+
+

‘फेरि नयाँ गठबन्धन बन्नसक्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते २०:१७

२२ फागुन, पोखरा । केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् ।

तर फेरि एमालेको नेतृत्वमा सरकार सम्भावना रहने बताउँछन् । हिजो पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको भन्दै उनले भने, ‘उहाँहरु मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा सुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ ।’

प्रस्तुत छ, मुख्यमन्त्री अधिकारीसँग गरिएको कुराकानी :

केही दिनअघि आफ्नै गाउँ पुगेर सरकारले काम गर्नमात्र के खोजेको थियो, छोड्नुपर्ने परिस्थिति बन्दैछ भनेर दुखेसो पोख्नुभएको थियो । सरकार ढल्ने पक्का भयो भन्ने मनस्थितिमा पुगिसक्नुभएको हो ?

देशको राजनीति यसरी बदलिएको छ, म मुख्यमन्त्रीमा नरहन पनि सक्छु भन्ने आशयले बोलेको हुँ । यदि अहिले हट्नु परे पनि अर्को राजनीतिक समीकरण फेरि बन्न सक्छ । मसँग प्रशस्त समय छ ।

अहिलेको अवस्थामा फेरि कस्तो खालको समीकरणको आकलन गर्नुभएको हो ?

अस्थिरतावादीसँग भन्दा स्थिरता चाहानेहरुसँग एउटा मान्यताका साथ अगाडि बढ्न सकिन्छ । लोकतान्त्रिक पद्धति, संसदीय प्रणाली, संविधानवाद मान्ने स्थिरता चाहाने दलहरुसँग सहकार्य हुन सक्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १० दल भए पनि एमालेलाई केही फरक पर्दैन । यो गठबन्धन टुटेर कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई एमालेले समर्थन गर्ने चर्चाहरु पनि बाहिर सुनिएका छन्, तर अहिले नै पक्का भइनसकेको विषयमा बोल्न पनि हतार होला ।

गण्डकी प्रदेशमा त झन् नेकपा माओवादी र कांग्रेस मिल्नेबित्तिकै सहज बहुमत पुगिहाल्छ, तपाईंले देखेको सम्भावित परिदृश्य के हो त ?

उहाँहरु मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा सुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ । म मुख्यमन्त्री बन्छु भन्ने कसैले कल्पनै गरेको थिएन नि !

बलियो पार्टी एमालेको त सधैं सम्भावना रहन्छ । हाम्रो मुख्य मान्यता देश स्थिरतातिर जाओस् भन्ने हो । त्यसैले नेकपा बनाएका थियौं । सिद्धान्त मिलेकै थियो, विचारको विषय पनि एकता महाधिवेशनबाट टुंग्याउने भनिएकै थियो ।

तर, राजनीतिक इमान्दारिता नभएकाले त्यो टिक्न सकेन । त्यत्रो ठक्कर खाँदा पनि त फेरि प्रचण्डलाई नै साथ दिएकै त हो । त्यसैले राजनीतिमा इमान्दारिता नहुँदा जे पनि हुन सक्छ ।

तर एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि आशंका पैदा भयो, अर्को गठबन्धन बनाउनुपर्‍यो भन्ने प्रचण्डको भनाइ छ । त्यसले प्रदेश सरकार पनि धरापमा पर्‍यो नि ?

आफ्नो अस्थिर चरित्र ढाकछोप गर्न खोजेको पातलो पर्दामात्र हो त्यो । संसदीय निर्वाचन गराउनु अपराध हो भने त्यो त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुभयो नि भनेर ओलीले दिएको जवाफ त दुनियाँले बुझेकै छ । अनि यो कुरालाई शंका लाग्यो भनेर हुन्छ र ?

ओलीले संसद विघटन गर्नुभयो, राष्ट्रपतिले तुरुन्त सदर गर्नुभयो । अहिले सभामुख एमालेकै छ र राष्ट्रपति पनि एमालेलाई नै दिने हो भने त बर्बादै हुन्छ भनेर संशकित हुनुपछाडिका कारण त होला नि ?

यस्तो अवस्थामा म अप्ठ्योरोकम पर्छु भन्ने लागेको भए सरकार बनाउन उहाँले नै किन प्रस्ताव गर्नुभएको त ? सभामुख र राष्ट्रपति लिनुस्, प्रधानमन्त्री मलाई दिनुस् भनेर प्रचण्डले नै भनेको हो नि ! सुरुमा जे पनि बोल्ने र अरुले उक्साइदिएपछि उक्सिएर अर्को कुरा गर्न पाइँदैन ।

अर्को कुरा, वाध्यकारी अवस्थामा बाहेक हामी पनि संसद विघटनको पक्षमा छैनौं । नयाँ संविधानले दिएको अधिकारलाई प्रयोग गर्दा लगाम लगायो, अदालतले । अदालत राजनीतिक आग्रहले चल्छ भन्ने त एमालेको मान्यता होइन । अहिलेसम्म अदालत आग्रहभन्दा माथि देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?