+
+
अग्रपथ :

वैचारिक द्विविधा र गुट-संघर्षले खोक्रिएको कम्युनिष्ट-वृक्ष

कम्युनिष्टहरूले विश्वभरि र नेपालमा पनि दार्शनिक, वैचारिक र नैतिक पराजय स्वीकार गरिरहेका छन् । तर, उनीहरूको राजनीतिक र संगठनात्मक शक्ति भने अझै कायम छ । यही अन्तरविरोध र द्विविधा एक ‘महान् द्विविधा’ बनेको छ । यो द्विविधाले उनीहरूलाई मात्र छोएको, पिरोलेको भए केही थिएन, तर यसले देश र जनतालाई पनि पिरोलेको छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ चैत ५ गते ९:१९

सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले ‘कम्युनिष्ट घोषणापत्र’ लेखे- लन्डनमा, जर्मन भाषामा । तर, धर्तीको पहिलो कम्युनिष्ट क्रान्ति भने न जर्मनीमा भयो न बेलायतमा । कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको ६९ वर्षपछि पहिलो कम्युनिष्ट क्रान्ति रूसमा भयो, लेनिनको नेतृत्वमा ।

कार्ल मार्क्सको मृत्यु हुँदा लेनिन १३ वर्षका थिए । माक्र्ससँग कहिल्यै भेट भएन उनको । बुढ्यौलीमा पुगेका एंगेल्ससँग लेनिनको जम्मा एकपटक भेट भयो तर खासै यादगार रहेन । लेनिनले राजनीति सुरु गर्नुअघि नै ‘कम्युनिष्ट घोषणापत्र’ को रूसी अनुवाद प्लेखानोभले गरिसकेका थिए ।

सन् १९१७ को लेनिन नेतृत्वको अक्टोबर क्रान्तिले रूसमा बोल्शेभिक पार्टीलाई सत्तामा ल्यायो । सन् १९२३ मा युरेशियन तथा ट्रान्सककेसियन देशहरूको संघका रूपमा त्यसलाई सोभियत समाजवादी गणतन्त्रहरूको संघ (युएसएसआर) र सजिलोका लागि ‘सोभियत संघ’ भन्न थालियो । ‘कम्युनिष्ट सत्ता’ र ‘सोभियत संघ’ सँगसँगै जन्मिएका थिएनन्, तर यिनीहरूबीचको लगनगाँठो यति बलियो थियो कि मर्दा सँगसँगै मरे ।

सन् १९९१ मा दुवै एकैपटक पतन भए । बोल्शेभिक पार्टीको ‘एक पार्टी शासन राज्य’ (वान पार्टी रुल स्टेट) मात्र समाप्त भएन, लगत्तै सोभियत संघ १५ वटा गणराज्यहरूमा टुक्रियो । संसारको पहिलो कम्युनिष्ट सत्ताको सन् १९१७ देखि १९९१ सम्मको ७४ वर्षको उत्थान र पतनलाई ‘पाँच अ’ ले बडो राम्रो गरी चित्रण गर्न सकिन्छ । ती हुन्- आशा, आशंका, अवरोह, अवरुद्धता र अधपतन ।

लेनिन नेतृत्वको क्रान्ति र नयाँ सत्ताको स्थापनाले विश्वभरि नै एक नयाँ आशा जगाएको थियो । उनले यसलाई ‘सर्वहारा समाजवादी क्रान्ति’ संज्ञा दिएका थिए । यस्तो नाम पाएको यो विश्वकै पहिलो क्रान्ति थियो । यस्तो क्रान्तिले स्थापित गरेको सत्ता कस्तो होला ? शासनप्रणाली कस्तो होला ? त्यहाँ नागरिक स्वतन्त्रता र लोकतन्त्रको स्थिति के कस्तो हुन्छ ? अर्थतन्त्र कस्तो हुन्छ ? यावत् जिज्ञासा र आशाहरू थिए । किनकि लेनिनले त्यो बेला युरोपमा प्रभावशाली भइरहेको ‘बुर्जुवा संसदीय लोकतन्त्र’ को विकल्प दिने उद्घोष गरेका थिए ।

यही आशाले विश्वभरि कम्युनिष्ट आन्दोलन फैलियो । लेनिनले आफ्नै नेतृत्वमा ‘कोमिन्टर्न’ बनाएर सोभियत राज्यको खर्चमा विश्वभरि कम्युनिष्ट विचार, साहित्य, पार्टी र राजनीतिज्ञहरूको प्रवर्द्धन गरे । मस्कोको प्रगति प्रकाशनले संसारका १०० बढी भाषामा माक्र्सवादी-लेनिनवादी विचार र सोभियत साहित्यका किताब अनुवाद गरी सस्तो मूल्यमा वा एकप्रकार सित्तैं बाँड्न थाल्यो ।

कतिपय देशमा जहाँ कम्युनिष्ट पार्टीहरू स्थापना भएकै थिएनन् त्यहाँ ‘कोमिन्र्टन’ प्रतिनिधिहरूले पार्टी गठन गर्न भूमिका खेले । भारतमा एमएन रोय र चीनमा मिखाइल बोरोदिनले कम्युनिष्ट पार्टी स्थापनाका लागि लेनिन र ‘कोमिन्र्टन’ को प्रतिनिधिका रूपमा भूमिका गरेका थिए । लेनिनले सोभियत संघलाई विश्वसत्ताको एक केन्द्र बनाउन खोजेका थिए । राजनीतिमा सोभियत शासन प्रणाली र अर्थतन्त्रमा ‘नेप’ विश्वकै लागि नयाँ विकल्प मानिन्थे । समग्रमा लेनिनको युग विश्व कम्युनिष्ट आन्दोलनप्रति ‘आशाको युग’ थियो । त्यो कसरी अगाडि बढ्छ भन्ने व्यवहारबाट प्रष्ट भइसकेको थिएन ।

बोल्शेभिक पार्टी र सोभियत सत्तामा जोसेफ स्टालिनको उदयले आशालाई समाप्त गर्‍यो र ‘आशंकाको युग’ सुरुवात गर्‍यो । स्टालिनको उदय आफैंमा एक ‘कु’ जस्तो थियो, त्यसको कुनै लोकतान्त्रिक वैधानिकता थिएन । उनी कुनै चुनाव वा पार्टी महाधिवेशनबाट हैन, लेनिन बिमारीले थला परेको फाइदा उठाएर पाँच जनाको पार्टी पोलिटब्युरो बैठकको बहुमतबाट पार्टी र राज्यसत्तामा स्थापित भए ।

त्यतिखेरै विश्वभरि प्रश्न उठिसकेको थियो, के लेनिनले गरेको नयाँ क्रान्ति, स्थापना गरेको सर्वहारा सत्ताको चरित्र, सत्ता हस्तान्तरणको विधि र प्रक्रिया यही हो ? स्टालिनको उदयसँगै पश्चिम युरोप, अमेरिका, ल्याटिन अमेरिका र अरब जगतमा कम्युनिष्ट पार्टी र शासनप्रतिको आकर्षण समाप्त भयो । स्टालिनप्रतिको विरक्तिले ‘न्यू लेफ्ट’, ‘युरो कम्युनिज्म’ र ‘बाथ आन्दोलन’ हरू जन्मिए । तिनले माक्र्सवाद-लेनिनवाद मान्ने तर स्टालिनवाद नमान्ने उद्घोष गरे । यस्ता विचार र आन्दोलनले ‘बुर्जुवा संसदीय लोकतन्त्र’ को अझ उन्नत विकल्प दिने भनिएको कम्युनिष्ट आन्दोलनलाई जबर्जस्त तानेर ‘बुर्जुवा संसदीय लोकतन्त्र’ भित्रै ल्याउँथ्यो ।

आज सर्वहारा अधिनायकत्व, सर्वहारा राज्य, उत्पादन साधनको राष्ट्रियकरण, निजी स्वामित्वको अन्त्य, मुनाफा, अतिरिक्त मूल्य र बजारको अन्त्य, एकदलीय सोभियत प्रणाली जस्ता कम्युनिष्ट विचारका मौलिक विशेषताको चर्चा गर्ने हो भने सबै कम्युनिष्टहरूको मुख बन्द हुन्छ । चुइँक्क एक शब्द बोल्ने, आफ्नै विचार र विरासतको प्रतिरक्षा गर्ने एक कौडी बराबरको साहस कसैमा छैन

यो प्रश्नमा विश्वभरिका कम्युनिष्टहरू आज पनि उत्तिकै भ्रमित छन् कि कम्युनिष्ट आन्दोलनको वैचारिक द्विविधा, नियति र दुर्दशाको सुरुवात लेनिनबाट भएको हो कि स्टालिनबाट ? यथार्थमा यो लेनिनवादी संगठनात्मक सिद्धान्त र सोभियत शासन प्रणालीकै खराबी थियो । लेनिनले पार्टी सत्ता र शासन सत्ताको जुन चरित्र र प्रणाली निर्माण गरेका थिए, त्यसबाट स्टालिन जस्ता क्रूर, हिंस्रक, निरंकुश र अमानवीय चरित्रका शासकको जन्म हुनु स्वाभाविक थियो ।

अनेक आशंकाका बीच विश्वभरिका कम्युनिष्टहरूले स्टालिनलाई गौरवीकरण गरिरहे । विश्वभरि स्टालिन पक्षधर र विरोधी ध्रुवीकरण बन्यो । तर, उनलाई पाँच प्राधिकारभित्र राखेर माक्र्स, एंगेल्स, लेनिनकै समकक्षमा फोटो पूजा गर्ने क्रम अहिले पनि जारी छ ।

सन् १९५३ मा स्टालिनको मृत्यु र ख्रुश्चेभको उदयले तेस्रो ‘अवरोहको युग’ प्रारम्भ गर्‍यो । स्टालिनले कम्युनिष्ट इतिहासमा निरंकुशताको कीर्तिमान खडा गरेका थिए भने ख्रुश्चेभले चाकरी, नाटकीयता, बेइमानीको विश्व अभिलेख राखे । स्टालिनपन्थीहरूले ख्रुश्चेभलाई संशोधनवादी गद्दार भने । यथार्थमा स्टालिन जसरी लेनिनले स्थापित गरेको प्रणालीका उपज थिए, त्योभन्दा एक कदम अघि ख्रुश्चेभ स्टालिनका प्यादा थिए ।

सत्तामा आउने ख्रुश्चेभको एक मात्र आधार स्टालिनको चाकरी थियो । सन् १९३७ को ‘महासफाया अभियान’ सम्म आइपुग्दा अक्टोबर क्रान्तिकालीन नेतृत्व पंक्ति समाप्त भइसकेको थियो । त्रोतस्की, कामेनेभव, जिनोवियेभ र किरोभजस्ता लेनिनका समकालीनहरू अगाडि नै समाप्त भएका थिए, अन्ततः बुखारिनको नियति पनि त्यही भयो । यो रिक्ततालाई ख्रुश्चेभले भरे ।

स्टालिनको मृत्युपछि उनलाई नेतृत्वमा स्वीकार गरिनुको अर्थ- स्टालिनको पक्का अनुयायी र उत्तराधिकार ठानिनु थियो । ख्रुश्चेभले त्यही नै गर्दै र भन्दै आएका थिए । उनी स्टालिनका हरेक कदमलाई समर्थन र सहयोग गर्थे । तर, पार्टी र राज्यसत्ता हत्याएको भोलिपल्ट ख्रुश्चेभको नाटकको पर्दा खुल्यो । उनले स्टालिनविरोधी नीति लिए । स्टालिन जिउँदो हुन्जेल ख्रुश्चेभको समर्थन केवल शक्तिको भय र चाकरी मात्रै रहेछ ।

खासमा स्टालिनका नीतिप्रति उनमा कुनै विश्वास र निष्ठा रहेनछ । ख्रुश्चेभको उदयले आशंका समाप्त भयो, बोल्शेभिक पार्टी र सोभियत सत्ता अक्टोबर क्रान्तिले सृजना गरेको आशाको विपरित ओरालो लाग्दैछ भन्ने पुष्टि भयो । तसर्थ यसलाई ‘अवरोहको युग’ भन्न सकिन्छ ।

त्यसपछि आए- ब्रेझनेभ । उनी त खुलेआम सत्ता ‘कु’ नै गरेर आए । उनले ख्रुश्चेभले स्टालिनको मृत्यु पर्खेजस्तो ख्रुश्चेभको मृत्यु पर्खेर बसेनन् । न त स्टालिनले लेनिनको बिमारी पर्खेजस्तो कुनै मौका पर्खिए । पार्टी पोलिटब्यूरोमा बकाइदा बहुमत पुर्‍याएर ख्रुश्चेभलाई सन् १९६४ मा गलहत्याइदिए । यसमा ख्रुश्चेभको पूरापूर आत्मस्वीकृति थियो । यो सोभियत इतिहासको एक रोचक घटना मानिन्छ ।

आफूलाई गलहत्याइँदै गर्दा उनले ब्रेझनेभलाई भनेका थिए, ‘सोभियत सत्तामा मेरो उदयको औचित्य यही हो । स्टालिनकालमा भए तिमीहरू सबै मारिन्थ्यौ । म पार्टी पोलिटब्यूरोको बहुमतको सम्मान गर्दै सत्ता छोड्दैछु ।’ वास्तवमा ख्रुश्चेभको यो भनाइभित्र निकै ठूलो पीडा र अन्तर्य छ ।

सोभियत इतिहासकारहरूका अनुसार ब्रेझनेभको शासनकाल बडो विचित्रको थियो । न कुनै प्रगति थियो न कुनै विद्रोह । न कुनै आशा थियो न कुनै निराशाको आम अभिव्यक्ति । आम जनतालाई शासनसत्ताबारे कुनै रुचि र मतलब नै थिएन । अर्थतन्त्र न अघि जाने न पछि सर्ने विचित्रको गतिरोधमा फसेको थियो । रूसी भाषामा ‘इपोखा जास्तोया’ भनिने यो अवधिलाई ‘अवरुद्धताको युग’ भन्न सकिन्छ ।

यहाँनेर पुग्दा साम्यवादी सत्ताका यावत् सौन्दर्य र सक्षमताहरू शिथिल भइसकेका थिए । सोभियत शासन प्रणाली आकर्षणभन्दा बढी अनाकर्षण र आलोचनाको केन्द्र बनेको थियो । ‘ब्रेझनेभको वृद्धतन्त्र’ यही बेला प्रचलित शब्दावली बन्यो । ‘ब्रेझनेभको वृद्धतन्त्र’ ले चेकोस्लोभाकिया र अफगानिस्तानमा सोभियत सेना पठाएर अन्तर्राष्ट्रिय अवगाल बेहोर्‍यो । सन् १९८२ पछि ब्रेझनेभ, आन्द्रोपोभ र चेर्नेन्को छोटो समयको अन्तरालमा बिते, जसलाई वृद्ध शासकहरूको ‘चिहान यात्रा’ भनेर जनताले खिसी गर्थे ।

बाँकी छ – एउटा गोर्वाचोभको उदय । त्यसबेला वैद्य, विप्लव, किराती, आहुतिहरूले अलिकति ‘गेन्नाडी यनायेभ’ को जस्तो भूमिका गर्न खोज्लान् तर कुनै पार चल्ने छैन । विश्वको सोभियतकाल समाप्त भइसक्यो सायद त्यसपछि ‘नेपालको सोभियतकाल’ समाप्त हुनेछ

अन्ततः गोर्वाचोभ सत्तामा आए । वृद्धतन्त्रको ‘चिहान जाने दौड’ ले सृजना गरेको रिक्तताले उनलाई ५४ वर्षको उमेरमा सत्तामा ल्यायो । तर, त्यतिन्जेलसम्म आइपुग्दा स्थिति यसरी बिगि्रसकेको थियो कि उनको ‘ग्लास्तनोस्त र पेरेस्त्रोइका’ ले कुनै करामत गर्न सकेन । अन्ततः कम्युनिष्ट शासन र सोभियत संघ ‘अधपतन’ मा गयो । आफैं सिद्धियो र इतिहास भयो । लेनिनवादको क्रान्ति र सत्ता ७४ वर्षमा सकियो तर, त्यसको प्रभाव/दुष्प्रभाव भने विश्वव्यापी रूपमा अझै बाँकी छन् ।

त्यस्तै देशमध्ये एक हो- नेपाल ।

नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सकालीन प्रवृत्ति बेलायत र जर्मनीको खासै प्रभाव थिएन । यसको ‘नेक्सस’ सोभियत संघबाट चीन र भारत हुँदै नेपाल आएको थियो । अद्यपि आज बेलायतको लेबर पार्टी र जर्मनीको एसडीपी जत्तिको वैचारिक प्रष्टता समेत नेपालका तथाकथित वामपन्थी समूहहरूमा छैन ।

नेपालका कम्युनिष्ट नेताहरूको एउटा समूह सन् १९५० को दशकदेखि नै सोभियत संघ नजिक थियो । तिनले स्टालिनसँग भेटघाट गरेको जानकारी छैन । तर, ख्रुश्चेभकालमा भने उनीहरू बारम्बार मस्को जान्थे । विशेषतः डा. केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर र कृष्णराज बर्मा समूहको मस्कोसँग राम्रो सम्बन्ध थियो । उनीहरू राजा र पञ्चायतलाई समेत उछिनेर सोभियत सरकारको छात्रवृत्तिमा विद्यार्थी पढ्न पठाउने क्षमता राख्थे । प्रगति र रादुगा प्रशासनका किताब सस्तो मूल्यमा नेपालका गाउँघरसम्म पुग्थे ।

चीनको नयाँ जनवादी क्रान्ति, सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई झनै धेरै प्रभावित गर्‍यो । कम्युनिष्ट पार्टीको स्थापना नै भारतको कलकत्तामा भयो । नक्सलवादीको प्रभाव झापातिर आयो । झापालीहरू आज एमाले भए । युरो कम्युनिज्मको धारलाई समात्दै जनताको बहुदलीय जनवादी भए । माओवादीहरू हिजो सांस्कृतिक क्रान्तिका पक्षधर ठान्थे आफूलाई । दुनियाँका पेरुका गोन्जालोबाहेक कसैले भन्ने आँट नगरेको ‘माओवाद’ नेपालमा प्रचलित गरिदिए । त्यही ‘माओवाद’ पनि माओवादीले केही महिना भित्र परित्याग गर्ने तयारी गर्दैछन् ।

रमाइलो कुरा के छ भने- सन् १९७८ को सत्ताविद्रोहले चीनमा नै माओवादीलाई समाप्त गर्‍यो । त्यहाँ देङ सिआयो पिङवादीहरूले माओवादीलाई ‘र्‍याडिकल्स’ भनेर गाली गर्छन् । कुराकुरामा ‘बिफोर रिर्फम’ र ‘आफ्टर रिर्फम’ भनेर माओवाद र तेङवादलाई फरक गर्छन् । अहिले त त्यहाँ ‘सी जिन पिङ विचारधाराको युग’ सुरुवात भएको छ ।

यी यावत् परिवेशमा नेपालका कम्युनिष्ट पार्टी, समूह र नेताहरूको वैचारिक द्विविधा र दुर्भाग्य भने जहाँको त्यहीं देखिन्छ । आज पनि उनीहरू आफूलाई ‘माक्र्सवादी-लेनिनवादी’ भन्छन् । पार्टी विधान, घोषणापत्र र राजनीतिक प्रतिवेदनमा त्यसलाई ‘मार्गदर्शक सिद्धान्त’ भने लेख्दछन् । तर, कम्युनिष्ट विचार र इतिहासका सन्दर्भहरू सम्झाइदियो भने आफंै लजाउँछन् । आफ्नै विचार र इतिहासप्रति गौरव गर्न नसक्ने तर त्यसलाई शानले परित्याग गर्न पनि नसक्ने ‘महान् द्विविधा’ मा फसेका छन् ।

आज सर्वहारा अधिनायकत्व, सर्वहारा राज्य, उत्पादन साधनको राष्ट्रियकरण, निजी स्वामित्वको अन्त्य, मुनाफा, अतिरिक्त मूल्य र बजारको अन्त्य, एकदलीय सोभियत प्रणाली जस्ता कम्युनिष्ट विचारका मौलिक विशेषताको चर्चा गर्ने हो भने सबै कम्युनिष्टहरूको मुख बन्द हुन्छ । चुइँक्क एक शब्द बोल्ने, आफ्नै विचार र विरासतको प्रतिरक्षा गर्ने एक कौडी बराबरको साहस कसैमा छैन ।

यसको अर्थ हो कि कम्युनिष्टहरूले विश्वभरि र नेपालमा पनि दार्शनिक, वैचारिक र नैतिक पराजय स्वीकार गरिरहेका छन् । तर, उनीहरूको राजनीतिक र संगठनात्मक शक्ति भने अझै कायम छ । यही अन्तरविरोध र द्विविधा एक ‘महान् द्विविधा’ बनेको छ । यो द्विविधाले उनीहरूलाई मात्र छोएको, पिरोलेको भए केही थिएन, तर यसले देश र जनतालाई पनि पिरोलेको छ ।

दार्शनिक, वैचारिक र नैतिक आधारमा पराजित भइसकेको एउटा शक्ति राजनीतिक र संगठनात्मक रूपमा कायमै रहँदा देशले सही वैचारिक मार्गदर्शन प्राप्त गर्न सकेको छैन । र सिंगो देश नै यो ‘महान् द्विविधा’ को शिकार भएको छ ।

कम्युनिष्टहरू हिजो आफ्नो सिद्धान्तको सार ‘वर्ग-संघर्ष’ लाई मान्थे । त्यसको सान्दर्भिकता देख्न छोडेपछि वा त्यसलाई आत्मसात् गर्ने आत्मविश्वास गुमाएपछि उनीहरूले ‘गुट-संघर्ष’ र ‘अहंकार-संघर्ष’ लाई राजनीतिक व्यवहारको सार बनाए । नेतैपिच्छेका पार्टी, नेतैपिच्छेका गुट, क्षण-क्षणमा एकताको नाटक, महिना-महिनामा विभाजनको नौटंकी गरेर उनीहरूको जुनी बितिरहेको छ । दर्जनौं कम्युनिष्ट समूहबीचको आरोप-प्रत्यारोप, सत्तोसराप र गालीगलौजले राजनीतिक र लोकतन्त्रकै गुणस्तर क्षयीकृत भएको छ ।

नेपालका कम्युनिष्टहरू आज न सत्य स्वीकार गर्न सक्ने न सत्यमाथिको एकाधिकारको दाबी छोड्ने, न आफ्नै विचारको इतिहासप्रति गौरव गर्न सक्ने न शानले परित्याग गर्न सक्ने, न मिल्न सक्ने न फुटेरै खुशी हुनसक्ने, एकता गर्ने वित्तिकै फुटको तयारी सुरु गर्ने, फुट्ने वित्तिकै एकताको राग अलाप्न थाल्ने, वर्गशत्रु बाहिर नचाहिने, आफूभित्रै वर्गशत्रु, गुटशत्रु, समूहशत्रु सृजना गरी छायाँ वर्ग-संघर्ष गर्ने अर्बुद रोगले ग्रस्त छन् ।

समग्रमा लाग्दछ कि नेपालको कम्युनिष्ट आन्दोलन आज सोभियत संघको ब्रेझनेभकाल जस्तो स्थितिमा पुगेको छ । ओली, प्रचण्ड र माधव नेपालले ब्रेझनेभ, आन्द्रोपोभ र चेर्नेन्कोको जस्तै भूमिका गरिरहेका छन् ।

बाँकी छ – एउटा गोर्वाचोभको उदय । त्यसबेला वैद्य, विप्लव, किराती, आहुतिहरूले अलिकति ‘गेन्नाडी यनायेभ’ को जस्तो भूमिका गर्न खोज्लान् तर कुनै पार चल्ने छैन । विश्वको सोभियतकाल समाप्त भइसक्यो सायद त्यसपछि ‘नेपालको सोभियतकाल’ समाप्त हुनेछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?