+
+

कांग्रेस-माओवादी सम्बन्ध नयाँ ढंगबाट सुरु : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ९:४७

१७ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।

वर्तमान राजनीति सही दिशामा हिँडेको भन्दै उनले चुनावको समयमा भएका गठबन्धनकारी दलबीच नयाँ समीकरणले जनताको मतको सम्मान भएको जिकीर गरे ।

कांग्रेस र माओवादीबिच दूरी बढ्दा मुलुक जहिले पनि असहज दिशातिर जाने गरेको बताउँदै उनले अबको पाँच वर्ष अहिलेको गठबन्धनका सरकारको विकल्प नभएको बताए ।

कांग्रेस र माओवादीबीच द्वन्द्व बढ्दा लोकतन्त्रवादीहरु निराश भएकाले कांग्रेसले कोर्ष परिवर्तन गरेको निधिले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि शुरु भएको कोर्ष परिवर्तनकै कारण राष्ट्रपति निर्वाचनमा आठ दलबीच सहमति जुट्न सकेको उनको भनाइ थियो ।

नेता निधिले आठ दलको समर्थन नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा रहेको बताउँदै मुलुकको आगामी राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित भएको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने- ‘ढोक्सामा माछा परिसक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?