+
+
Shares

राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन्।
  • जनकपुरधाम सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक प्रणालीमाथि संकट आउँदा व्यवसायमा प्रत्यक्ष असर पर्ने बताए।
  • निधिले सुनचाँदी व्यवसायीलाई ‘कालोबजारी’ भनेर हेर्ने सरकारी दृष्टिकोण बदल्न र भयमुक्त व्यापारका लागि कानुन बनाउन माग गरे।

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता निधिले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधिले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गरे ।

सुनचाँदी व्यवसायका क्षेत्रमा विद्यमान समस्याहरूबारे चर्चा गर्दै नेता निधिले सरकारको ध्यानाकर्षणसमेत गराए ।

उनले सुनचाँदी व्यवसायीहरूलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिए ।

निधिले भने, ‘देशमा सात प्रदेश, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडासहितको जुन ऐतिहासिक संरचना बनेको छ, यसको सफल कार्यान्वयन आजको आवश्यकता हो । तर राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अन्य कारणले संघीयता, लोकतन्त्र र समावेशितामाथि खतरा उत्पन्न भएको छ । राजनीतिक दलका नेताहरूको मात्र विषय हो भनेर नठान्नुस् । यो तपाईंहरूको पनि प्रत्यक्ष सरोकारको विषय हो । प्रणाली नै रहेन भने कुनै पनि व्यवसाय सुरक्षित रहन सक्दैन ।’

सुनचाँदी व्यवसायीका लागि सहज, सुरक्षित र मर्यादित कानुन निर्माण गरी भयमुक्त वातावरणमा व्यापार गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायीहरूले ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुन बैंकहरूले किनिदिने उचित व्यवस्था गर्नुपर्ने, सुनचाँदी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादाको रक्षा गर्नुपर्ने  उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?