+
+

वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी, ३ जना विद्यार्थी नेता पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७९ फागुन २६ गते १६:३७

२६ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा उत्पन्न विवादले उग्ररुप लिएको छ । विवादले उग्ररुप लिंदा आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी समेत गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।

बेलैमा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेछ, प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थसहित आगो लगाएर फालिदिएका कारण कागजपत्र जलेको छ’ उनले भने ।

आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो ।

तीन जना प्रहरी नियन्त्रणमा

आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेका छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरिएको गिरीले जानकारी दिए ।

पक्राउ परेकाहरुको आगजनीमा संलग्नता भए नभएको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

के हो विवाद ?

क्याम्पसका एक जना विद्यार्थी नेताका अनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेपछि विवाद उत्पन्न भएको हो । झण्डै ८ सय विद्यार्थीको फर्जी नाम मतदाता नामावलीमा समावेश भएको दावी विद्यार्थी संगठनका नेताहरुले गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनमा १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । त्यो प्रारम्भिक मतदाता नामावली भएको उनीहरुको भनाइ छ । २५ फागुनमा दाबी विरोध गर्ने क्रममा मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश भएको भन्दै विद्यार्थी नेताहरुले विरोध गरेका थिए । जसका कारण विवाद उत्पन्न भएको थियो । विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले अहिलेसम्म अन्तिम नामावली प्रकाशन गर्न सकिरहेको छैन ।

त्रुटि छानबिन गर्न समिति गठन

मतदाता नमावलीका सम्बन्धमा विवाद देखिएपछि समाधानका लागि छानविन समिति गठन गरिएको थियो । शिक्षण शाखाका सहप्राध्यापक रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा गठित समितिले आवश्यक छानविन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ । सोही प्रतिवेदनका आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको छ ।

निर्वाचन अधिकृत रोशन लामिछानेले छानविन समितिले विद्यार्थीको नाम रुजु गरेर प्रतिवेदन पेश गर्ने बताए । समितिले बुझाउने प्रतिवेदनको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली तयार गरेर प्रकाशन गर्ने उनको भनाइ छ ।

‘मतदाता नामावलीमा देखिएको त्रुटिका कारण विवाद उत्पन्न भयो, त्यो नियतवस नभई भुलबस भएको मानवीय त्रुटि थियो,’ उनले भने ‘ त्यसले गर्दा अन्तिम नामावली प्रकाशन गर्न सकेनौं । निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । तर स्ववियु निर्वाचन तोकिएकै दिनमा गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गर्छौं ।’

शुक्रबारको छलफल निष्कर्षविहीन

समस्या समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार आयोजना गरेको छलफल निष्कर्षविहीन टुंगिएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्रुटि सच्याउने प्रतिबद्धता जनाउँदै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

फर्जी नाम समावेश भएको घटनाबारे छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने, बदमासी गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग उनीहरुले राखेका छन् । उनीहरुले विद्यार्थी कल्याण परिषद् तथा निर्वाचन अधिकृतको राजीनामामा समेत मागेका थिए ।

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान एकाई सभापति मनोज साहले घटनाबारे छानविन हुनुपर्ने, त्रुटि गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताए ।

निर्वाचन अधिकृत रोशन लामिछानेले सर्वदलीय बैठक मार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।

‘बीबीएस तेस्रो वर्षका विद्यार्थीहरुको नाम समावेश भएको विषयमा त्रुटि देखियो, निर्वाचन समितिले नै बदमासी गरेको हो भनेर विद्यार्थीले आरोप समेत लगाए,’ उनले भने, ‘तर त्यो अन्तिम नामावली थिएन, मानवीय त्रुटि देखिएको थियो, त्यसैले २५ फागुनमा अन्तिम नामावली प्रकाशन गरेनौं, राति अबेरसम्म बसेर सच्याइसकेका छौं । विद्यार्थी संगठनसँग छलफल गरेर मात्रै अन्तिम नामावली प्रकाशन गर्ने भनेर आज बैठक डाकेका हौं ।’

उनले विवाद समाधान नभएकोले शुक्रबार मनोनयन पत्र वितरण गर्ने कार्यक्रम समेत स्थगित गरिएको बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?