+
+

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

कैलाश जोशी/रासस कैलाश जोशी/रासस
२०७९ फागुन २० गते ८:०६

२० फागुन, अत्तरिया। कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् ।

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बस्नुभएका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन् ।

उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् ।

कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन’, उनले भने, ‘मैलेमात्र महिनाको रु डेढदेखि दुई लाख आम्दानी गर्छु ।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ ।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए ।

सुरुमा उनको फार्ममा ३० लाख लगानी भएको छ । अहिले लगानी ६० लाख पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौं’, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ ।’

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्‍याउन सकेका छैनौं’, उनले भने ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ ।

दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर उनले कालिज व्यवसाय सुरु गरेका हुन् ।

साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ ।

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौं ।’

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ । ‘कालिज, खुकुरा बिरामी भए आफैं गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैं खटिनुपर्छ ।’

उनले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन् । फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षाका लागि चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ ।

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन् ।

अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए ।

उनका अनुसार तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ । ‘दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई तीन हजारसम्ममा बिक्री गछौं’, व्यवसायी विकासले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ ।

विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ ।

नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ ।

कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन’, उनले भने ।

कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ ।

तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ ।

सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताए । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ ।

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उनले भने ।

फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ ।

विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए । विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?