+
+
उहिले र अहिले :

हिउँको रहर

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ चैत ४ गते ८:११

स्थानीय कार्यक्रमको व्यस्तताबीच दिउँसो तीन बजेतिर जीवनजी (पत्रकार जीवन लामा) को फोन आयो । यो गत फागुन १३ गतेको कुरा हो । उक्त दिन कालिञ्चोकमा हिमपात भएको थियो । हामी होटल व्यवसायी हरि ओली (कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका सञ्चालक) को निमन्त्रणामा कालिञ्चोक जाँदै थियौ ।

पुसको पहिलो हप्ताबाटै दोलखाको कालिञ्चोक, शैलुङ, खरीढुंगा, चेर्दुङ जस्ता उच्च पहाडी भेगमा हिमपात हुने गरेकोमा यो वर्ष फागुनको दोस्रो हप्ता लाग्दै गर्दा पनि हिमपात त के वर्षाको सम्भावना समेत देखिएको थिएन । गुगलको अनुमानमा हिमपात र वर्षाको प्रतीक्षा गरिरहेका दोलखाका कृषक, होटल व्यवसायी र हामी सञ्चारकर्मीहरु पटकपटक निराश भइरहेका थियौं ।

फागुन १३ गते दिउँसो कालिञ्चोक र शैलुङमा हिमपात भएको खबरले हामी खबरकर्मी साँच्चै उत्साहित बनेका थियौं । हाम्रो उत्साह, चञ्चलता र कालिञ्चोक पुग्ने व्यग्रताले हामीभित्र पलाएको हिउँको रहर प्रष्फुटित भइरहेको थियो । विडम्बना के भइदियो भने चरिकोटबाट हतारिंदै देउराली उक्लिएका हामीलाई त्यो दिन कालिञ्चोक पुग्ने सौभाग्य जुर्दै जुरेन । मत्यार तामाङले चलाएको बोलेरोले हिलाम्य सडक छिचोल्न नसकेपछि हामी देउरालीबाटै फर्किन बाध्य भयौं ।

मनमा हिउँको रहरले डेरा जमाइसकेकाले हाम्रो गन्तव्य भोलिपल्ट (फागुन १४ गते) सखारै उनै मत्यार तामाङको बोलेरोले पहिल्याउन सक्योे ।

हरेक वर्ष पुस-माघदेखि नै हिउँले छपक्कै छोप्ने कालिञ्चोक कुरी आसपास देखिएका हिउँका केही रास र छानामा पग्लिन ठिक्क परेका हिउँका थुप्रा देख्दा पनि यतिबेला हाम्रो मनमा उत्साह र उमंगको चक्लेटी मिठास अनुभूति भइरहेको थियो । किनभने यो वर्षकै पहिलो हिमपात थियो कालिञ्चोकमा । त्यो पनि पृथ्वीको फन्को सूर्यको निकट पुगेर तापको वृद्धि हुने फागुन अन्त्यतिर ।

चिरञ्जीवी मास्के

माघ १ गते जन्मिएको म । भनौं भने हिँउको थुप्रोमा लुटपुटिंदै, हिउँकै बाफले सेकिएर हुर्कीएको हुँ । किनभने आधा शताब्दीअघि कालिञ्चोकमा मात्र होइन, चरिकोटमै हिउँको पहाड हप्तौं ठडिइरहेको हुन्थ्यो ।

गौरीशंकर हिमालको आडमा फल्याकको छाना भएको घरका धुरीबाट सखारै हिउँका तप्केनी बलेसीमा खस्दै गर्दा सूर्यका सप्तरंगी इन्द्रेणीले सानो तर सुन्दर चरिकोटलाई हिमाली गाउँको एउटा बस्ती जस्तै बनाइदिन्थ्यो ।

२०३८÷०४० सालतिर पुस-माघको हिउँ सिजनमा रातभरि हिमपात हुँदा भोलिपल्ट बिहान ढोका खोलेर बाहिर निस्कन मुश्किल हुने गथ्र्यो । एक फिटभन्दा बढी हिउँ पर्ने भएकाले ढोका खोल्न सूर्यले पूर्वबाट पश्चिमको लागि प्रस्थान गरेको रफ्तारसँग उक्लिंदै गर्ने गर्मीको पारो कुर्नै पर्ने । घरको आँगन र बलेसीमा त हप्तौं हिउँ देख्न सकिन्थ्यो । चिसो यतिधेरै कि पोखरी र खोला-खोल्सीमा हिउँ जमेर सिसा जस्तै हुन्थ्यो ।

चरिकोटको बीच बजार र पशुपति डाँडामा रहेको एकाध घरले गौरीशंकर हिमाललाई छेक्ने सम्भावना नभएकैले पुस-माघमा झट्ट चरिकोट उत्रिने पर्यटकलाई यो त हिमालसँगै जोडिएको गाँउ पो रहेछ भन्ने भ्रम पथ्र्यो । सिमीगाउँबाट ना, बेदीङ र च्छो रोल्पा उक्लिने पैदलमार्गीले नजिकबाट फेरो मार्दै गन्तव्य पहिल्याउन सहजता महसुस गर्न ऊर्जा दिने गौरीशंकर हिमाललाई चरिकोटको सम्मुख प्राप्त गर्नु जीवनको एउटा सुन्दर अवसर नै भन्नु पर्छ । जुन अवसर हामी चरिकोटेले हरेक पल प्राप्त गरिरहेका हुन्थ्यौं ।

तर समाज फेरिएको छ । बस्ती विस्तार र धुँवाधुलोको दादागिरीले पृथ्वीका केही नियमहरु परिवर्तन भएका छन् । र, त अब पुस-माघमा हिउँ झर्न छोडेको छ चरिकोटमा । चरिकोटमा मात्र होइन, यो वर्ष त कालिञ्चोक, शैलुङ, चेर्दुङ, मूडे-खरीढुंगातिर पनि हिउँ झर्न सकेन ।

त्रिपुरासुन्दरीको बहिनी कालिञ्चोक भगवती दोलखाबाट चरिकोटको हिउँबाटो पहिल्याउँदै कालिञ्चोक टापु उक्लिएको किंवदन्ती सुन्दा हामीलाई उतिबेला खासै आश्चर्य लागेन । किनभने पुस-माघमा हिउँको लेकै त थियो चरिकोट । हिउँको भुवादार कार्पेटमा कोमल पाउले स्पर्श गर्दै कालिञ्चोक भगवतीले चरिकोटबाट कालिञ्चोक टापु उक्लिंदाको साक्षी त्यतिबेला पैदलमार्गको दायाँ-बायाँ हिउँले नै थिचिएर पुड्का देखिने घँघारु, चोत्रो, ऐंसेलु र वनभारेको बुट्यान मात्र त थियो ।

मलगायत केही साथीले पत्रकारिता गरेको सुरुका दिनहरुमा पनि केही वर्षको अन्तरालमा चरिकोटलाई हिउँले झपक्क छोपेको हुन्थ्यो । कालिञ्चोक, सिन्धुपाल्चोकसँगको सिमाना मुडे-खरीढुंगा, ऋषिहरुको तपभूमि सय थुक्काको शैलुङ, चेर्दुङ लगायत उच्च पहाडी भेगमा त पछिल्लो वर्षसम्म पनि हिउँले यातायात र मानिसको आवतजावतमा समस्या पारेको समाचार हामीले लेखेकै हौं । यी उच्च पहाडी भेगमा हिउँ सिजनमा रिपोर्टिङ गर्न जाँदा भोक, प्यास र ठण्डीले सताएको पल रोमाञ्चक पीडादायी हुने गथ्र्यो ।

मलाई सम्झना छ- राजेन्द्र, केदार, रमेश लगायत हामी केही पत्रकारहरु खरीढुंगामा यातायात समेत अवरुद्ध हुनेगरी हिमपात भएको रिपोर्टिङका लागि पुगेका थियौं । राति अबेर चरिकोट फर्कंदा बिजुली नभएर समाचार पठाउन पाइएन । त्यो दिन चरिकोटमा समेत हिमपात भएकोले खरीढुंगा नपुगेका पत्रकार साथीहरुले काम गर्ने पत्रिकामा फोटोसहित समाचार आयो, हामी चाहिं चिल्लै । यो केही वर्षअघिको मात्र कुरा हो । ऐंठन हुन्छ काउकुती लाग्नेगरी त्यो पल सम्झिंदा ।

खै समय फेरियो कसरी भनौं । सूर्यले अहिले पनि पूर्वबाटै पृथ्वीको फेरो सुरु गरेर पश्चिम पुगेर केही घण्टाको लागि अलप हुने नियमितता छोडेको छैन । चरिकोटबाट गौरीशंकर हिमाल अहिले पनि देखिन्छ र गौरीशंकर हिमश्रृङ्खलाको अन्तिम बिन्दुमा रहेको नुम्बुर हिमाल (यो स्वीटजरल्याण्डको माताहाङ हिमाल जस्तै भएकोले यसलाई कतिले माताहाङ समेत भन्ने गरेको राजेश उप्रेती भाइले सुनाउँदै थिए) बाट सखारै सूर्य उदाउने क्रम उस्तै छ ।

२४ घण्टाको दिनरातमा पनि तलमाथि भएको थाहा छैन । तामाकोसी उही रफ्तारमा बगिरहेको छ । कालिञ्चोकको टापुमा रहेको कुण्डमा अहिले पनि उसैगरी पानी चिहाउन सकिन्छ । मुलुकमा हुने परिर्वतन या विपद्को संकेत दिन अहिले पनि भीमेश्वरको शिलाबाट पसिना बगेकै छ । शैलुङका सय थुम्बा अहिले पनि उसैगरी उभिएका छन् । देउलाङ्गेश्वर महादेव थान रहेको स्थानमा शिवले सतीदेवीलाई ल्याएर कैलाशको दर्शन गराएको स्वस्थानी कथा माघ शुक्लपूर्णेबाट एक महिनाको लागि अहिले पनि धेरै घरमा वाचन भएकै छन् । ठण्डी मौसममा च्छोरोल्पा हिमताल जमेर मानिस दौडन मिल्ने भूमि बन्ने कुरा अहिले पनि रोकिएको छैन । जिरी बजार बीचको खोल्सी अहिले पनि उसैगरी सुसाइरहेकै छ ।

तर समाज फेरिएको छ । बस्ती विस्तार र धुँवाधुलोको दादागिरीले पृथ्वीका केही नियमहरु परिवर्तन भएका छन् । र, त अब पुस-माघमा हिउँ झर्न छोडेको छ चरिकोटमा । चरिकोटमा मात्र होइन, यो वर्ष त कालिञ्चोक, शैलुङ, चेर्दुङ, मूडे-खरीढुंगातिर पनि हिउँ झर्न सकेन । फागुनको अन्तिममा एकाध दिन आकाशमा बादल मडाडिएर हिउँको छिर्का झर्दापनि हामी दौडिएर कालिञ्चोक पुग्न आतुर हुनुपर्ने दिन आयो । हिउँमै लुटपुटिएर जन्मिएको हामीलाई हिउँको रहर भयो ।

हिउँ झर्नु पनि कसरी ? कालिञ्चोक, शैलुङ, खरीढुंगा, चरिकोट उहिलेको जस्तो भर्जिन कहाँ रह्यो र ? ऐंसेलु, चोथ्रो, घँघारुहरुको पोथ्रा भएका चरिकोटको डाँडाचौरहरुमा अहिले रड, सिमेन्ट र बालुवाको कंक्रिट भवन ठडिएका छन् । हिउँमा चिप्लिंदै अघि बढ्ने कालिञ्चोकको दुबेचौरमा अहिले जस्ताका छाना टल्किने आकार आकारका टहरा देखिन्छन् । खरीढुंगाको उचाइमा धुँवा फाल्दै सवारी साधन मात्र हुँइकिंदैनन् घरहरु समेत थपिंदै गएका छन् । शैलुङको थुम्का मासेर भ्युटावर बनेको छ ।

बढ्दो सहरीकरणले अमेरिका, बेलायत, जापानतिरको ठूलाठूला सहरको झझल्को त मेटाउला तर नेपालको पहाडी थातथलोलाई भौगोलिक तथा वातावरणीय सुन्दरता क्रमशः खण्डित गरिदिएको छ । आधुनिक विकासको रफ्तारमा विगतको भर्जिन भूगोल मात्र खोज्नु त ठीक नहोला तर आधुनिकतालाई इतिहासको तथ्य परिधि ननाघ्ने गरी व्यवस्थापन गर्न सकिंदैन थियो होला र ?

हिउँ नझरेपनि कालिञ्चोकको सुन्दरता घटेको छैन, शैलुङको सय थुम्का ठडिएकै छन्, खरीढुंगा र मुडेको महत्व उस्तै लाग्छ, तर हिउँको रहर समुन्द्रमा मडारिएको छाल जसरी मनभित्र मडारिरहेको छ ।

हिउँको रहर । हामी त आउँदा वर्षमा पनि हिउँको रहर पूरा गरौंला किनभने यो वर्ष हिमपात नभएपनि आउँदा कुनै न कुनै वर्ष पक्कै हिमपात हुने नै छ । हाम्रो एक सहकर्मी, लेखक एवं पत्रकार शेरबहादुर भुजेलको चाहना भने उनको शरीरसँगै धुँवा बनेर तामाकोशी किनार आसपास विलिन भएको छ ।

शेरबहादुर भुजेललाई हिउँको रहर थियो कि थिएन थाहा छैन । दोलखाबाट चरिकोटको हिउँबाटो हुँदै कालिञ्चोक टापु उक्लिएको शक्तिमाता कालिञ्चोक भगवतीको दर्शन गर्ने चाह भने रहेछ । उनको मृत्युपछि जीवन लामाले भन्दैथिए- ‘मेरो मनमा एउटै खुट्को रह्यो, शेरबहादुरलाई कालिञ्चोक लैजान सकिनँ’ । किनभने शेरबहादुरले उसलार्ई कालिञ्चोक लैजाऊ है भनेका रहेछन् ।

फागुन १४ गते हामी कालिञ्चोक पुगेर फर्कंदा शेरबहादुर भुजेलसँग चरिकोटको सातदोबाटो चोकमा भेट भएको थियो । त्यतिबेला उनले जीवनलाई गाली गर्दै थिए- ‘मलाई किन नलगेको भनेर ।’ विडम्बना शेरबहादुर भुजेलको फागुन २३ गते बिहान सुतेकै ठाँउमा निधन भयो । जीवन लामा अहिले पनि थकथकाउँदै भन्छन्- ‘शेरबहादुरलाई कालिञ्चोक लैजान पाएको भए अरु केही वर्ष बाँच्ने पो थियो कि ? मेरो मनको खुट्को यही छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?