+
+

दाँतलाई सफा र सेतो कसरी बनाउने ?

डा. सुवास घिमिरे डा. सुवास घिमिरे
२०७९ फागुन १६ गते १३:१९

स्वस्थ शरीरको अनिवार्य सर्त हो, सफा दाँत । यस किसिमको दाँतले मान्छेको सौन्दर्य पनि खुल्छ । त्यसैले त दाँतलाई सफा अनि सेतो बनाउने प्रयत्न गर्छौं हामी ।

हुन त दाँतको आफ्नै प्राकृतिक रंग हुन्छ । कुनै सेतो हुन्छ त कुनै पहेंलो पनि । दाँतलाई सेतो बनाउने विधि पनि हुन्छ । दाँतको अवस्था हेरेर दाँत स्केलिङ (दाँत सफा गर्ने विधि) गरेर ब्लिच, कम्पोजिट भर्ने र पोलिसबाट दाँत सेतो बन्छ । जन्मिंदै कालो वा पहेंलो रङको दाँतको बाहिरी र भित्री भागमा सेतो पार्न ब्लिचिङले मद्दत गर्छ ।

ब्लिज गर्दा पनि सेतो नहुने दाँतलाई कम्पोजिट भरेर सेतो बनाउन सकिन्छ । दाँत जस्तो प्राकृतिक देखिनेगरी दाँतमा रङ भरेर वा पोलिस गरेर दाँत सेतो बनाउन सकिन्छ ।

जथाभावी टुथपेस्ट प्रयोग नगरौं

दाँतलाई सेतो बनाउने एभ्रेसिभ टुथपेस्टहरु बजारमा जति पनि छन् । तर त्यसको प्रयोगले दाँत बढी घोट्ने हुँदा प्राकृतिक इनामेल जान सक्छ  । जसकारण सकेसम्म त्यस्ता मञ्जनको प्रयोग गर्नुहुँदैन । त्यसैले दन्त चिकित्सकको सल्लाहमा मात्र मञ्जन लिनु उपयुक्त हुन्छ ।

टुथपेस्ट प्रयोग नगर्दा पनि हुन्छ ?

दाँत सफा गर्ने प्रमुख भूमिका ब्रसको हो । दाँत तथा मुखमा कुनै समस्या छैन भने मञ्जन प्रयोग नगरी पनि दाँत माझ्न सकिन्छ । तर ब्रसले मात्र दाँत माझ्दा फिज नआउने र घोट्दा खासै मज्जा आउँदैन । ब्रसले मात्र भन्दा मञ्जनले नै हालेर दाँत माझ्ने बानी भए कुनैपनि जेलयुक्त मञ्जन मात्र प्रयोग गर्नुपर्छ । जसले दाँत घोटिंदैन । कीराले दाँत खाएको, फ्लोराइड भएको, दाँत सिरिङ हुने हुन्छ भने एन्टीसेन्सेटिभ मञ्जन प्रयोग गर्न सकिन्छ । चिकित्सकको सल्लाहमा मेडिकेटेड मञ्जन प्रयोग गर्नुपर्छ ।

कस्तो ब्रस ?

सामान्यतया बजारमा सफ्ट, एक्स्ट्रा सफ्ट, अल्ट्रा सफ्ट, हार्ड र एक्स्ट्रा हार्ड ब्रस हुन्छन् । यीमध्ये कुनै किसिमको दन्त समस्या छैन भने अल्ट्रा सफ्ट ब्रस प्रयोग गर्न सकिन्छ । अल्ट्रा सफ्ट ब्रस एकदमै नरम हुन्छ ।

कीरा लाग्ने समस्या भएमा मिडियम ब्रस, गिजामा समस्या भए नरम खालको ब्रस चिकित्सकको सुझावअनुसार प्रयोग गर्नु उचित हुन्छ ।  ब्रस किन्दा त्यसको खोलमा ब्रसको प्रकार लेखिएको छैन भन्ने प्रयोग गर्नुहुँदैन । ब्रसको प्रयोग अवधि ९० दिन लेखिएपनि ५० देखि ६० दिनसम्म प्रयोग गर्नुपर्छ ।

दाँत कसरी माझ्ने ?

दाँतको गाला, जिब्रो, तालुको क्षेत्र, टोक्ने भाग र दुई दाँतको बीच गरेर पाँच भागमा ब्रस पुर्‍याएर माझ्नुपर्छ । दाँत र गिजाको अवस्था नबिग्रिने गरी तलमाथि नगरी तलको भाग र माथिको भागमा अलग–अलग ब्रस गर्नुपर्छ । दुई दाँतको बीचमा पनि ब्रस गर्नु आवश्यक हुन्छ । त्यसको लागि इन्टर डेन्टल ब्रसको प्रयोग गर्नुपर्छ । दुई दाँतको बीचमा ग्याप छैन भने डेन्टल फल्सको प्रयोगले सफा गर्नुपर्छ । यसरी माझ्यो भने दाँतमा समस्या कम आउँछ ।

दिनमा कति पटक र कति अवधि ब्रस गर्ने ?

दाँत माझ्नका लागि पाँच मिनेटको समय छुट्याउनुपर्छ । दाँत दुईदेखि तीन मिनेटसम्म माझिसक्ने र त्यसपछि दुई मिनेट जिब्रोलाई नरम ब्रसले सफा गर्नुपर्छ । गिजालाई मसाज गरेमा दाँत र मुख स्वस्थ हुन्छ ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि गरेर दिनमा कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । त्यस्तै दिनभर केही खानेकुरा खाइएको छैन भने पनि दिउँसो एकपटक दाँत माझ्न जरुरी हुन्छ । केही नखाँदा हानिकारक जीवाणु जम्मा हुन्छ, जसले श्वास गन्हाउने र गिजालाई पनि असर गर्छ ।

दाँतलाई सफा र बलियो बनाउन के गर्ने ?

मुख स्वास्थ्य राम्रो बनाउन भनेको समग्र स्वास्थ्य राम्रो बनाउनु पनि हो । त्यसैले दाँत सफा र बलियो बनाउन मुखको व्यायाम गर्ने, नियमित दाँतको पाँच भाग सफा हुनेगरी माझ्ने, तीन महिनादेखि ६ महिनाको अवधिमा दन्त चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ । यस्तै साताको एकपटक दाँत वा मुखमा केही समस्या छ कि भनेर परीक्षण गराउन सके झनै राम्रो हुन्छ । त्यस्तै दाह्रा किट्ने, टाउको दुख्नेजस्ता मनोवैज्ञानिक समस्याले दाँतलाई असर गर्ने भएकाले मानसिक रुपमा फिट रहने प्रयास गर्नुपर्छ ।

दाँतमा खानपिनको कति प्रभाव ?

हाम्रो खानपानले पनि समग्र दन्त स्वास्थ्यलाई  प्रभाव पारिरहेको हुन्छ । प्राकृतिक खानेकुरा फलफूल, सागसब्जीले दाँतलाई सफा र बलियो बनाउने ब्रसको जस्तै काम गरिरहेको हुन्छ  । त्यस्ता खानेकुरालाई प्राथमिकता दिने र पानीको मात्रा बढाउनुपर्छ । यसैगरी  जति पनि दाँतमा समस्या हुन्छन् त्यसको प्रमुख कारण भनेको दाँतमा टाँसिने अस्वस्थकर खानेकुरा हुन् । तारेको खानेकुरा, जंकफुड, गुलियो पदार्थ, सुर्तीजन्य पदार्थहरु नखाने, पानीको मात्रामा बढाउनुपर्छ ।

(डा. घिमिरे दन्त चिकित्सक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?