+
+

कर्मचारी माथिको आक्रमण नरोकिए बैंकिङ सेवा अवरुद्ध हुनसक्छ : बैंकर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १४:५६

३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए कर्मचारीको सुरक्षाका लागि बैंकिङ सेवा नै रोकिन सक्ने चेतावनी उनीहरुले दिएका छन् ।

शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी जस्ता घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ ।

‘अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । कर्मचारीमाथि हुने सांघातिक हमला नरोकिएमा कर्मचारीहरुको सुरक्षा निम्ति बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहने उनीहरुले बताएका हुन् ।

बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंकरहरुले बताएका छन् ।

‘निक्षेपकर्ताको बचतलाई सुरक्षण दिंदै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडि बढीरहेका छौं । यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौं’ नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?