+
+

सम्झनैपर्ने त्यो स्ववियु आन्दोलन

चिरञ्जीवी न्यौपाने चिरञ्जीवी न्यौपाने
२०७९ फागुन २० गते ६:४२

अहिले त्रिविका हरेक क्याम्पसमा राजनीतिक रौनक छाएको छ । विद्यार्थी संगठन तात्तिएका छन् । नेताहरूको सक्रियता लोभलाग्दो ढंगले बढिरहेको छ । कारण आउँदो चैत ५ गते स्ववियु चुनाव गर्ने त्रिविको कार्यतालिका छ ।

निर्वाचनको मिति नजिकिंदै गर्दा विद्यार्थी संगठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । म आफैं पनि नेपाल विद्यार्थी संघको घोषणापत्र बनाउन गठित समितिभित्र रहेर काम गरिरहेको छु । यता क्याम्पसका कक्षा-कक्षामा पनि विद्यार्थी नेताको उपस्थिति बाक्लिन थालेको छ ।

एकातिर अहिले समाजमा मूलधारको राजनीतिक दलहरूप्रति चरम वितृष्णा छ भने अर्कोतर्फ नयाँ पुस्ता राजनीति भन्नासाथ टाढिने गरेको अवस्था छ । कक्षाकोठामा पुग्दा पनि नयाँ पुस्ताका साथीहरूलाई विद्यार्थी संगठन वा राजनीतिक दलसँग जोडिएका हरेक कुरादेखि झ्याउ लाग्न थालेको बुझ्न सकिन्छ । र हामीले स्वीकार्नुपर्छ कि अहिलेको अवस्था सिर्जना हुनुमा धेरै दोष हाम्रै छ ।

विगत १४ वर्षदेखि सबै क्याम्पसमा एकमुष्ट चुनाव गर्न नसक्दा विद्यार्थी राजनीतिमा पुस्तान्तरणको ‘फ्लो’ बिग्रेको छ । क्याम्पसमा विद्यार्थी नेताहरू जमेर बसेका छन् । पछिल्ला शैक्षिक मुद्दाहरूमा कम चासो राखिएको छ । यी गल्ती विद्यार्थी संगठनले गरेकै हुन् ।

विद्यार्थीको नेता भन्दा पनि ‘माउ पार्टी’को कट्टर कार्यकर्ता बन्ने अधिकांशको स्वभावको कारण पनि यो तहको वितृष्णा देखिएको स्वाभाविक हो ।

तर यसको मतलब स्ववियुको औचित्य साँच्चै सकिएको हो त ? अब विद्यार्थी संगठन नै नचाहिने अवस्थामा क्याम्पसहरू पुगेका हुन् त ? पक्कै हैन । त्यसैले अब हामीले आफूलाई समीक्षा गर्दै विद्यार्थीका मुद्दामा केन्द्रित भएर यसको औचित्य पुष्टि गर्न आवश्यक छ । नयाँ पुस्तालाई विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियनको ऐतिहासिकताबारे बुझाउन आवश्यक छ । सँगसँगै आगामी दिनमा हुनुपर्ने विद्यार्थी आन्दोलनका सुन्दर सपना उनीहरूमा रोप्न आवश्यक छ । सही एजेण्डा तय गरेर त्यसबारे स्पष्ट बनाउन आवश्यक छ । यसको लागि आउँदो स्ववियु चुनाव हाम्रो लागि मौका हो । अब पनि उस्तै गल्ती गरिरहने छुट हामीलाई छैन ।

जबकि कुनै समय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिवर्तनको संवाहकका रूपमा परिचित थियो । १९ वैशाख २०२० मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी डम्मरवीर थापा र भक्तगोविन्द श्रेष्ठलाई त्यसबेलाका विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गरेपछि त्यसविरुद्ध विद्यार्थी स्ववियु खोल्न पाउनुपर्ने मागसहित आन्दोलित बने । तर, शासकहरू त्यसो गर्न तयार थिएनन् । जसकारण विद्यार्थी संघहरू झन् तात्तिए । आन्दोलनको केन्ऽ बन्यो, त्रिभुवन विश्वविद्यालय । त्रिविमा आन्दोलन सुरु भएलगत्तै देशैभरि आन्दोलन भुसको आगो झैं सल्कियो । त्यही आन्दोलनको बलमा विद्यार्थीको आवाजलाई विश्वविद्यालयसम्म पुर्‍याउने पुलका रूपमा स्वतन्त्र विद्यार्थी युनियन गठन भएको थियो ।

अबको हाम्रो बाटो भनेकै शिक्षा प्रणालीको सुधारमा केन्द्रित हुनुपर्छ । यस्तै समसामयिक मुद्दा बोकेर विद्यार्थी संगठन जुर्मुराउन आवश्यक छ

हुन त पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ साल अगाडिदेखि नै हुँदै आएको थियो । तर औपचारिक रूपमा भने त्रिविमा स्ववियु स्थापना भएपछि २० भदौ २०२० मा मात्र विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भएको थियो, जहाँ प्रगतिशील पक्षले विजय हासिल गर्‍यो ।

पहिलो पटक निर्वाचित स्ववियुको कार्यकारिणी बैठक २०२० साल फागुनमा बसेको थियो । सो बैठकले ४ चैत २०२० मा सम्पूर्ण कलेजको प्रतिनिधिसहितको बैठक आहृवान गर्‍यो । उपत्यका अन्तर कलेज सम्मेलन आयोजक समिति गठन गर्‍यो । यसले लगालग कार्यक्रमहरू गर्न थाल्यो । विद्यार्थीका मुद्दासँगै प्रजातन्त्र स्थापनाको मुद्दालाई केन्द्रमा राखेर स्ववियुले कार्यक्रम गर्न थाल्यो ।

यीमध्ये सबैभन्दा सम्झनलायक कार्यक्रम त्रिचन्ऽ कलेजमा २५-२९ वैशाख २०२१ सम्म आयोजना गरिएको सम्मेलन हो । उक्त सम्मेलनमा पञ्चायती शासकको आँखा लाग्यो । सम्मेलन स्थलमा व्यापक प्रहरी दमन भयो । विद्यार्थीलाई गिरफ्तार गर्‍यो । सयौं घाइते भए । यद्यपि, बाँकी रहेका सदस्यहरूले लुकीछिपी भए पनि सम्मेलन सम्पन्न गरे । निष्त्रिmय बनाइएको स्ववियु स्थापनादेखि विद्यार्थीलाई गाडी भाडा छुट दिनेसहित विभिन्न ५ वटा प्रस्तावहरू उक्त सम्मेलनले पारित गर्‍यो ।

यस्ता तत्कालीन समयका जल्दाबल्दा मुद्दा बोकेको यो प्रस्ताव पञ्चायती शासकलाई पाच्य भएन । सम्मेलनपछि पनि दमनको शृंखला जारी राख्यो । प्रहरीले सम्मेलनमा भाग लिएका विद्यार्थीको घर-डेरामा छापा मार्न थाले । हुँदाहुँदा सो सम्मेलनमा पारित भएको प्रस्ताव पुस्तिका समेत जफत गरिएको इतिहास अझै पढ्न पाइन्छ ।

त्यसपछि विद्यार्थी संगठन झन् आक्रोशित बन्न पुगे । जेठ १ ठूलो मौन जुलूस निकाले । जुलूसमा पञ्चायती सरकारको निर्देशनमा प्रहरीले निर्मम दमन गर्‍यो । विद्यार्थीले १५ दिन विद्यालय नै ठप्प बनाए । अन्ततः प्रहरीले विद्यार्थी नेताहरूलाई रिहाइ गर्‍यो । त्यसक्रममा सरकार र प्रदर्शनकारीबीच सृजना भएको तनावको स्थितिबारे रोचक ‘किस्सा’हरू त अग्रज नेताहरूबाट हामीले सुनिरहेकै हुन्छौं ।

सो घटनापछि खुलेर राजनीतिमा सक्रिय हुनथालेका विद्यार्थीको लागि २०२८/२९ साल फेरि अर्को अँध्यारो वर्षको रूपमा आयो । २०२८ सालमा पञ्चायत सरकारले नयाँ शिक्षा प्रणाली लागू गरेसँगै ‘स्ववियु र जनसंगठनहरूमाथि प्रतिबन्ध ऐन २०२९’ जारी गर्‍यो । यसरी पटक-पटक तनावको स्थिति सृजना हुने अवस्था दोहोरिरहृयो । विद्यार्थी संगठन राज्यले लगाएको प्रतिबन्धको सिकार बनिरहे । अन्ततः विद्यार्थीले आफ्नो अस्तित्वको लागि आन्दोलन चर्काएपछि मात्र उनीहरूमाथि लगाइएको प्रतिबन्ध २०३६ सालमा हटाइयो ।

प्रतिबन्ध फुकुवा भएपछि विद्यार्थी पुनः क्याम्पसमा जुर्मुराउन थाले । यद्यपि, त्यसबेला पनि नागरिक समाजको तर्फबाट विद्यार्थी संगठनमाथि प्रश्न नउठेका होइनन् । विद्यालय तहमा बनाइएका संगठनको औचित्यलाई लिएर उनीहरूमाथि प्रश्न उठिरहे । र अन्ततः विद्यालय तहमा रहेको विद्यार्थी संघको उपयोगितामै प्रश्न उठेपछि २०४१ सालबाट यसलाई हटाइयो । त्यसपछि विश्वविद्यालय तहमा मात्र केन्दि्रत बने विद्यार्थी संगठन र विभिन्न उतारचढाव पार गर्दै यिनकै बलमा २०४६ सालको आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलन सफल बन्न पुग्यो ।

यसरी व्यवस्था परिवर्तनको आन्दोलनमा अतुलनीय जोश देखाएको विद्यार्थी संघले त्यसपछि भने लय समाउन सकेन । खस्कँदो विश्वविद्यालयको साख र प्रतिस्पर्धात्मक उच्च शिक्षालाई प्रभावकारी बनाउन स्ववियु लगभग असफल नै भएको स्थिति छ । र यसरी मृत अवस्थामा पुगेको स्ववियु र विद्यार्थी आन्दोलनलाई पुनः जुर्मुराउने अभिभारा अब हाम्रो काँधमा आएको छ ।

विद्यार्थी संगठन भनेका हरेक सत्ताका प्रतिपक्ष हुन् भन्ने तथ्यलाई हामीले भुल्नुहुँदैन । चाहे आफ्नै मूल पार्टीको सत्ता किन नहोस्, प्रश्न गर्न छोड्नुहुन्न । विश्व नै ‘आर्टिफिसियल इन्टलिजेन्स’ देखि हाइड्रोजनबाट ‘हाइड्रोजन अर्थतन्त्र’मा लम्किरहँदा हामीले पनि हाम्रो शिक्षा प्रणाली सुधार्न आवश्यक छ । सामान्य कम्प्युटर सिक्न नै गाउँका विद्यार्थीलाई शहरका ‘इन्स्टिच्यूट’ धाउनुपर्ने दुरवस्था मनन गरेर राज्यलाई झकझक्याउन आवश्यक छ ।

अबको हाम्रो बाटो भनेकै शिक्षा प्रणालीको सुधारमा केन्द्रित हुनुपर्छ । यस्तै समसामयिक मुद्दा बोकेर विद्यार्थी संगठन जुर्मुराउन आवश्यक छ । हिजो ‘दलहरूले सेना खडा गरे’ भनेर लेख्ने नागरिक समाजले भोलिका दिनमा ‘विश्वविद्यालयमा विद्यार्थीका सेना छन्’ भनेर लेख्ने वातावरण हामीले बनाउन जरूरी छ । जसको लागि आउँदो स्ववियु चुनाव हाम्रो लागि आफ्नो औचित्य पुष्टि गर्ने मौका बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?