+
+

भक्तपुर घुम्दै हुनुहुन्छ ? यी ६ परिकारले तपाईंलाई लोभ्याउन सक्छ

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०७९ फागुन १८ गते १४:१०

काठमाडौं । भक्तपुर काठमाडौं उपत्यकावासीका लागि सप्ताहन्त बिताउने सहज गन्तव्य पनि हो । फुर्सदमा वा चाडपर्वको बिदामा पनि धेरैजसो भक्तपुर घुम्न आउने गर्छन् । पौराणिक विरासतलाई समेटेर बाँचिरहेको यो सहरले आगन्तुकलाई हरक्षण न्यानो आतिथ्य दिइरहेको छ ।

अतः भक्तपुर घुमघामसँगै यहाँका परिकारले पनि आगन्तुकलाई फरक अनुभूति दिलाउनेछ । भक्तपुर आएपछि जुजु धौं जस्तै केही विशेष परिकारले स्वाद फेर्न सकिन्छ ।

द्याकाला

भक्तपुर आएपछि चाख्नैपर्ने परिकार हो, द्याकाला । यो मासुको परिकार हो । खासगरी राँगाको मासुबाट द्याकाला बन्छ । राँगाको छालासहितको मासुलाई मरमसला लगाएर राम्ररी पकाएपछि द्याकाला तयार हुन्छ । राँगाको मासुमा झोल हालेर बनाइएको परिकार हो यो । भक्तपुरका पुराना शैलीका होटलहरुमा द्याकाला पाउन सकिन्छ ।

छुयाला

छुयाला त काठमाडौंको विशेष परिकार नै हो । धेरैजसो नेवारी रेस्टुरेन्टमा छुयालाको स्वाद लिन सकिन्छ । भक्तपुर पनि छुयालाका लागि विशेष मानिन्छ । छुयाला खासगरी राँगाको मासुबाटै तयार गरिन्छ । कतिपय ठाउँमा तारेर, उसिनेर पनि छुयाला बनाउने गरिएको छ । तर भक्तपुरमा राँगाको मासुलाई पोलेर छुयाला बनाउने गरिन्छ ।

यसलाई अहिले सामान्य बुझ्ने भाषामा कालो छुयाला पनि भनिन्छ । यसको स्वाद हल्का पिरो हुन्छ ।

बारा

बारा पनि लोकप्रिय नेवारी परिकार हो । नेवार समुदायले चाडपर्वमा बारा खाने गर्छन् । यो मास र मुंगको दालको बनाइन्छ । यसलाई बनाउन अघिल्लो दिन नै भिजाएर राखेको दालको बोक्रा फालेर सिलौटोमा पिस्नुपर्छ ।  बारा तीनथरीको बारा पाइन्छ । मास र मुंगको दाल मिसाएको सादा बारा, त्यसमाथि अण्डा राखेर अण्डा बारा र किमाको प्रयोग गरिएको मासु बारा ।

स्वादका लागि नुन र केही मसला पनि दालमा हालिन्छ । भक्तपुरमा मीठो बारा खाने हो भने पाँचतले मन्दिरबाट साकोठा जाने गल्लीमा छ, आमाको बारा पसल ।

जुजु धौं

भक्तपुर घुमघाम गर्दा जुजु धौं छुटाउने कुरै भएन । भक्तपुरको खास खानेकुरा हो यो । भक्तपुरमा विशेष किसिमले जुजु धौं तयार गरिन्छ । यो माटोको भाँडोमा जमाइएको दही हो ।

भक्तपुरको अधिकांश (दही वा मिठाई पसलमा) जुजु धौ पाइन्छ । मीठो जुजु धौं च्याम्हसिंहको सैजुँ जुजु धौ पसल, दरबार स्क्वायरको अमिलो भण्डार र सुकुलढोकामा रहेको दही पसलमा पाइन्छ ।

आलुचा

भक्तपुर पुग्नु आलुचाको स्वाद नलिनु त्यति काइदा नहोला । यो आलुको परिकार हो । एउटा आलुलाई पातलो गोलाकार रुपमा काटिन्छ । त्यसलाई मरमसला मिसाएपछि सिन्कामा उनेर तेलमा तारिन्छ । आलुचालाई स्न्याक्सको रुपमा खान सकिन्छ । भक्तपुरको दरबार स्क्वायरमा अवस्थित आलुचामा यो परिकारको स्वाद लिन सकिन्छ ।

सम्यबजी

सम्यबजी नेवारी समुदायले खाने एक किसिमको मिनी भोज हो । यसमा करिब १० थरीको परिकार हुन्छ । यसमा झोल भएको परिकार हुँदैन । यसमा काँचो, भुटेको, पोलेको र फ्राइ गरेका परिकारहरु हुन्छन् ।

सम्यबजीमा बजी (चिउरा) त्यसमा पनि टाइचिन बजी अर्थात् विशेष स्वादिलो चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार हुन्छ । यो मौलिक शैलीको नेवारी सम्यबजीमा हुने परिकारहरु हुन् । तर आजभोलि अरु थप परिकारमा पनि राखेर सम्यबजी बनाइन्छ ।

सम्यबजीको स्वाद मिश्रित हुन्छ । यसमा धेरै परिकार एकैसाथ हुने भएकाले यसको स्वाद पिरो, अमिलो, मीठो सबै हुन्छ । यसमा पिरो छुयालाको परिकार हुन्छ भने अमिलो अचार हुन्छ । यो भक्तपुरको हरेक नेवारी खाजा घरहरुमा पाउन सकिन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?