+
+

७ महिनासम्म बैठकमा नगएपछि जापानी सांसद निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १८:१५

३० फागुन, काठमाडौं। संसदमा सात महिनादेखि अनुपस्थित भएको भन्दै जापानी संसदले एक सांसदलाई पदबाट हटाएको छ ।

बीबीसीका अनुसार सांसद योसिकाजु हिगासितानी लामो समयदेखि बैठकमा उपस्थित नभएपछि संसदको अनुशासन समितिले संसद बैठकमा उपस्थित भएर माफी माग्न भनेको थियो । तर, त्यसपछि पनि उनी बैठकमा अनुपस्थित भएपछि अनुशासन समितिले सर्वसम्मतिमा उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन समितिको निर्णयलाई संसद बैठकले औपचारिकता भने दिइसकेको छैन । बीबीसीका अनुसार यसै साताको अन्त्यमा ती सांसदको पद रिक्त भएको अनुशासन समितिको निर्णयलाई संसद बैठकले औपचारिकता दिनेछ ।

जापानी सांसद योसिकाजु संसद बैठकमा अनुपस्थित हुनुको कारण हो- पक्राउ पर्ने डर । उनीविरुद्ध ठगीको मुद्दा विचाराधीन रहेकाले उनी संसद बैठकमा अनुपस्थित रहेका हुन् ।

पक्राउ पर्ने डरले संसदको अनुशासन समितिले संसद बैठकमा उपस्थित हुन भन्दा उनले युटुब च्यानलबाट जवाफ फर्काएका थिए । जहाँ उनले आफू टर्की जाँदै गरेको र सांसदको रुपमा आफूले पाउने तलब टर्कीको भूकम्प राहतमा दान गर्ने योजना बनाइरहेको उल्लेख गरेका थिए ।

सांसद योसिकाजु सेलिब्रिटी युट्युबर हुन्, उनी गत वर्ष संसदमा निर्वाचित भएका थिए । संसदमा उपस्थित भएर माफी माग्न आग्रह गर्दा युटुबबाट जवाफ फर्काएपछि अनुशासन समितिले सांसद पदबाटै खारेज गर्ने निर्णय गरेको हो ।

एक सांसद हमादा सातोशीले संसदमा अनुपस्थित भएका कारण सांसद पदबाटै हटाउनु गैरकानुनी भएको तर्क गरेका छन् । तथापि, अनुशासन समितिले सर्वसम्मतिले सांसद पदबाटै हटाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?