+
+

‘प्रचण्ड मेरै घरमा एक हप्ता बसे, १६ वर्षसम्म फर्केर आएनन्’

जनक विष्ट जनक विष्ट
२०७९ फागुन २९ गते १६:४०

२९ फागुन, धनगढी । डोटीको जोरायल गाउँपालिका–६ का गंगाराम जोशी अहिले ६० वर्षका भए । सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड ७ दिनसम्म आफ्नै घरमा बास बसेको जोशीलाई हिजोजस्तै लाग्छ ।

‘सुरुमा हामीलाई खाना चाख्न लगाइयो त्यसपछि त्यही खाना उहाँलाई दिएपछि मिठो मानेर खानुभयो’, १६ वर्षअघि प्रचण्डले आफ्नो घरमा खाना खाएको गंगारामले सम्झिए ।

०६३ साल असारतिरको कुरा हो, जनआन्दोलन सफल भएपछि खुला राजनीतिमा आउने तयारीमा रहेको माओवादीले डोटीको बिपीनगरमा प्रशिक्षण राखेको थियो । कुनै बेला माओवादीको आधार इलाका रहेको बिपीनगरमा माओवादीका केन्द्रीय स्तरका नेताहरु आउने कुरा थियो ।

पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु आउने भनेपछि माओवादीहरु बिपीनगरमा केन्द्रित भएका थिए । माओवादी कार्यकर्ता मात्र नभएर प्रचण्डलाई हेर्न भनेर विभिन्न ठाउँमा बिपीनगर पुग्नेहरुको भीडभाड नै थियो । करीब १० हजारको हाराहारी मानिस त्यहाँ उपस्थित थिए । जनआन्दोलन सफल भएपछि गिरिजिाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला २ असार २०६३ मा प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।

उनी सोही दिन तत्कालीन गृहमन्त्री कृष्ण सिटौलासँगै हेलिकोप्टरमार्फत बिपीनगर पुगेको जोशी स्मरण गर्छन् । प्रचण्डको साथमा पत्नी सीता दाहाल, छोरा प्रकाश, नेता बाबुराम भट्टराई, भट्टराई पत्नी हिसिला यमीलगायत डोटी आएका थिए ।

जोरायल गाउँपालिका–६ मा पर्ने दुर्गा माध्यमिक विद्यालय परिसरमा ल्याण्ड भएका प्रचण्डसहितका नेताको बसोबासको प्रबन्ध जोशीकै घरमा गरिएको थियो । ‘प्रशिक्षण कार्यक्रममा कृष्णबहादुर महरा आउने सूचना थियो तर यहाँको परस्थिति अनुकुल रहेको थाहा पाएपछि प्रचण्ड, बाबुरामहरु आफैं आउनुभएको थियो’, जोशीले सुनाए, ‘उहाँहरुलाई मेरो घरमा बस्ने प्रबन्ध मिलाएका थियौँ । ७ दिनसम्म पार्टीको प्रशिक्षण चलेको थियो ।’

१६ वर्षअघि प्रचण्ड बसेको घर ।

बिपीनगरमा प्रचण्डलाई हेर्ने मानिसको घुइँचो नै लागेको थियो । उनले बिपीनगर चोकमा आयोजित सभालाई सम्बोधन गरेका थिए । ‘मलाई तपाईंहरुले साथ दिनुभयो भने नेपाललाई सिंगापुर बनाउँछु भनेर सार्वजनिक उद्घोष गर्नुभएको थियो । त्यो कुन उद्देश्यले बोल्नुभयो उहाँको कुरा हो’, जोशीले अनलाइनखबरसँग भने, ‘तर त्यसपछि उहाँ बिपीनगर कहिल्यै फर्किनुभएन यो दुर्भाग्य हो ।’

प्रचण्ड अहिले पनि माओवादीको अध्यक्ष छन् र तेस्रो पटक प्रधानमन्त्री भएका छन् । तर १६ वर्षअघि उनै प्रचण्ड उभिएको बिपीनगरको भूमि र बिपीनगरबासीका दुःख बेदना उस्तै छन् । गरिब, उत्पीडनमा परेकाहरुको समस्या हल गर्न सशस्त्र आन्दोलन गरेको बताउने प्रचण्डले माओवादीको आधार इलाकालाई उपेक्षा गरेको गुनासो स्थानीयको छ ।

दुई वर्षअघि मात्र बिपीनगरमा विजुलीको राष्ट्रिय प्रशारण लाइनमा जोडियो । बड्डीकेदार गाउँपालिका, जोरायल गाउँपालिकाका विकट बस्तीहरु अझै अन्धकारमा छन् । कतिसम्म भने बड्डीकेदार गाउँपालिकाकै केन्द्र खड्यौली पनि विद्युतविहीन छ । छिमेकी बोगटान फुटसिल गाउँपालिका, कैलालीको चुरे गाउँपालिकाका बस्तीको अवस्था पनि उस्तै छ ।

यति मात्र होइन शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत आवश्यकताका सम्बन्धमा क्रमिक सुधार बाहेक तात्विक अन्तर देखिदैन । ‘बिपीनगर डोटीको मुख्य बजारमध्येको एक हो तर यहाँ कुनै सुविधा छैन । यहाँका गाउँबस्तीमा बिजुली बत्ती पुगेको छैन’, जोशीले भने, ‘१६ वर्ष अघिकै अवस्थामा हामी बाँचिरहेका छौँ । अहिलेसम्म राज्यको ध्यानाकर्षण भएको छैन । प्रचण्ड स्वयं ३ पटक प्रधानमन्त्री भइसक्नुभयो ।’

स्थानीय ठूलीगाड, कापडी गाड र गड्सेरी गाडमा धेरै पानी बगिसक्यो । तर यहाँका किसानलाई सिँचाइ सुविधा छैन । यी नदीमा जलविद्युत उत्पादन गर्ने योजना नबनेको होइन तर लगानी अभावका कारण अघि बढ्न सकेको छैन । माओवादी शान्ति प्रक्रियामा नआउदै ट्रयाक खुलेको सहजपुर–बिपीनगर सडक कालोपत्रे हुने क्रममा त छ तर पूर्णता पाएको छैन । रणनीतिक महत्वको धनगढी–दिपयाल द्रुत मार्ग पनि वर्षौंदेखि अलपत्र छ ।

बीपीनगर ।

माओवादीका सुदूरपश्चिम प्रदेशका सल्लाहकार सदस्य समेत रहेका गंगाराम जोशी प्रचण्डलाई प्रश्न गर्छन्, ‘१६ वर्षअघि तपाई सार्वजनिक भएको ठाउँमा अहिलेसम्म फर्केर किन आउनुभएन ?’

सशस्त्र द्वन्द्वकालमा कार्यकर्ताहरुका लागि खाद्यान्न बोक्ने काम गरेका स्थानीय केशरसिंह बम पनि राज्यले विकासमा विभेद गरेकै कारण कैलालीको चुरे, डोटीको बड्डीकेदार, जोरायल, बोगटान फुड्सिल गाउँपालिका पार्टी पछि परेको बताउँछन् ।
‘२०६४ सालमा भर्खर शान्ति प्रक्रियामा आएको माओवादीलाई बहुमत दिएर जितायौं । केही गर्छ कि भन्ने आश थियो तर सर्वसाधारणलाई आश देखाउने बाहेक केही भएन’, बमले गुनासो गरे ।

स्थानीय टेकबहादुर बोहरा भौतिक र आर्थिक प्रगति हुन नसके पनि सशस्त्र द्वन्द्वले सामाजिक, जातीय र लिंगिय विभेद घटेको बताउँछन् । ‘सामाजिक, जातीय र लैगिंक समानता जस्ता धेरै परिवर्तन भएका छन् तर मुख्य रुपमा यहाँको विकास जसरी हुनुपर्ने थियो त्यो भएको छैन’, बोहराले भने, ‘गरिबीको अवस्था भयावह छ । अहिले पनि भारतमा रोजगारी नगरे दुई छाक खान पाउने अवस्था छैन । शैक्षिक स्तर सुधार भएको छैन ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?