+
+

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ६:०३

१७ फागुन, काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिएको हो ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्त ा गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

कोकोलाई लाग्छ आचारसंहिता ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह गरेको छ ।

आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई निर्वाचन खर्चको सीमा अधिकतम चार लाख रुपैयाँ तोकिएको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?