News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनले २०७९ भदौ २३ र २४ गते नेपालमा राजनीतिक उथलपुथल ल्यायो र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आन्दोलनका घटनाक्रमबारे खुलासा गर्नुभयो।
- प्रचण्डले २३ गते गोरखामा अभियानमा हुनुहुँदा आन्दोलनको दमनपछि काठमाडौँ आएर सरकारको आलोचना र तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्नुभएको थियो।
- २४ गते सिंहदरबारमा बसेर राष्ट्रपतिको संरक्षणमा अन्तरिम सरकार गठनका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको र माओवादीले राज्यसँग कारबाहीमा सहयोग गर्ने बताइएको छ।
जेनजी आन्दोलनले नेपाली समाज र राजनीतिमा उथलपुथल ल्याएको छ। युवा पुस्ताले राजनीतिको अग्रभागमा आउने प्रयास गरिरहेको छ। पुराना दलमा पुनर्गठनको तीव्र दबाब छ, नयाँ-नयाँ दल जन्मिइरहेका छन्।
जेनजी आन्दोलनका बेला भएका कतिपय घटनाक्रम अहिले पनि रहस्यमै छन्। कतिपय छानबिनको क्रममा छन्। यसैसन्दर्भमा हिमालय टिभीको ‘यक्ष प्रश्न’ टक शोका लागि प्रस्तोता निमेष बन्जाडेले नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको कुराकानी गरेका छन् ।
यो कुराकानीमा सरकारको गठन प्रक्रियामा भएका रोचक घटनाक्रम, नेपाली सेनाको भूमिका, भूराजनीतिक दबाब, पुरानो पुस्ताको बिदाईदेखि चुनावको तयारीसम्मका विषय कोट्याउने प्रयास गरिएको छ ।
भदौ २३ र २४ गते राजनीतिक उथलपुथल भयो, २३ गते तपाईं कहाँ हुनुहुन्थ्यो, के गरिरहनुभएको थियो?
म २३ गते मध्य पहाडी लोकमार्ग अभियान चलिरहेको थियो। म लमजुङबाट गोरखा हुँदै अगाडि बढ्दै थिएँ। यहाँ २३ गतेको आन्दोलनमा दमन भइसकेपछि र केही युवाहरूको मृत्यु भइसकेपछि हामीले त्यो अभियान रोकेर २३ गते राति नै काठमाडौँ आएर हामीले आकस्मिक ढंगले त्यतिबेलाको हाम्रो पदाधिकारीको बैठक बसेर दमनको भर्त्सना गरियो।
अनि केपी ओलीको सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ पनि भनियो। र ती २३ गते मारिएका सबैलाई सहिद घोषणा गर्ने निर्णय पनि गरियो र दोषीलाई कारबाही गर्न अविलम्ब अगाडि जान अपिल पनि गरियो।
यो निर्णय हामीले राति १० बजे गोरखाबाट आएर गरेका थियौँ। त्यसै दिन फेरि हामीले त्यतिबेलाको प्रतिपक्षहरूको पनि राय मिलाउनुपर्छ भनेर त्यतिबेला म प्रमुख प्रतिपक्षी दलको नेता हुनुको नाताले मैले राति नै सबैलाई खबर गरेर २४ गते बिहान साढे ८ बजे सिंहदरबारमा बोलाएको छु।
२३ गतेकै कुरा गरौं । काठमाडौँमा यस्तो बबन्डर हुँदैछ भन्ने थाहा पाएर तपाईं काठमाडौँ बाहिर जानुभएको हो ?
बिल्कुलै होइन। म सायद २१ गते गएको थिएँ । पोखरामा एउटा विशेष कार्यक्रम थियो व्यवसायीहरूको, उद्योग व्यापार महासंघको कार्यक्रम थियो। त्यसअघि कास्कीमा ल्याएर रोकिएको मध्यपहाडी अभियानलाई २२ गतेबाट फेरि निरन्तरता दिने हिसाबले लमजुङबाट त्यो सुरु गरिएको थियो। त्यसकारण २३ गते के हुन्छ भन्ने कुराको अनुमान हामीलाई सबै थिएन, यस्तै हुन्छ भन्ने अनुमान थिएन।
तर युवाहरूमा असन्तुष्टि छ, देशभरि जनतामा आक्रोश छ, सरकारले राम्रो गरिरहेको छैन, सुशासन भएन, भ्रष्टाचार भयो भन्ने कुरा त हामीले तराईमा हुँदाखेरि पनि झापादेखि कन्चनपुरसम्म त्यो अभियान चलाएकै थियौँ। त्यसले असाध्य सकारात्मक तरङ्ग ल्याएको थियो, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, आर्थिक समृद्धिका पक्षमा।
त्यसैमा हामी थियौँ। जब मैले युवाहरू, खासगरी जेनजी पुस्ताका युवाहरू केही मागहरू लिएर, सोसल मिडियामाथि लगाइएको प्रतिबन्धका विरुद्ध, भ्रष्टाचारका पनि विरुद्ध उनीहरूले माग राखेर आन्दोलन गर्दै छन् भन्ने थाहा पाएपछि सबभन्दा पहिला मैले नै वक्तव्य दिएर एउटा स्टाटस लेखेर यो आन्दोलनका माग सही छन् युवाहरूका, त्यहाँ बल प्रयोग नगरियोस् भनेर सरकारलाई खबरदारी पहिलो चोटी मैले गरेँ।
उनीहरूले त्यो ‘डिस्कर्ड’मा छलफल गरिरहेका छन् भन्ने पनि थाहा थियो तपाईंलाई ?
थाहा थियो। अलिअलि।
अपडेट हुनुहुन्थ्यो?
थाहा थियो मलाई। त्यसको बारेमा थाहा थियो। ‘नेपोटिजम’, ‘नेपो बेबी’, ‘नेपो किड्स’ आइराखेको छ । त्यो म हेरिरहेको थिएँ, साथीहरूले मलाई रिपोर्ट गरिरहनुभएको थियो।
तपाईंले संसदको रोस्टममा उभिएर “यस्तै निराशा जनतामा बढ्ने हो भने, कांग्रेस एमालेले यसै गरेर तपाईंहरू मात्रै मिलेर सबै लाद्न खोज्ने हो भने पार लाग्ने वाला छैन, मुलुक जनता एकदमै रिसाएका छन्। यो विस्फोट हुने स्थिति छ। बंगलादेश र श्रीलंकाको स्थिति नेपालमा पनि हुन सक्छ” भनेको एक वर्ष नपुग्दै त्यस्तै भयो नि यहाँ ?
त्यो त मेरो परिस्थितिको विश्लेषण, राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ कसरी गइराखेको छ, ट्रेनहरू, प्रवृत्तिहरू कता गएको छ भन्ने कुरा थियो ।

त्यसले गर्दा यसको डिजाइनर प्रचण्ड पनि हो भने नि ?
बिल्कुल होइन। यसको डिजाइनर प्रचण्ड भन्ने कुरा अर्थ लाग्दैन। तर प्रचण्डले समयमा नै सरकारलाई सतर्क गराएको थियो। जनतामा आक्रोश धेरै बढिसक्या छ, युवाहरूमा आक्रोश बढिरहेको छ। बंगलादेश, श्रीलंका लगायत विभिन्न देशमा यस खालका घटनाक्रम भइराख्या छन्।
त्यसकारण दुई तिहाइको घमण्ड गरेर सरकार बस्यो भने कुनै पनि बेला नेपालमा विस्फोट हुन सक्छ भन्ने कुरा मैले एक वर्ष अगाडि भनेको थिएँ। जतिबेला यो आन्दोलन २३ गते यस्तो होला भन्ने कुराको कल्पना गर्ने ठाउँ नै थिएन।
मैले त देशको समग्र परिस्थितिको हिसाब गरेर, जनताको मनोविज्ञान र मनोभावनालाई बुझेर र सरकारले गरिरहेको गलत क्रियाकलाप, कुशासनतिर जो सरकार प्रवृत्त भयो र दुई तिहाइको घमण्ड गर्यो। मैले त्यतिबेला भनेको थिएँ, “बंगलादेशमा त दुई तिहाइभन्दा बढी थियो शेख हसिनासँग, दुई तिहाइले काम गर्दैन। यो संख्याले गर्ने कुरा होइन। यो सुशासनतिर गएन भने कुनै पनि बेला जनता आउन सक्छन् ।”
मैले यसो भन्नुको मेरो तात्पर्य, मैले कुनै डिजाइन गरेको भन्ने होइन, मैले त सरकारलाई खबरदारी, यसो नगर भनेको हो । राजनीतिमा दूरदर्शिताको निकै ठूलो अर्थ र महत्व हुन्छ। अहिले म फर्केर हेर्छु, मैले कति सही बोल्या रहेछु भन्ने मलाई आफैँलाई गर्व भएको छ।
मैले एक वर्ष अगाडि परिस्थितिको विश्लेषण गरेर सरकारलाई जानेर खबरदारी गरेको थिएँ र चुनौती दिएको थिएँ, “तिमीहरूले गलत गर्यौ भने राम्रो हुँदैन” भनेर। अहिले त्यो फर्केर ती सबै रेकर्डहरू हेर्दा बिल्कुल परिस्थितिको वस्तुवादी विश्लेषण र दूरदर्शिता प्रदर्शन भएको रहेछ भनेर मलाई साँच्चै गर्वको महसुस भएको छ। अहिले त सबैले त्यो कुरा मानि पनि सके।
तपाईं डिजाइनर नभए पनि त्यो आन्दोलनमा कति माओवादी कार्यकर्ताहरू परिचालित हुनुहुन्थ्यो ?
मलाई कस्तो लाग्छ भने, हामीले एक वर्षसम्म जसरी सरकारको भण्डाफोर गरिनै रह्यौँ, सरकारले गरेका गलत क्रियाकलापको आलोचना हामीले गरिनै रह्यौँ, र हामीले जनतालाई र युवाहरूलाई पनि अपिल गरिनै रह्यौँ, ‘यसको विरोध गर्नुपर्ने हुन्छ, गलत भइरहेको छ’ भन्ने कुरा हामीले भनिनै रह्यौँ।
हामीले त्यो भनेको हुनाले र तपाईंले पहिलो प्रश्नमा जसरी सोध्नुभयो नि, २३ गते कहाँ हुनुहुन्थ्यो भनेर? त्यतिबेला गोरखामा पनि मैले यही भाषण गर्दै थिएँ, “सरकार गलत गरिरहेको छ, चाहिँ यसको विरोध गर्नुपर्छ” भनेको हुनाले युवाहरू वा हाम्रा पनि तलका कार्यकर्ताहरू “सरकार विरोधी आन्दोलन शान्तिपूर्ण रूपले हुन्छ” भनेपछि स्वतः जाने वातावरण बन्यो।
यो कुरा म स्वीकार गर्न चाहन्छु। जाने वातावरण हामीले एक वर्षदेखि हामीले प्रशिक्षित गरिरहेका थियौँ नि त मानिसहरूलाई, युवाहरूलाई, ‘केही बेठिक भइरहेको छ देशमा । ठिक गर्नको लागि सडकमा आउनुपर्छ मानिसहरू भन्ने कुरा भनिराखेको हुनाले माओवादी मात्रै होइन, अन्य युवाहरू पनि मेरो अभियानबाट अथवा हाम्रो त्यतिबेलाको पार्टीको अभियानबाट उत्प्रेरित भएनन् भनेर म भन्न सक्दिनँ, प्रेरित भए।
तर केही कार्यकर्ताहरू त तोडफोडमा लागे नि ?
अलिकति भन्न दिनुस् है। तर साँचो कुरा फेरि अर्को के हो भने, हामीले पार्टीबाट निर्णय गरेर २३ गतेको आन्दोलनमा सहभागी हुनु भनेर कुनै निर्देशन, कुनै अपिल, कुनै जारी गरेका थिएनौँ। हामीले यति भनेका थियौँ: “२३ गते जेनजी युवाहरूले उठाएका माग सही छन्। सरकारले बल प्रयोग नगरोस् ।
बरु माग पूरा गर्नतिर लागोस्” भनेर हामीले भनेको हुनाले २३ गतेको दिन हुनसक्छ, ठूलो संख्यामा माओवादी कार्यकर्ताहरू पनि तलका गए होलान्।
गएको छन् भन्ने पछि मैले थाहा पनि पाएँ। हुँदाहुँदा त हाम्रो पार्टीका कयौँ लिडरका छोराछोरी, नातिनातिना पनि गएका रहेछन् भन्ने पनि थाहा भयो। तर त्यतिबेला हामीले समर्थन गरेको, त्यो आन्दोलनलाई, मैले नै स्ट्याटस लेखेर समर्थन गरेको कारणले पनि त्यतिबेलाको माओवादी केन्द्र नजिकका युवाहरू पक्कै उत्प्रेरित भए।
“हाम्रो आफ्नै अध्यक्षले पनि समर्थन गर्यो” भनेपछि त जाने भए।
तर कुरा के छ त यहाँ भने, त्यतिबेला त जेनजी पुस्ताका युवा प्रतिनिधिहरूले सिडिओ कार्यालयमा गएर “शान्तिपूर्ण हुन्छ हाम्रो आन्दोलन” भनेर स्वीकृति लिएको जुलुसको लागि, र शान्तिपूर्ण हुन्छ भन्ने विश्वासले नै गए ती मानिसहरू।
२४ गतेको कुरामा भने त्यस्तो होइन जस्तो २३ गते थियो। २३ र २४ एउटै होइन, धेरै फरक छ २३ र २४ मा। २४ गते केही मानिसहरू धेरै तोडफोड नहोस् भनेर गएको भनेर रेकर्डहरू आइराख छ अहिले। तर माओवादीको कार्यकर्ताहरू आम रूपमा चाहिँ २४ गते छैनन्।

तर केही तस्बिरहरू सार्वजनिक भएन? तोडफोड, आगजनीमा संलग्न भएको। त्यसमा के भन्नुहुन्छ ?
हामीले पहिले नै एउटा वक्तव्य दिएर स्थिति हामीले स्पष्ट गरेका छौँ। जो साथीहरू देखियो नि भिडियोमा या टिभीमा या जसको फोटो देखिएको छ, उनीहरू जसले स्पष्टीकरण दिएका छन् कि “हामी त रोक्न गएको हो” भनेर प्रुफ हुन्छ भने त तिनलाई एक ढंगले हेर्ने।
होइन, तोडफोडमा संलग्न, यो विध्वंसको कार्यमा संलग्न जो कोहीलाई पनि हामी कारबाही गर्छौँ भनिएको छ र हामीले अहिले कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं । जसको प्रमाणित भएको छ तोडफोडमै लागेको देखिएकालाई कारबाही प्रक्रिया अगाडि बढिसक्या छ। म बडो स्पष्ट शब्दमा भन्न चाहन्छु।
पार्टी भित्रबाट या राज्यले कारबाही गर्छ भने पनि पार्टीको अब्जेक्सन छैन ?
राज्यले कारबाही गर्छ भने पनि हाम्रो सहयोग हुन्छ। मैले त्यो पनि बोलिसकेको छु । त्यस्तो सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन जलाउने या राष्ट्रपति भवन जलाउने काममा यदि कुनै कार्यकर्ता संलग्न छ भने राज्यले पनि दृढताको साथ कारबाहीको प्रक्रिया अगाडि बढाओस्, हाम्रो साथ हुन्छ।
पार्टीबाट त हामीले निकाल्न सुरु गरिनै सकेका छौँ त्यस्ता केही देखिएका मान्छेहरूको पत्ता लगाएर र अरू पनि प्रमाण आउँदै गयो भने हामी पार्टीबाट निकाल्छौँ र राज्यलाई कारबाहीको लागि हामी राज्यलाई सहयोग पनि गर्छौँ।
२४ गतेको विध्वंसमा संलग्न भएकाहरूलाई कारबाही गर्नको लागि छानबिन आयोगकै प्रतिवेदन कुरिरहनु परेन। राज्यले आफ्नो एक्सन लिन्छ भने लियोस्, माओवादी सहयोग गर्न तयार छ ?
माओवादी सहयोग गर्न तयार छ।
२३ गते रातितिर यो सरकार ढल्ने स्थिति आयो, साँच्चै अब जनताको विरोधको सामना गर्न केपी ओली नेतृत्वको सरकारले सक्दैन। त्यसकारणले कांग्रेससँग मिलेर फेरि अर्को नयाँ सरकार बनाउनुपर्छ भन्ने छलफलमा तपाईं हुनुहुन्थ्यो तर त्यो गठबन्धन मात्र सक्ने स्थिति आएन अर्को दिन त संसद नै सकिने स्थिति आयो भन्छन् नि ?
यो कुरा सत्य होइन। २३ गते बेलुका या २४ गते पनि मेरो नेपाली कांग्रेससँग या नेकपा एमाले कसैसँग पनि केही पनि कुरा भएको ।
कोही नेतासँग कुरा भ’छैन?
कसैसँग कुरा भएको छैन ।
महामन्त्री तहको नेताहरूसँग पनि कुरा भएको छैन ?
भएको छैन। २३ र २४ मा कुरा केही पनि भएको छैन। अब त्यहाँ जब स्थिति अलि बिकराल जस्तो देखा पर्यो २४ गते बेलुकासम्म पुग्दासम्म, बरु मेरो त्यसपछि भने २४ गते बेलुका भइसकेपछि र २५ गते बिहानबाट मैले संवाद सुरु गरेको छु।
राजनीतिक दलहरूसँग पनि, राष्ट्रपतिजीसँग पनि, प्रधान सेनापतिसँग पनि र कूटनीतिक नियोगका पनि सम्भव हुने जतिसँग स्थितिलाई सहजीकरण गर्नको लागि मैले २५ गते बिहानबाट सम्पर्क सुरु गरेको छु।
२३ र २४ मा छैन।
२४ गते तपाईंले सम्पादकहरूसँगको छलफलमा भन्नुभयो नि, “पाएको भए त हामीलाई पनि किचिमिचि पारिदिन सक्थे। अब सेनाले पनि जोगायो, त्यो पनि ठिकै हो। तर कताकता भूराजनीतिक चलखेल र भूराजनीतिले पनि नेताहरूलाई जोगाउने काम गर्यो कि” भनेर भन्नुभएको थियो। त्यसको केही संकेत पाउनुभएको थियो? यो भू-राजनीति यहाँ कति मिसियो ?
यो अलि धेरै संवेदनशील र महत्त्वपूर्ण प्रश्न हो। यसमा अहिलेको भूराजनीति मात्रै होइन, विगतदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता या नेपाली जनताको आत्मसम्मान अगाडि बढाउने क्रममा धेरै वीर विरङ्गनाहरूले बलिदान पनि गरेका छन्, ठुलठुला संघर्ष भएका छन्।
एउटा त हाम्रो राष्ट्रिय भावना, नेपाली जनताको देशभक्तिपूर्ण भावना र ठुलठुला शक्तिहरूसँग युद्धमा प्रदर्शन गरेको वीरता र शौर्य, बलिदानका ठुलठुला कीर्तिमानहरूले काम गरेको छ भने अर्कोतिर कहिँ न कहिँ अन्तर्राष्ट्रिय भूराजनीतिक स्थितिले पनि हामीलाई मद्दत गरेको छ। हामीलाई चुनौती पनि त्यही छ र हाम्रो सम्भावना पनि त्यसैभित्र छ।

पश्चिमा शक्ति भनिन्छ हैन, भारत पनि अहिले एउटा संसारकै एउटा शक्ति केन्द्रको रूपमा उदाइराखेको छ, चीन त अब प्रथम शक्ति हुनेतिर नै अगाडि बढेको छ। यो पश्चिमको शक्ति, दक्षिण, उत्तर, यी शक्तिहरूको आपसमा कहिले कन्टेन्सन अथवा झडप जस्तो स्थिति, अलि तनावको स्थितिमा जान्छन्, कहिले फेरिअलिकति सहजीकरणको स्थितिमा जान्छन्, त्यसैसँग नेपालको राजनीति पनि, नेपालको घटनाक्रमहरू पनि कहिँ कतै न कहिँ प्रभावित हुने नै गरेको छ, विगतदेखि नै।
अहिले पनि मैले कहिलेकाहीँ साथीहरूको बिचमा, बुद्धिजीवीहरूसँग कुरा गर्दा पनि भनेको छु: “हामी बाँचियो कसरी? २४ गते नेताहरू बाँचे कसरी? कल्ले बचायो? किन बचायो?”
म त सिंहदरबारमा थिएँ, २४ गते बिहान। प्रतिपक्ष दलहरूको बैठक चलिरहेको थियो। त्यो अलिकति लम्बियो। लम्बिनै जाँदा अरू साथीहरू अब सकिएपछि हिँड्नुभयो। मलाई सेक्युरिटीले बाहिर जानुभन्दा त यही सुरक्षित हुन्छ, सिंहदरबारमै भन्ने सुझाव दिए।
म त फेरि खाना खान खुमलटारै जाने हिसाबले गएको थिएँ त्यो प्रतिपक्षको बैठकमा । खाना बनाइराख्नु खान आइपुग्छु भनेर खुमलटारमै फर्किने उद्देश्यले गएको थिएँ। तर सेक्युरिटी, चारैतिर जुलुस जस्तो देखिसक्यो, सिंहदरबारको दक्षिण गेटको पुलिस बिट जलाइसक्यो। त्यसकारण “अध्यक्षजी, यसरी अहिले यहाँ बाहिर जानुभन्दा त यही बस्नु सुरक्षित छ है अहिले भने ।
कति जति बजेको थियो?
त्यही बिहान ११ बजेतिर। त्यसपछि सिंहदरबार भित्रकै सेक्युरिटीले आएर “यहाँ पनि सुरक्षित छैन” भने। मलाई विचित्र लाग्छ, “यहाँ पनि सुरक्षित छैन” भने त “जाऊँ बाहिर अब जे जे हुन्छ” भनेको थिएँ मैले। “जाऊँ बाहिर अब यसो अलिकति कतापट्टि अलि सहज छ, त्यहाँ सहजतिरबाट बाहिर निक्लिने” भन्दाखेरि सेक्युरिटीले नै भने, “अहिले त्यो बाहिर निक्लिने जस्तो पनि स्थिति बनेको छैन। दिउँसो बनेपछि निक्लौला। अहिले सुरक्षित हुने ठाउँ त सेनाकोमा हुन्छ” भनेर सुझाव दिए त्यहाँ प्रहरीले मलाई। त्यतिकै त जाने कुरा भएन।
मैले मेरी छोरी गंगालाई मैले सम्पर्क गर्न लगाए सेनापतिसँग “हामी तपाईं कहाँ आउनुपर्ने भयो” भनेर। मलाई कसैले लगेको पनि होइन। अरूको भन्दा मेरो अलि फरक छ त्यो दिन। जस्तो प्रधानमन्त्रीजीलाई हेलिकप्टरमा कुदाएर दौडादौड गरेर स्थिति । अरू मन्त्रीहरूलाई पनि त्यसरी नै । अरू कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि सेक्युरिटीले समातेरै तानेर लगेर गाडीमा हालेर अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबै भन्दा बिल्कुल फरक। त्यसपछि सेक्युरिटीले मलाई अहिले बाहिर जान उचित छैन भनेपछि त्यही बस्न खोजेको थिएँ ।
गंगाले सेनापतिसँग कुरा गरेपछि “भइहाल्छ नि” भनेर अनि हामी त्यही सिंहदरबार भित्र गइयो।
आफैं जानुभयो?
आफैँ गइयो।
कस्तो रेस्पोन्स भयो त्यहाँ?
राम्रो। म यो कुरा पनि इमानदारिता साथ म भन्न चाहन्छु। त्यहाँ गएपछि मलाई राम्रै सम्मानसहित लगियो र म जहाँ बस्ने भनिएको थियो, त्यो पनि राम्रो थियो र म बडो सहज ढंगले त्यहाँ बसेँ।
माधव नेपालजी पनि सँगै हुनुहुन्थ्यो?
माधव नेपालजी सँगै त हुनुहुन्थ्यो बैठकमा, तर आउने बेलामा माधवजीको स्थिति फेरि मेरो भन्दा अलि फरक भएछ। मैले सहज ढंगले गंगाले प्रधानसेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म । माधवजी हतार भएर दौडेर जानुभएछ, आफैँ जानुभएछ । त्यो अलि अर्को भवनमा। र उहाँ त्यही एउटै भवन रहेनछ। अलि अर्को भवनमा उहाँ बस्नुभएको रहेछ । भोलिपल्ट थाहा भयो मलाई।
कति दिन बस्नुभयो सिंहदरबारमा?
सिंहदरबारमा हामी २४, २५ र २६ गते राति, तीन रात बसियो।
तपाईंहरूको पनि मोबाइल उहाँहरूले राखिदिनुभयो?
त्यस्तो भएन। मैले मजाले मोबाइलबाट सबैतिर सम्पर्क गरिनै राखेँ। मलाई त्यस्तो केही समस्या भएन ।
कोसँग कुरा गर्नुभयो त्यो बिचमा टप लिडरहरू…?
सबैसँग नै कुरा गरेँ मैले।
शेरबहादुरजी त त्यस्तो अवस्थामा हुनुहुन्थ्यो…
शेरबहादुरजीसँग कुरा गर्न सम्भव हुने स्थिति थिएन। तर पनि कांग्रेसका केही नेताहरूसँग मेरो कुरा भइनै राख्यो ।
केपी ओलीजीसँग ?
त्यो दिन केपी ओलीजीसँग भएन मेरो। अनि २६ गते राति पहिला प्रधान सेनापतिले मलाई फोन गर्नुभयो।
पहिला उताबाट फोन आ’को?
उताबाट फोन आ’को। २६ गते राति। म खाना खान बसेको थिएँ। खाना खाने तयारी हुँदै थियो। ९ बजेतिर हो बेलुका। सेनापतिजीको फोन आयो। त्यसपछि उहाँले फोन राष्ट्रपतिलाई दिनुभयो। अनि राष्ट्रपतिजीले भन्नुभयो कि “यहाँ आउन पर्यो, तपाईं यहाँ आउन पर्यो र अलि सल्लाह गर्न पर्यो” भनेर भन्नुभयो ।देशको परिस्थिति यति जटिल छ, खाना त बरु एक दुई दिन नखाए नि केही हुन्न भनेर मैले पस्केको खाना पनि म आएर खान्छु अहिले राख भनेर अनि म गएँ।
कसरी जानुभयो?
सेनाले जस्तो व्यवस्था गरेको थियो, त्यसरी नै गएँ म, सेनाकै सुरक्षामा गएँ।
उहाँहरू कहाँ हुनुहुन्थ्यो?
को ?
राष्ट्रपति, प्रधान सेनापति?
शीतल निवास। शीतल निवासमै हो, राष्ट्रपति भवनमै हो, राष्ट्रपतिको निवासमै हो।
राष्ट्रपति शीतल निवासबाट एक दुई दिन बाहिर बस्ने स्थिति आयो कि आएन ?
आयो भन्ने छ। मैले यो कुरा यसरी राष्ट्रपतिजीलाई सोधेको छैन। तर मैले जतिबेला भेटेँ, उहाँ शीतल निवासमा, आफ्नै निवासमा हुनुहुन्थ्यो। त्यहीँबाट उहाँले फोन गर्नुभएको थियो। म पनि फेरि सेनाको सुरक्षासहित त्यहीँ गएको थिएँ। पछि हामी, राष्ट्रपतिजी, म, सेनापतिजी र वर्षमान पुन पनि हुनुहुन्थ्यो। पहिला राष्ट्रपतिजी, सेनापतिजी र हाम्रो बीचमा एकछिन अलि अनौपचारिक ढंगले परिस्थितिको थोरै समीक्षा भयो।
२६ गते राति?
२६ गते राति। १०-साढे १० तिर होला। त्यसपछि एकछिन पछि माधव नेपाल आइपुग्नु भयो।
तपाईंलाई थाहा थियो आउँदै हुनुहुन्छ भने?
मलाई थाहा थियो। ‘माधवलाई नै बोलाएको छु’ भन्नुभएको थियो राष्ट्रपतिजीले। त्यसकारण मलाई थाहा थियो। तर म गएको २०-२५ मिनेट पछि उहाँ आइपुग्नुभयो। त्यतिबेलासम्म हामीहरू कुरा गरिरहेका थियौँ।
त्यसपछि नेपाली कांग्रेसको नेताहरूलाई पनि बोलाउनुभएको थियो नै, त्यो कुरा त थाहा थियो मलाई पहिले पनि। तर कांग्रेसको नेताहरू आउनुभएन। त्यसपछि मैले नै नेपाली कांग्रेसको नेताहरू, खासगरी अहिले कार्यवाहक हुनुहुन्छ पूर्णबहादुरजीलाई मैले फोन गरेँ र “आउनुस् न, हामी त आइपुगेका छौँ” पनि भनेँ। उहाँहरूले सभापतिजीसँग एकचोटी सल्लाह गर्ने भन्नुभयो। सल्लाह गर्दागर्दै ढिलो भयो र अन्तिममा रमेश लेखकसमेतका अरू साथीहरू , ती तीन जना नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ आइपुग्नु भयो।
अर्को कोठामा अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजी र अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालजी हुनुहुन्छ भन्ने हामीले थाहा पाइराखेका थियौँ। राष्ट्रपतिजी र प्रधान सेनापतिले उता गएर कुरा गर्ने, त्यहाँ कस्तो-कस्तो हुन्छ त्यो यता रिले गर्ने, यता हामीले दिएको सुझावहरू फेरि उता रिले गर्ने गरेर रातभरि जस्तै चलिरहेको थियो।
त्यो छलफलको मेन एजेन्डा के थियो?
मेन एजेन्डा अन्तरिम सरकार बनाउने कुरा नै थियो। स्थिति असहज छ, त यसलाई सहज गर्नको निम्ति जेनजी युवाहरूले ‘डिस्कर्ड’मा जो भोटिङ इत्यादि गरेर सुशीला कार्कीलाई अगाडि सारिरहेका थिए।त्यसमा के गर्ने भन्ने विषय एउटा थियो। अनि यसो गर्नको लागि केही वैधानिकता पनि पूरा गर्नुपर्थ्यो। संविधानको मर्म र भावनालाई नै हेर्नुपर्थ्यो।
हामी राजनीतिक दलहरू र त्यतिबेलासम्म संसद त विघटन भइसकेको थिएन। म प्रमुख प्रतिपक्ष दलको नेतै थिएँ। केपी ओली राजीनामा दिए पनि कामचलाउ प्रधानमन्त्रीको रूपमैहुनुहुन्थ्यो। त्यो स्थितिमा नेपाली कांग्रेसको पनि नेताहरू आखिर सरकारमा त हुनुहुन्थ्यो। त्यतिबेलाको परिस्थिति संवैधानिक र कानुनी रूपले एउटा विशिष्ट परिस्थिति थियो र अन्तिममा सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो।
सुशीला कार्कीबाहेक अरू नामको पनि कुरा भएको थियो त्यहाँ प्रधानमन्त्री बनाउने विषयमा? उहाँ मात्रै हो?
भएन । उहाँ मात्रैको कुरा भयो। किनकि आन्दोलन त युवाहरूले, जेनजीवालाहरूले गरेका थिए। त्यसकारण जेनजीको भनाइलाई महत्त्व दिनु अनिवार्य थियो। जरुरी थियो। नत्र वातावरण… । आन्दोलनको माग त्यहाँ केन्द्रित थियो, त्यहाँ उहाँहरूले अगाडि सारेको र हामीलाई पनि आपत्ति नभएको। किन सुशीला कार्कीजी हुँदा हामीलाई फेरि आपत्ति हुने कुरो थिएन।
तर यो वैधानिकता र संवैधानिकता मिलाउने कसरी भन्ने जटिलता अलि बढी छलफल हाम्रो त्यहाँ थियो।
कानुनविद्हरूसँग लामै छलफल भयो !
कानुनविद्हरू पनि त्यहाँ हुनुहुन्थ्यो, लामो के गर्ने इत्यादि-इत्यादि।
त्यो धारामा टेक्ने स्थिति कसरी बन्यो ?
संविधान, राष्ट्रपतिको जिम्मेवारी भनौँ न, एउटा संरक्षकको रूपमा, अभिभावकको रूपमा राष्ट्रपतिले खेल्ने भूमिकाबारे संविधानको धारा ६१ मा छ । त्यसलाई प्रयोग गर्ने भन्नेमा हामी सर्वसम्मत भयौँ।
भनिन्छ नि आवश्यकताको सिद्धान्त, त्यसमा टेकेर राष्ट्रपति संरक्षक हुनुको नाताले उहाँले गर्न सक्नुहुन्छ भन्नेमा पुगियो।
अर्को कुरो त्यसमा अलिकति वैधानिकता बचाउन कहाँ खोजियो भने, अन्तरिम सरकार बनाउने, सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउने कुरा केपी ओलीको सिफारिस अनिवार्य हुन्छ। कमसेकम संविधानको मर्मअनुसार त प्रधानमन्त्रीले सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने भन्नेमा गइयो हामी । र सिफारिस राष्ट्रपतिजीले पहिले नै भनिसक्नु भएको रहेछ । सिफारिस पनि हामी त्यहाँ बस्दाबस्दै आइ पनि हाल्यो।
राष्ट्रपति नै भेट्न जानुभएको थियो केपी ओलीलाई?
राष्ट्रपति नै भेट्न जानुभयो र त्यहाँबाट सहमति लिएर आउनुभयो, अनि कागज पछि आएको छ ।
राष्ट्रपतिजी केपी ओलीजीलाई भेट्न कहाँ जानुभएको रहेछ ?
त्यो कुरा मैले सोधिनँ है।
तपाईंलाई थाहा छैन?
थाहा त छ अहिले त। पछि मेरो केपीजीसँग नै कुरा भएपछि थाहा पाएको हो मैले। उहाँ मकवानपुरको सुपारी टारमा हुनुहुन्थ्यो, ब्यारेकमा । जे होस्, सिफारिस आयो र त्यसमा अब राष्ट्रपतिजीले केपीजीसँग अथवा कुरा गर्दा नामको पनि सहमति भएको रहेछ ।
हो, यही सोध्दै थिएँ मैले। सुशीला कार्कीमा ओलीजीको पनि समर्थन हो?
हो।
होइन भन्नुहुन्छ त ?
त्यही त। केपीजी अलि यस्तै बठ्याइँ गर्नुहुन्छ र बिग्रिन्छ के ! देशले पनि दुःख पायो, उहाँले नि दुःख पाउनुहुन्छ।
भएको के भने, राष्ट्रपतिजीले हामीलाई भनेको- उहाँले केपीजीसँग भेटेर सहमति लिइसक्नु भएको छ सुशीला कार्कीको बारेमा। नामै, सुशीला कार्कीकै बारेमा उहाँले ल हुन्छ भनेर उहाँले भन्नु भएको भनेर हामीलाई ब्रिफिङ गर्नुभयो।
राष्ट्रपतिजीले ब्रिफिङ गर्नुभयो?
राष्ट्रपतिजीले। त्यो गरेको एकछिन पछि सिफारिस पत्र पनि आइपुग्यो। सिफारिसमा नाम लेख्नुभएको छैन उहाँले। तर राष्ट्रपतिजीले यो त औपचारिकताको लागि यसरी लेखेको हो, उहाँले मलाई सहमति दिसक्नु भएको छ सुशीला कार्की भनेर भनेपछि गो अहेड भएको त्यसरी हो।
तर ओलीजीले त अहिले पनि यो सरकार मानेनौँ, संविधान बाहिरबाट बनेको सरकार हो, यसको अर्थ छैन, औचित्य छैन, संसद पुन:स्थापना हुनुपर्छ, सर्वपक्षीय सरकार गठन गरौं भन्नुभएको छ ?
त्यसो भन्ने राजनीतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले । त्यो जबर्जस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार। उहाँले ब्ल्याङ्क चेक किन दिनुभयो त ? यदि उहाँले भनेको छैन भन्नुहुन्छ भने त्यो ब्ल्याङ्क चेक दिनुहुन्छ त राष्ट्रपतिलाई ? जसलाई बनाए नि हुन्छ भनेर दिने भनेको पनि त राष्ट्रपतिलाई त्यो त सिफारिस भयो। राष्ट्रपतिजीले त विवेक प्रयोग गर्ने ठाउँ त भयो नि। त्यसो भएपछि मैले भनेको होइन, मैले बनाएको होइन यो हा-हुमा भएको सरकार भन्न केपी ओलीले मिल्दै मिल्दैन। अरूले भन्न सक्छन्।
अनि त्यो संसद विघटनमा तपाईंहरू किन सहमत भएको?
हामी भएकै होइन नि! सुशीला कार्कीजीको नेतृत्वमा अन्तरिम सरकार बनाउने कुरामा सहमत भएकै हो। अनि त्यसको वैधानिकताको निम्ति त्यसलाई सदनबाट अनुमोदन गर्ने कुरा गरेका थियौँ हामीले। र, छोटो समयको लागि मात्रै सदन बोलाएर भए पनि निर्वाचनको मिति तोक्ने पनि सदनबाटै गर्ने र सदनलाई निष्क्रिय राख्ने अहिले । विघटन गर्ने भन्ने थिएन हाम्रो सुझाव। सदन निष्क्रिय होस्, सदनबाट नै अनुमोदन होस् भन्ने थियो। तर, त्यहाँ सहमति हुन सकेन।
सुशीला कार्कीजीले पनि मान्नु भएन?
सुशीलाजीको के थियो मनभित्र त्यो त थाहा छैन तर जेनजी युवाहरू र त्यतिबेला जेनजीको प्रतिनिधिको रूपमा जसले काम गरेका थिए, उनीहरूले सबभन्दा पहिला ‘संसद विघटन, संसद विघटन’ भनेको भन्यै गरेको त बाहिरै आएको थियो, तपाईंहरूले पनि देखिराख्नुभएको छ।
बालेनले पनि विघटन नगरेसम्म सपथ गराउनु हुँदैन भन्ने सुझाव दिरहनुभएको थियो नि !
हो। परिस्थिति त्यस्तो थियो। हामी चाहन्थ्यौँ सुशीला जी प्रधानमन्त्री भएपछि सदनबाट अनुमोदन होस् र निर्वाचनको घोषणा होस् ।
संसद जोगाउन सक्ने स्थिति थिएन, त्यसकारणले गर्दा विघटनका लागि अनुमति दिनुभयो ?
हामीले विघटनमा सहमति फेरि पनि दिएनौँ। त्यहाँ के भैदियो, नेपाली कांग्रेसको नेता साथीहरूले “शेरबहादुरजीसँग एकचोटी सल्लाह नगरी हामीले कुनै पनि कुरामा फाइनल डिसिजन दिन सकिँदैन” भनेपछि भोलिपल्ट बिहान, त्यो भनेको २७ गते बिहान बैठक बस्ने गरी हामी उठियो।
अन्तरिम सरकार बनाउने कुरामा सहमति भयो, सुशीला कार्कीजीलाई नै भन्नेमा सहमति गर्यौँ मैले र माधवजीले। नेपाली कांग्रेसको अलिकति बाँकी रह्यो सल्लाह गर्न। सहमति उहाँहरूको नि थियो। सभापतिजीको अलिकति निर्देशन नभइकन हामीले गर्न अहिले सकिएन भन्नुभयो । त्यहाँबाट सभापतिजीसँग कुरा गर्ने पनि कोसिस भयो तर उहाँ अलिकति स्वास्थ्य स्थितिका कारणले त्यो सम्भव भएन ।
र भोलिपल्ट बस्ने भनेर हामी ४ बजेतिर शीतल निवासबाट निस्कियौँ।
बिहान ४ बजे?
बिहान ४ बजे शीतल निवासबाट निस्केर मैले साढे ४ बजे आएर खाना खाएको हो । त्यो दिनको खाना ।
संसद विघटनको कुरामा कांग्रेसले पछि के खबर ल्याउनुभयो?
संसद विघटनको कुरामा राजनीतिक दलहरूको कसैको पनि सहमति थिएन।
कांग्रेसले पनि नगराउने भन्ने थियो? तपाईंहरू पनि नगराउने भन्ने थियो? एमालेको संवाद भइरहेको थियो कि थिएन त्यो बीचमा ?
राष्ट्रपतिजीले कुनै न कुनै रूपमा त गरिरहनु भएकै थियो । हाम्रो थिएन।
त्यसपछि यो जङ्गी अड्डामा जुन चहलपहल देखियो, सेनाको सक्रियता देखियो, त्यसको विकल्प केही थियो कि थिएन?
तत्काल विकल्प नदेखिएरै त्यस्तो भयो जस्तो लाग्छ मलाई। यसलाई त धेरैतिरबाट विश्लेषण पनि गर्न सकिन्छ, अनुसन्धान गर्नुपर्ने जस्तो पनि देखिन्छ। त्यसो गर्न उचित थियो कि थिएन भन्ने पनि विश्लेषण हुन सक्छ।
तर मेरो बुझाइ के छ, किनभने मैले २४ गते सिंहदरबारमै बसेर भनौँ न, प्रत्यक्ष देखेँ मैले आगजनी, तोडफोड । सिंहदरबार कसरी जलाइयो, यता पट्टि अगाडि पट्टिको ट्राफिक पुलिसको भवन सबै जलेको देखेँ । पाँच तला माथि थिएँ म, त्यहाँबाट त सबै देखिन्थ्यो। मैले प्रत्यक्ष देखेँ।
धेरै नै भावुक पनि भइयो हामी त्यतिबेला। यत्रो धरोहर, यस्तो इतिहास, नेपालको गौरव, विरासत आज जलेर आफ्नै आँखा अगाडि खरानी भएको … ।
हेरेर बस्नुभयो है?
अगाडि छ, देखिहालिन्छ, त्यो त हेर्ने त कुरा भइनै हाल्यो।
यो सेनाले जोगाएन, चाहेको भए सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय, अदालत जोगाउन सक्थ्यो भन्ने प्रश्न अहिले पनि जीवितै छ। यसको उत्तर सेनाले आफ्नो प्रष्टीकरण त दिएको छ। जनताले भन्छ, एयरपोर्ट जोगाउन सक्ने सेनाले घेराबन्दी गरेको भए तमान्छे भित्र त छिर्दैनथियो होला नि भन्ने पनि छ। तपाईंको बुझाइ के होला?
यो विषय पनि अलि धेरै नै गम्भीर, संवेदनशील र महत्त्वपूर्ण प्रश्न हो। के हुन्थ्यो होला भन्ने ? मैले अघि भने नि, प्रत्यक्ष देखेको हुनाले… सेनाले एक-दुई चोटी त रोक्न बल गरेको पनि देखेँ मैले फेरि। त्यो मेन गेट छ नि दरबारको, त्यहाँबाट मानिसहरू, भीड त्यहाँ तोडफोड गर्न, त्यसलाई भत्काउन खोजेको बेला रोक्न खोजेको, ‘टियर ग्यास’ हानेको पनि मैले देखेँ।
सेनाको तर्फबाट?
सेनाको तर्फबाट भित्रबाट। तर पटक-पटक झम्टिसकेपछि सकिने स्थिति भएन। सेनाले पनि अब सकेन भन्ने कि छोड्यो भन्ने कि, यो आफैँमा धेरै गम्भीर प्रश्न छ यो।
तपाईं अलि पहिला पनि ‘म यो विषयमा कन्फ्युज नै छु‘ भन्नुभएको थियो, अहिले पनि कन्फ्युज नै हुनुहुन्छ?
त्यो विषय अलि गम्भीरै छ। तर म पछि गएर मैले अघि भने नि, सेनापतिजीले २६ गते राति राष्ट्रपतिसँग ‘संकटकाल लगाएर सेनालाई उतार्ने अधिकार चाहियो, सेना राष्ट्रपतिको आदेश मान्न तयार छ, संकटकाल लगाएर आदेश चाहियो’ भनेर एउटा कागज लिइराख्नुभएको थियो सेनापतिजीले।
कहिले?
२६ गते राति। त्यो देख्दा सेना फेरि विधि-सम्मत आदेश भएको भए जस्तो सुकै स्थिति सामना गर्न पनि तयार रहेछ भन्ने पनि देखियो त्यहाँ।
२३–२४ मा पनि ?
२४ मा पनि देशमा संकटकाल लगाएर ‘सेना जाउ’ भनेको भए, विधिसम्मत तरिकाले, सेनापतिको त्यो भनाइ हेर्दाखेरि उहाँ जे पनि गर्न सरकारको आदेश या राष्ट्रपतिको आदेश… किनभने परमाधिपति त राष्ट्रपति हो नि त ! उहाँको आदेश मान्न तयार भएको देखिन्थ्यो। त्यसकारण सेनालाई सजिलै आरोपित गर्नु मैले उचित देख्दिनँ।
तर साथसाथै स्थिति कस्तो जटिल थियो भने, राष्ट्रपतिले तुरुन्तै संकटकाल लगाएर आदेश दिन पनि सजिलो थिएन। त्यसो गर्ने बित्तिकै फेरि धेरै मान्छे मर्ने खतरा छ भन्ने कुरा पनि सेनालाई थाहा थियो। थप मानिसहरूको क्षति भयो, मानिस मारिए भने परिस्थिति झन् जटिल बन्न सक्ने र राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायले ‘नेपाल असफल भयो, अब सेनाले पनि कन्ट्रोल गर्न सकेन, यत्रो मान्छेको क्षति भयो’ भन्ने पर्यो भने अनि विदेशी सेना आउन सक्ने खतराप्रति सतर्क हुनुपर्छ भन्ने चर्चा पनि थियो त्यहाँ।
त्यसकारण सेना गम्भीर थियो भन्ने मैले त्यहाँ गएपछि, देशप्रतिको माया पनि छ, परिस्थितिलाई कन्ट्रोल गर्नुपर्ने पनि छ, र अब विदेशी सेना आउने स्थिति नबनोस् भन्नेतिर जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि छ। बडो त्यो परिस्थिति यति चुनौतीपूर्ण भनौँ, स्थिति थियो।
साँच्चिकै डरलाग्दो स्थिति थियो। किनभने एकैछिन अलिकति बिग्रियो भने अर्को ठूलो दुर्घटना हुने, विस्फोट हुन सक्ने स्थिति ठूलो हुन सक्ने स्थिति थियो।
मैले भन्ने गरेको छु, हामीलाई पनि बोलाएर सेनापतिजीले, राष्ट्रपतिजीले वातावरणलाई सहज बनाउनको लागि एउटा समझदारीको वातावरण बनाउन जो भूमिका खेल्नुभयो, त्यसकारण मैले सेनापतिजीलाई, सेनालाई पनि म धन्यवाद भनेको छु। राष्ट्रपतिजीले पनि रातभरि त्यो बुढो मान्छे सुत्नुभएको छैन।
त्यो बीचमा पूर्व राजालाई फर्काउने गरेर पनि तयारी हुँदैछ भन्ने अर्को हल्ला चल्यो । यो माधव नेपालजीले पनि भन्नुभयो, एक पटक त कता हो, त्यो खालको तयारी पनि भा‘थ्यो तर ज्ञानेन्द्रले नै मान्नुभएन भन्ने सम्मको कुरा पनि आयो। तपाईंको मुखबाट सुनाउनुहोस् न !
त्यो र्युमर पक्कै पनि चल्यो । “आजै लाने रे, भित्रै जाने रे” भन्ने र्युमर चल्यो।
“नारायणहिटीमा सरसफाइ हुँदै छ रे” भन्ने सम्म हल्ला पनि चल्यो।
तर हामी २४ गते, २५ गते, २६ गते त्यहाँ गएर बस्दासम्म कतैबाट पनि त्यो पुष्टि भएन, त्यो होइन ।
प्रतिक्रिया 4