+
+

इंग्ल्याण्डमाथि न्युजिल्याण्डको १ रनको रोमाञ्चक जित, टेष्ट सिरिज बराबरीमा सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १०:०१

१६ फागुन, काठमाडौं । टेष्ट क्रिकेट इतिहासमै उत्कृष्टमध्ये एक रहेको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डमाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।

वेलिङटनस्थित बेसिन रिभर्जमा जितका लागि २५८ रनको लक्ष्य पछ्याएको इंग्लिस टोलीले ७४.२ ओभर खेल्दै सबै विकेट गुमाएर २५६ रनमा अलआउट भयो ।

न्युजिल्याण्डलाई रोमाञ्चक जित दिलाउन निल वाग्नरले अन्तिम विकेट लिएका थिए ।

इंग्ल्याण्ड जित नजिक पुगे पनि वाग्नरले जेम्स एन्डरसनलाई विकेटकिपर टम ब्लन्डलबाट क्याचआउट गराउँदै न्युजिल्याण्डलाई सनसनी जित दिलाए । वाग्नरले कुल ४ विकेट लिए । टिम साउथीले तीन र म्याट हेनरीले दुई विकेट लिए ।

इंग्ल्याण्डका जो रुटले सर्वाधिक ९५ रन बनाए । विकेटकिपर बेन फोएक्सले ३५ रन जोडे ।

टेष्ट क्रिकेटमा ३० वर्षपछि पहिलो पटक १ रन अन्तरले नतिजा छिनोफानो भएको हो । सन् १९९३ मा वेष्ट इन्डिजले अष्ट्रेलियालाई १ रनले पराजित गरेको थियो ।

न्युजिल्याण्डले पहिलो इनिङ्समा फलो अन मा परेर पनि शानदार पनारगमन गर्दै जित निकालेको हो । फलो अनमा परेर पनि जित निकाल्ने न्युजिल्याण्ड चौथो टोली बन्यो ।

यसअघि सन् १९८४ र १९८१ मा इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्ध तथा २००१ मा भारतले अष्ट्रेलियाविरुद्ध फलो अनमा पर्दा पनि जित निकालेका थिए ।

यस पटक न्युजिल्याण्डको जितको कथा पनि नाटकीय रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा जो रुट र ह्यारि ब्रुकको शतमा ८ विकेट गुमाएर ४३५ रन बनाउँदै इनिङ्स डिक्लेयर गरेको थियो ।

न्युजिल्याण्ड भने पहिलो इनिङ्समा २०९ रनमै अलआउट हुँदै फलो अनमा पर्‍यो ।फलो अनमा परेपछि फेरि ब्याटिङ गरेको न्युजिल्याण्डले केन विलियमसनको १३२ र टम ब्लन्डेलको ९० रन मद्दतमा दोस्रो इनिङ्समा ४८३ रन बनायो ।

न्युजिल्याण्डले दोस्रो इनिङ्समा उच्च स्कोर बनाएपछि इंग्ल्याण्डले जितका लागि चौथो इनिड्ड्समा २५८ रनको लक्ष्य पाएको थियो ।

४८/१ बाट पाँचौ दिनको खेल अगाडि बढाएको इंग्ल्याण्ड २५६ रनमै अलआउट भयो ।

रोमाञ्चक जित निकालेपछि न्यजुलियाण्डले दुई खेलको टेष्ट सिरिज एक/एक को बराबरी गरेको छ । पहिलो टेष्ट इंग्ल्याण्डले २६७ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?