+
+
पल्सर स्पोर्ट्स अवार्ड :

ओलम्पियन रघुराज वन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १६:५६

२३ फागुन, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् ।

२४ वर्षको उमेरमा मिस्टर काठमाडौं बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव अनि ओलम्पियन रघुराज वन्तका थुप्रै आयामहरु छन् ।

यिनै आयामलाई कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो ।

नेपाली खेलकुदमा उनी खेलाडीको भूमिका देखि प्रशिक्षक बन्दै संघ, परिषद ओलम्पिकक कमिटीको पदाधिकारसम्म बनेका थिए ।

उनले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे, प्रशिक्षकका रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरे ।

पदाधिकारीका रुपमा एथलेटिक्स संघ हाँके अनि राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म हुने नेपाली खेलकुदमा यस्तो दोस्रो पात्र छैनन् ।

बुबा गणेशराज वन्त नर शमशेरको पालाका नामुद फुटबल खेलाडी थिए । बुबा, बाजे दरबारमा काम गर्ने । शहिद धर्मभक्त माथेमा आफ्नै फुपूको छोरा । अनी रघुराज वन्तलाई पनि के नै कमी भयो र । शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमाडौं बनेका थिए ।

उनले फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ खेलेका छन् भने कायाकिङका त पहिलो ब्याचका खेलाडी नै हुन् । उनको प्रिय खेल भने एथलेटिक्स र त्यसमा उनको विधा १०० मिटर प्रिन्ट । १०० मिटरमा एकछत्र राज गरेका उनी ७ वर्ष लगातार च्याम्पियन भएका थिए ।

पढाइमा अब्बल, चाक्सीबारी घरानाका अनि हक्की स्वभावका वन्त तत्कालीन राजकुमार धिरेन्द्र शाहसँग हात मिलाउँदा ५ वर्ष निलम्बनमा परेका थिए । तर उनलाई पछि धिरेन्द्रबाटै माफी पनि भएको थियो ।

खेल्दा खेल्दै जापानमा पढ्न गएका वन्तले त्यहाँ स्पोर्ट्स फिजोलोजी पढ्दा नेपालका एक समयका चर्चित जर्मन प्रशिक्षक गुन्टर लाँगे उनका क्लास मेट थिए । त्यो ज्ञानलाई उनले नेपालमा बाँडेका हुन् ।

बैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उनका मेन्टर थिए ।

नेपाली सेनालाई त उनले धेरै वर्ष च्याम्पियन बनाए । ८० को दशकमा वन्त रोड रेसका पायोनियर थिए । आफ्ना सहकर्मी /चेलाहरुले उनको सम्मानमा ‘वन्त गोल्डेन स्प्रिन्ट मिट’ नामको प्रतियोगिता नै सुरु गरेको थिए ।

प्रजातन्त्र प्राप्तिपछि नेपाल एथलेटिक्स संघको अध्यक्ष बनेका वन्त राखेपको सदस्य हुँदै कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव बने ।

तर पदाधिकारीको रुपमा जिम्मेवारी बहन गर्दा भने उनको यात्रामा थुप्रै आरोह अवरोह आयो । फलत उनले यी सबै जिम्मेवारीहरु एकैपटक चटक्कै त्यागिदिए ।

खेलकुदमा चुर्लुम्म डुबेका उनी एकाएक खेलकुदबाट टाढिएर आध्यात्मिक दुनियाँमा जान खोजे पनि मनले मानेन । भौतिक रुपमा उपस्थिति नभए पनि भित्रभित्रै खेलाडीहरुलाई निरन्तर सहयोग गरिनै रहे ।

उनी नयाँ प्रतिभालाई प्रोत्साहन गरिरहन्छन् । खेलाडीको क्षमता पढ्न अब्बल उनले दुई वर्षको बीचमा नै सन्तोषी श्रेष्ठ जस्तो खेलाडी उत्पादन गरे । जसले १३ औं सागमा पहिलो महिला एथलेटिक्स खेलाडिको कीर्तिमान रच्दै सागमा स्वर्ण जितिन् ।

७२ वर्षका वन्तले खेलकुदमै जीवन समर्पित गरे । खेलकुदलाई दिन जानेका वनत्ले सन्तोषी जस्तै खेलाडीहरु उत्पादन गर्ने लक्ष्य बनाइसकेका छन् । बाँकी जीवन पनि एथ्लेटिक्स ट्रयाकमै बिताउने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?