+
+

प्रचण्ड आफैंले अस्थिरताको अगुवाइ गर्दैछन् : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १२:३३

४ चैत, हेटौंडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।

‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्‍याउने गरी उहाँले भूमिका निर्वाह गर्नुभएको छ’ उनले भने, ‘एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय प्रधानमन्त्रीले निर्वाह गर्नुभएको छ । यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ ।’

नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए । ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ उनले भने ।

नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको विष्टले बताए । कुनै नीति, सिद्धान्त, विचार र निश्चित मापदण्ड बिना बनेको यस्तो गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने उनले बताए । नेकपा एमालेलाई कमजोर बनाउनका लागि कसैले अह्राएको वा सिकाएको आधारमा अरु दलहरु एक ठाउँमा आएको उनको भनाइ छ । सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको बताए ।

सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई थप समस्यामा परेको बताए ।

‘कृषिजन्य उत्पादनमा बार्षिक ३ खर्ब भन्दा बढी नेपालले आयात गर्ने एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसलाई कम गरेर किसानहरुलाई सुविधा दिने, अनुदान दिने कृषि क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर बनाउने बिषय परै जाओस्, मल, बीऊलगायतका अत्यावश्यक वस्तुमा मुल्यवृद्धि गर्ने, उत्पादन लागत बढाएर देशलाई परनिर्भर बनाउने काम सरकारबाटै भइरहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?