+
+

प्रचण्डलाई मुद्दा हाल्‍नु भनेको मुलुकलाई फेरि द्वन्द्वमा फसाउनु हो : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १६:३५

२३ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा रुमलीराख्ने गम्भीर षडयन्त्रअन्तर्गत भएको बताएका छन् ।

अध्यक्ष भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भिर षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसकाविरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे

‘द्वन्द्वकालिन मुद्दाहरुको निरुपण गर्नका निम्ति र द्वन्द्व पीडितहरुलाई परिपुरण दिनको निम्ति सत्य निरुपण तथा वेपत्ता आयोगको जुन व्यवस्था गरिएको थियो । त्यसलाई विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिने र हुँदाहुँदै त अहिले एउटा सामान्य निहूँ बनाएर बहालवाला प्रधानमन्त्री, जो शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नै हुनुहुन्छ,’ उनले भने, ‘उहाँलाई एउटा सामान्य निहूँ बनाएर उहाँलाई गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको चाँही एउटा अदालती प्रक्रिया अघि बढेको छ । अब यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ । तर यो अत्यन्त गम्भिर प्रकृतिको विषय छ ।’

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौंतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको र हाल आएर सामान्य निहूँ बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए ।

शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भिर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाई थियो । उनले अदालतप्रति सम्मान गर्ने पटकपटक दोहोर्‍याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्क समेत गरे ।

‘यो माओवादीको मात्रै विषय होइन । यो शान्ति सम्झौंता भनेको त तत्कालीन ७ दलसहितको राज्य र विद्रोही माओवादीको तर्फबाट भएको सम्झौंता अनुसार भएको कुरा हो । त्यसैले यो माओवादीको मात्रै प्रश्न होइन । यो राज्यको प्रश्न हो,’ उनले भने, ‘हामी सम्मानित अदालतप्रति अनादर गर्ने हाम्रो कुनै मनसाय छैन । हामीले अदालतको सम्मान गर्नु पर्छ, हामी गर्छौं । तर हाम्रो शान्ति प्रक्रिया चाँही संविधानको एउटा अंग थियो।’

उनले केही डलरको खेती गर्नेहरुले विभिन्न बहानामा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा हालेको आरोप लगाए । उनले भने, ‘केही मान्छेहरुको जुन यस्तो द्वन्द्वको खेती छ । म चाँही कसैलाई घोचपेच गर्न चाहन्न । तर, यर्थाथमा के बुझ्नै पर्छ भने केही डलरको खेती गर्ने मान्छेहरु छन्, उनीहरुले चाँही विभिन्न बहानामा हामीले ऐन, कानुनहरु बनाउँछौं । उनीहरुले चाँही अदालतमा मुद्दा हाल्छन् अनि, अदालतले नै स्टे अर्डर गर्छ ।’

डलरको खेती गर्नेहरुले नै यही विषयलाई पटक-पटक गिजोल्‍ने देशमा अशान्ति र अस्थिरता ल्याउने, बाह्य शक्तिको चलखेल गराउने र यो देशलाई फेरि यही द्वन्द्वको भूमरीमा धकेल्‍ने गम्भीर षडयन्त्रमा लागेको आरोप लगाए। उनले यसले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रसमेत खतराम रहेको भन्‍दै यसप्रति सबै सतर्क हुनुपर्ने उनले बताए ।

उनले भने, ‘डलरको खेती गर्ने केही मानिसहरुले द्वन्द्वकालिन मुद्दा गिजोल्याएर देशमा अशान्ति र अस्थिरता ल्याउने, बाह्य शक्तिको चलखेल गराउने र यो देशलाई फेरि यही द्वन्द्वको भूमरीमा रुमलिराख्ने गम्भीर षडयन्त्र छ । त्यसमा हामी सबै सर्तक हुनु पर्छ । यदि संविधान नै रहेन, यो संविधाननै उल्टियो, संघीय लोकतान्त्रिक गणतन्त्र रहेन।त्यसमा हामी सबै सर्तक हुनु पर्छ ।’

अध्यक्ष भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले महिलाहरुको नाममा नागरिकता बनाउने कुरा अझै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, ‘शान्ति प्रक्रिया नै भत्कियो भने हाम्रा महिलाहरुको अधिकार कहाँबाट आउँछ ? त्यसो भएको हुनाले हामी अगाडि बढनु छ । संविधान र शान्ति प्रक्रियाको रक्षा गर्नु छ । यसमाथि भईराखेको आक्रमणको विरुद्धमा नै सम्पूर्ण महिला दिदीबहिनीहरुले पनि आवाज उठाउनु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?