१७ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले पहिचानको आधारमा नाम राख्न नसक्ने भएपछि प्रदेशको नामकरणमा बाधक नबनेको स्पष्टिकरण दिएको छ । बुधबार प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खोलानालाले पहिचान नखोजेको टिप्पणी गरे ।
नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न बुधबार नै प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि उक्त नाममा समर्थन जनाएका छन् । तर आङ्बोले पाँच वर्षसम्म पहिचान र भूगोल के का आधारमा नाम राख्ने भन्ने विवाद हुँदा प्रदेशको नामकरण नै हुन नसकेको स्मरण गरे । ‘ हाम्रो पार्टी पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने, ‘तर आजको संसदीय गणित हाम्रो अनुकुल रहेन ।’
अघिल्लो प्रदेशसभामा पहिचानको पक्षमा बढी मत देखिएको बताउँदै उनले अहिले प्रदेशसभामा पहिचानको पक्षधरको उपस्थिति कमजोर भएको बताए । ‘अहिले हामीले चाहेर पनि पहिचानको पक्षमा उभिन सकेनौं’, उनले भने, ‘संसदको गणित पहिचानको पक्षमा रहेन, पहिचानको मुद्दा स्थापित गर्न सकेनौं ।’
उनले प्रदेशका जनताले दुई तिहाइ मत दिए प्रदेशको नाम फेर्न सकिने बताए । प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने पक्षमा आफ्नो पार्टी भएपनि अहिले राजनीतिक निकास दिने हिसाबले अगाडि बढेको आङ्बोले बताए ।
नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य भूपेन्द्र राईले प्रदेशकव नाम कोशीलाई पारित गर्न प्रस्ताव गरे । छलफलका क्रममा उनले अहिलेसम्म नाम राख्न नसकेको भनेर प्रदेशको आलोचना भइरहेका बेला कोशी नाम पारित गर्नुपर्ने धारणा राखे । यो नामले सिंगो प्रदेशलाई समेट्ने उनको भनाइ छ ।
नेकपा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने बताए । सबै सभ्यता कोशीसँग जोडिएको बताउँदै उनले प्रदेशको नाम कोशी उपयुक्त भएको धारणा राखेका हुन् । राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले कोशी प्रदेशले सबै पहिचान समेट्ने भएका कारण कोशी प्रस्ताव पारित गर्न आग्रह गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4