनताको हितको निम्ति खर्च गर्ने राज्य बनाउनुपर्‍यो ।

आर्थिक सुधारका लागि नीतिहरू सुधारिनु पर्छ । राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सकेको छैन । मोनेटरी पोलिसीले लगातार बल प्रदान गर्नुपर्ने बेलामा गभर्नर नियुक्त हुन सकेको छैन । यो दुरावस्था सुधारका ‘पिलर स्ट्रङ पोलिटिकल कमिटमेन्ट र लिडरसिप स्ट्रङ पोलिटिकल कमिटमेन्ट’ भएन आर्थिक सुधारको प्रक्रिया अगाडि बढाउन कठिन हुन्छ ।

अत्यन्त न्यून पुँजीगत खर्च छ । हाम्रो चालु खर्च बढिराखेको छ । राजस्व लक्ष्यअनुसार परिचालन हुँदैन । हामी वित्तीय घाटामा गइराखेको छौं । सरकारले पुँजीगत खर्च गरेर र निजी क्षेत्र प्रात्साहित हुनेगरी रकम प्रवाह हुने परिस्थिति बनिराखेको छैन । तर अनुत्पादक खर्च धान्न ऋण लिइराख्नुपर्ने बाध्यता छ ।

ऋणको सावाँ–ब्याज भुक्तानी गर्नुपर्ने दायित्व बढ्दै गएको छ । यो कुरालाई समाधान नगर्ने हो भने दिगो विकास लक्ष्य पूरा हुन सक्दैन । दिगो विकास लक्ष्य प्राप्त गर्ने आर्थिक स्रोत कहाँबाट हुने ? त्यसका लागि अनुमानित ७ खर्ब ५५ अर्ब लाग्ने आकलन गरिएको छ । अरु पार्टीका नेताहरूलाई भन्नुपर्छ, सरकार सँग पैसा छैन भनेर । विदेशी लगानी भित्रन सकेन भने लक्ष्य भेट्न सकिँदैन । अन्तर्राष्ट्रिय सहायता प्रवर्द्धन गर्न कोसिस गर्नुपर्छ ।

हिन्दुस्तानले सन् १९८० मा आर्थिक सुधारको प्रक्रिया प्रारम्भ गर्दा ४/५ प्रतिशतको आर्थिक वृद्धिदर थियो । मनमोहन सिंहले आर्थिक सुधारको प्रक्रिया प्रारम्भ गरिसकेपछि १५/२०.८ प्रतिशतको आर्थिक वृद्धिदरको हारहारी पुग्यो ।

मोदीले नेतृत्व गरिसकेपछि विश्वको पाँचौ ठूलो अर्थतन्त्र रहेको हिन्दुस्तान अब तेस्रो ठूलो अर्थतन्त्रको रूपमा जाने तयारीमा छ । निरन्तर सुधारको प्रक्रियाले हिन्दुस्तानको अर्थतन्त्रमा गुणात्मक परिवर्तन भएको छ । अन्तर्राष्ट्रिय व्यापारमा भएका प्रतिबन्धहरू खुला हुँदा हिन्दुस्तानमा आर्थिक सुधारको प्रक्रिया एउटा महत्वपूर्ण पाटो थियो । त्यसैले नेपालमा पनि करको क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने अनिवार्य भएको छ ।

(नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री आचार्यले पार्टीको आर्थिक नीति तथा योजना विभागले मंगलबार राखेको संवाद गोष्ठीमा राखेको विचार ।)

लेखक
महेश आचार्य

नेपाली कांग्रेस नेता आचार्य पूर्व अर्थमन्त्रीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?