+
+

विद्या भण्डारीले निजी बनाइन् राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १०:०४

३ चैत, काठमाडौं । राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् ।

हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् ।

भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपति पौडेलको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको छैन ।’

राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ । डा. रामेश कोइरालाले विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नु होला ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले भने आफ्नो ट्वीटर ह्याण्डल संशोधन गरेका छन् । यसअघि कांग्रेस नेता हुँदासम्म एनसी पौडेल नेपाल ट्वीटर ह्याण्डल रहेकोमा राष्ट्रपति निर्वाचित भएपछि त्यसलाई संशोधन गरी आरसी पौडेल नेपाल लेखिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मन्त्रालयले प्रयोग गर्दै आएको सामाजिक सन्जालको विवरण पनि राष्ट्रिय सम्पत्ति हुने भएकाले त्यसलाई हस्तान्तरण गर्ने प्रचलन छ । तर नेपालमा यो प्रचलनको अनुसरण हुने गरेको छैन ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रयोग गर्दै आएको प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डल त्यसपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिएनन् । त्यसपछि देउवाको सचिवालयले PM_nepal नामको ट्विटर ह्यान्डल बनाएर प्रयोग गरेको थियो । देउवापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यही ह्यान्डल प्रयोग गरिरहेका छन् ।

यसअघि पूर्व सभामुख ओनसरी घर्तीले सभामुखको औपचारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?