+
+

तिलोत्तमामा सुर्ती र गुट्खा बिक्रीमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १६:४५

१ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा पाँचवटा नयाँ घोषणा गरेको छ ।

जसमा नगरको ६ लेन सडकमा हर्न निषेध, पशु दर्ता र फोहरमैलाको वर्गीकरण सुरु र सुर्ती र गुट्खाजन्य पदार्थको बिक्री वितरण प्रतिबन्धजस्ता विषय छन् ।

नगर प्रमुख रामकृष्ण खांणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गरे । त्यस्तै तिलोत्तमा नगरपालिकाको ६ लेन सडकलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न पाउने छैनन् ।

नगरपालिकाले कुहिने र नकुहिने फोहर अलग—अलग रुपमा संकलन पनि सुरु गरेको छ । नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री—वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड—जरिवाना हुने पनि नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाले बुधबारदेखि पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खांणले जानकारी गराए । नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमति पत्र तथा पशुदर्ता प्रमाणपत्र दिने नगरपालिकाले जनाएको छ ।

रुपन्देही २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले विकास निर्माणको सवालमा सबै दल दलीय घेरा भन्दा माथि उठेर एकताबद्ध बन्न जरुरी रहेको बताए । सरसफाइका क्षेत्रमा तिलोत्तमाले गरेको प्रयास र कामहरु दुरगामी र अनुकरणीय रहेको उनले बताए ।

रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले तिलोत्तमालाई वातावरणमैत्री र प्रांगारिक नगरको रुपमा विकास गर्न सुझाव दिए । पूर्वसचिव लिलामणि पौडेलले हरेक नगरबासीमा सरसफाइको चेतना जागेमा पूर्ण सरसफाइयुक्त नगर सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?